~विज्ञान राज~
जसले अन्न उब्जाउँछ
उसले नै भोको रहनु पर्ने
जसले मजदुरी गर्छ
उसले नै मर्न मजबुर हुनु पर्ने
जो इमान्दार र सोझो छ
ऊ नै शोषित हुनु पर्ने
जोसँग शिप र कला छ
उ नै तल्लो जात वा वर्ग हुनु पर्ने
यो एक प्रपञ्च हो
यो प्रपञ्चको नायक को हो ?
यो प्रपञ्चलाई भगवानको लिला भनेर
अझै सहने, झेल्ने, बाँच्ने र मर्ने ?
कि समात्ने आधुनिक कम्युनिस्ट मेनोफेष्टो ?
कि समात्ने गोर्कीको आधुनिक उपन्यास ?
कि समात्ने आधुनिक शोषित हातहरू ?
कि समात्ने आधुनिक श्रमजिवी कलमहरू ?
कि समात्ने आधुनिक हँसिया र हतौडाहरू ?
कि समात्ने आधुनिक विज्ञान र संगीतहरू ?
यस्तै रहने र सहने
कि क्रान्ति गर्ने ?
यस्तै रहन र सहन दिने
कि क्रान्ति गर्ने ?
यस्तै जन्मिने र मर्ने
कि क्रान्ति गर्ने ?
यस्तै जन्मिन र मर्न दिने
कि क्रान्ति गर्ने ?
यो एक प्रपञ्च हो
यो प्रपञ्चको नायक को हो ?
कोही हामी जस्तै मानिस हो
जो हामीलाई चुसेर मात्र बाँच्दछ
जो हामी माथी शासन गरेर मात्र बस्दछ
के हामी आफूलाई चुस्न दिइरहने ?
के हामी उसलाई जुगजुग बाँच्न दिइरहने ?
यो एक प्रपञ्च हो
यो प्रपञ्चको नायक को हो ?
कोही हामी जस्तै मानिस हो
जो जुगजुगदेखि हामीलाई दास बनाउदै आएको छ
जो युगयुयसम्म हामिलाई दास बनाउदै लाने छ
यो प्रपञ्च पछिपछिसम्म चलिरहोस
के हामी यो कामना गर्ने ?
यो प्रपञ्चको धुमधामको साथ
के हामी जयजयकार गर्ने ?
कि क्रान्ति गर्ने ?
(स्रोत : रारापाटी डट कम )