~सिमा भुजेल~
चरक्क चर्केको भदौरे घाम, त्यो पनि तराइको, पुरै सहर गर्मीले बाफिएको थियो। उभिएको ठाँउमा हेरेँ- आफुभन्दा धेरै लघु आकारको आफ्नै श्यामश्वेत प्रतिलिपी लम्बिन खोजिरहेको। भित्री लुगाहरू भिजेर बाहिरी लुगासमेत भिज्दै थियो पसिनाले। गोजिबाट रुमाल निकालेर अनुहार पुछेँ। नाडिको घडीमा नजर लगाएँ। एक बजिसकेको रहेछ, बस अझै आएको थिएन। जानु थियो काठमाडौ, थिएँ जितपुरमा।
दस पन्ध्र मिनेट कुरेपछी बस आएर रोकियो। बस चढ्दा एक्कासि रापिलो, मान्छेभित्र पाकेको, कुहिएको बाफको गन्ध महशुस गरेँ। थरिथरि पसिनाको मिश्रित गन्ध, भिडबाट मडारिँदै नदेखिने भएर अझ नाक नै पोल्ने गरी फोक्सोसम्म पुग्यो। बस चड्ने बित्तिकै बसको वातावरणसँग घुलमिल हुन समय लाग्दो रहेछ। आफ्नो सिटमा बसिसकेपछी बसभित्र चारैतिर आँखा डुलाएँ। प्रत्येक मान्छेको अनुहारमा हिँडिरहेका मेरा आँखा उनमा गएर अडिए।
“आमै तपाईं!” म आँफै झस्किए उनलाई देखेर।
टिकट देखाँउदै सिट खोजिदिन आग्रह गरिन्। नम्बर हेरेर ‘ए’ साइडको ४ नम्बर सिटमा बस्न भनेँ। संयोगले मेरै अगाडिको सिट परेछ उनको। “कहाँसम्म आमै, काठमाडौ?” सोधेँ। टिकट हेरेर थाहा पाएपनी औपचारिकता निभाएको उनलाई मन परेनछ, सिटमा बसिन् र जवाफ नै नदिइ झ्याल बाहिर आँखा पालिन्।
छेउमै राखेकी छिन्, खास्टोमा पोको पारेको सानो कुम्लो। उहि चोली, उहि गुन्यु, उहि न्यायको लागि तिर्खाएको आँखा अनि उहि अनुहार…। अनुहार भने सुख्खा सुख्खा देखिन्छ, झरी पर्खिरहेको बाँझो खेतझैँ। फुस्रो कालो अनुहारमाथी नमिलेको नाङ्गो, ध्वाँसे रुखो पहाडजस्तो नाक, नाकमाथी फोहोर तलाउजस्तो आँखा। नाकतल तल खडेरिमा धाँजा फाटेको खेतजस्तो मुख, बिग्रिन लगेका नासपातिजस्ता गाला अनि झाडिजस्तो कपाल।
धेरै भयो, यी आमै छोरीलाई न्याय दिलाउनका लागि भौतारिइरहेकी। थाहा छ? छोरिको लागि अनुनय दर्शाउन फेरि जाँदैछिन् काठमाडौ। मनमा घरजम गरेको एउटा प्रश्न मनभित्रै तल माथी गरिरह्यो। न्याय पाउने आश कहिलेसम्म रहला उनको मनमा?
छोरी गुमाँउदा कस्तो हुन्छ, आमाको मन! अनुभुत नगरेपनी आमैको अनुहार हेरेर अनुमान लगाउन खोजेँ।
“मेरि फुलजस्ती छोरिलाई फक्रनै नदिइ कोपिलामै चुडाइदिए बा, ती दुष्टले।”
पछिल्तिरको सिटमा बस्ने यात्रु आएपछी आफ्नो कुम्लो सिटको सिरानतिर कोच्दै भनिन्। आमैलाई कसैले जवाफ दिन नपाउँदै गाडी जितपुरबाट काठमाडौतिर गुड्यो। गाडिको बेगसँगै उनको बोली पनि गुड्यो। “यसो सम्पत्ति उसलाइ न्याय दिलाउनको लागि खर्चिन्छु। छोरी नै नरहेपछी सम्पत्ति कसको लागि जोगाएर राख्ने?” काठमाडौ धाइ रहनुको कारण कसैले नसोधे पनि सबैलाइ सुनाउँछिन्।
ट्राफिक चोकमा पुगेर गाडी रोकियो। केही यात्रु चडे। केही ओर्लिए जो आएका थिए, आफन्तलाई बिदावारी गर्न। काठमाडौ लैजाने सामान लोड गर्नका लागि गाडी अलिबेर रोकियो। लामो सुस्केरा हालेर पुन: पहिलेकै प्रसंग जोड्दै गइन् आमा।
“यसपाली त घरबारी नै डिगबन्दिमा राखेर आइछु।” यसअघि कहिले भिर बेचेको त कहिले कुन बारी बेचेको सुनाउँथिन्। यसपाली त घर नै बन्धकी राखेर आइछ्न्। कति पाली “जितपुर टु काठमाडौ” गरिहोलिन्। ओहोरदोहोर मै कति पैसा सकिन्, हिसापकिताप गरेकी होलिन् त?
