~पिएस्पी चाम्लिङ राई~
एउटा सानो घर हुनु,
रातो माटोले पोतेको,
गोबरले लिपेको ।
घरमुन्तिर थोरै बारी हुनु,
मकै छरेको,
कोदो रोपेको ।
हरेक दिन जब म पसिनाले भिजाउदै गरेको हुनेछु बारिका मकै कोदो,
मेरी बुढीले ल्याईदिनु एक बटुकी वासिम
म बारिको डीलको वाख्रोमाको सितलमा बसेर
खुईया सुसेल्नु एउटा थकित आनन्द ।
हरेक साँझ कलिलो जुनमा
मेरा जुनजस्तै कलिला केटाकेटी
आँगनमा खेल्नु आफ्नी कोकुसंग लुकीडुम
म सिकुवामा बसेर हेरिरहनु उनिहरुको हाँसो र चर्तिकला…
म राजनीति के हो नबुझ्नु,
पैसा र पावरको खेल नबुझ्नु,
अमेरिकामा के हुँदैछ थाहा नपाउनु,
सरकारमा को छ ?
को छ प्रतिपक्षमा ?
भर्खरै कसलाई समायो अख्तियारले ?
कसले ल्याउदैछ अव आन्दोलनको आँधी ?
म केहि नजान्नु,
म केहि नबुझ्नु ।
बरु चिन्तित हुनु,
यसपाली कस्तो हुने होला मौसम ?
कति फल्ने हो सुन्तला ?
कसरि जोगाउनेहो मकैको बोट फौजी किराहरुबाट…
आमालाई यो हिउँदमा किन्दिनु पर्नेछ मजेत्रो,
बुढीलाई एकजोर लुङ्गी चोली,
कान्छो छोरोलाई एकजोर जुत्ता…
खसी किन्ने किन कोही आउदैन यसपाली ?
यसपालीको सुंगुर किन सप्रेन ?
म चिन्तित हुनु,
सिकुवामा बसेर बेर्नु भोर्लाको पातमा सुर्ती,
बिडीँको धुवाँमा बनाएर जिन्दगीजस्तै आकारहरु,
सुरुप्प वासिम खानु,
अनि चिन्तित हुनु …
बरु जिन्दगीमा यसरी नै बाँच्नु,
बरु जिन्दगीमा यसरी नै बाँच्नु ।
– पिएस्पी चाम्लिङ
खोटाङबजार ।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )