कविता : क्षितिजको बार्दलीबाट चिह्याउने म ‘लाप्चा’

~समर हुम्ली~

क्षितिजको बार्दलीबाट
तप्प तप्प शितका थोपाहरू
स्पर्श गर्दाको क्षण
क्याङ्हरूको बगाल
खाङहरूको अस्तित्व
प्याङ३हरूको खोजी गर्दै
‘लाप्चा’को काखबाट

मानसकैलासलाई सम्मोहित गर्दै
छरपष्ट हिमशैलका मन्द मुस्कानहरू
बत्तीसे दाँतबाट उनिएका पुष्पहार
बुकीफुलको गाँसेर नाता
कलकल, छलछल र टलपल
जलांशका बथानहरूमा
उभिएको तेस्रो ध्रुव ‘लाप्चा’

हिमाली हाँसहरूको गस्ती
जीजिविषाको अनौठो बस्ती
इतिहासको बिर्सिएको प्रशस्ती
सँगालेर कथा हो कि गाथा ?
अनकण्टार, अनौठो र अनमोल निधि ?

शदीयौंदेखिको भुक्तमान खोज्दै
हिमशैलका पुष्पीत सुवासले
बुकीफुल समातेर
फ्याउमुसालाई लाम लगाएर
उभिएको छ फगत्
एक्लो एक्लो त्यो ‘लाप्चा’
क्षितिजको बार्दलीबाट चिह्याएर

(स्रोत : रारापाटी डट कम )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.