“हटारु नै नबस्ने बसको के काम हुन्थ्यो र बाबै?” आमैले घर बन्धकी राखेर हिँड्नुको कारण खुलाइन्।
“मेरि छोरी यै हो, यसैको नाँउ हो, मिना। खास नाउँ त मिनाकुमारी हो क्यारे।”चोलाको गोजिबाट नागरिकताको प्रमाणपत्र झिकिन्। मेरो आँखा त्यही नागरिकतामा अल्झियो। सिकारु फोटोग्राफरले खिचेजस्तो, श्याम वर्णको अनुहार धमिलो देखिने, कालो र सेतो रङले खुलेर आफ्नो जात जनाउन नसकेको फोटो। अनुमान चाहिँ लगाउन सकिन्थ्यो, भर्खर १९/२० बर्षमा टेक्दै गरेको भर्भराउँदो गाउँले अनुहार। बसको रफ्तार बढ्यो। आमैको बोलिको रफ्तार पनि बढ्दै गयो।
“बुढेसकालमा पाएकी छोरी, निकै पुल्पुल्याएर पालेकी थिए। खाइनखाइ गरेर स्कुल भर्ना गरिदिएँ। पढाइ नि राम्रै थियो, त्यस पापिले आँखा लगाएछ मेरो छोरीमाथी। मेरो जिन्दगी उजाडिएर सुख्खा मरुभुमी बन्न पुग्यो। ट्युसन पढेर आउँछु भनेर गएकी छोरी कहिले फर्केर आइन। पछि गाउलेँहरू मिलेर खोज्न जाँदा…” आमै बोल्न सकिनन्। आखाँभरी आँसु लिएर मलाइ हेरिन्।
” हाम्रै गाउँ पलापट्टीको भुक्खेको छोरो डम्मर मास्टरले हो मेरि छोरीलाई गिद्दले सिनो लुछेझैँ लुछेको। पढेका त झन सढेका हुँदारहेछन्, बा! बाहिर बोक्रो भित्र खोक्रोहरूको समाज हो यो। थुक्क!………आफ्नै आँखा अगाडी छोरिको त्यस्तो हालत देख्दा कुन आमाको मन नरोला र? जिन्दगीमा पहिलोचोटि मलाई छोरा नपाएकोमा दुख लाग्यो। छोरो भाएको भए आज त्यो डम्मरे जिउँदो रहने थिएन। प्रकृतिले नै हामिलाइ बोझ दिएको छ, यो शरीर। अनि भरिदिएको छ त्यसमा भावुकता र करुणा। कमजोरीको खानी बनाइदिएको छ हामीलाई प्रकृति र समाजले।”
आमाको कथा धेरैपटक सुनेको थिएँ पहिले पनि। आमाको कथा सुनेर कतिपयले त बुढिको दिमाग बाटो लागिसकेछ पनि भनेँ।
“के पायौ त आमा, दिनरातै अदालतको ढोकामा एक्लै ढुकेर?” खलासीले सोध्यो।
“एक न एक दिन त न्याय हुन्छ नै भनेर आछु, बा।” टाउकाको गम्छाले अनुहार पुछ्दै अघिकै प्रसङ्ग जोडिन्, यी दुष्टहरूले आर्काका छोरीलाई त्यस्तो गर्दा भोलि आफ्नै छोरीबुहारीसँग यस्तो हुनसक्छ भनेर सोच्दैनन्?”
म लगायत अन्य यात्रुहरूले स्रोताको कर्तव्य पूरा गरिरहेका थियौँ। उनी बोलिरहेकी थिइन्, “मेरो त अझ बारी थियो र अलिअलि हातखुट्टा लाग्ने भएकाले कहिले काठमाडौ धाउँछु, कहिलेकाहीं गाउँमा।तर मेरो जति नि नभएकाले के गरून् र?” आफ्नै छोरीजस्तै बलात्कृत भएर मारिनेको परिवारलाई सम्झिँदै भनिन्।
” अब त सम्पत्ति पनि सक्किगो। गादोमा राखेको सुल्पा कुम्लो कोचेको ठाउँमा राख्दै भनिन्, “ज्यान पनि अब त सिन्का भयो। अब त कति पाली आउँला र? मानव अधिकार, यन.जि.ओ. पनि पैसाकै मुख मात्र ताक्छन्। म बुढिले कहाँबाट ल्याउँं?”
थानकोट पुगेर गाडीले काठमाडौ उपत्यका चिहायो। आमैका कुरा सकिएका थिएनन्। कसैले नसुने पनि आफैले सुनाइ रहिन्, आफ्नो कथा, कथा भनौँ वा ब्यथा। “आँखाबाट आँसु बग्न पनि छाडे बा। अर्कोपाली फेरि आउन पाइएला नपाइएला भेउ छैन आमैलाई। यसपाली पनि सायद पहिलेझैँ अनौठो आश झल्किएको थियो उनको अनुहारमा।
बसपार्कमा पुगेर गाडी रोकियो। सबै यात्रुहरूसँगै म पनि ओर्लिए। आमैको कुरा सायद अझै थियो।
एक सातापछी काठमाडौमा आफ्नो कामकाज सकेर जितपुर फर्कने क्रममा फेरि एकपटक भेटिइन् उनी। उसैगरी बसको ढोकामा कुम्लो बोकेर उभिएकी, थाहा छैन यी आमै कहिलेसम्म काठमाडौ जितपुर ओहोरदोहोर गर्ने हुन्! कहिलेसम्म यिनको न्याय पाइन्छ कि भन्ने आशा रहने हो! मनमा अर्को एउटा प्रश्न थपियो, यी आमैजस्तै अरु कति होलान् यो संसारमा जो न्यायको लागि भौतारिइरहेका छन्। के तिनिहरूको खोजी पूरा होला त? मेरा प्रश्नहरू थपिँदै गए।
(स्रोत : शब्दसोपान डट कम)