कविता : जुकाको बकपत्र

~डा. मधुसूदन गिरी~

हजुर जुका हो
म जुका हुँ
हजुर यो प्रकृतिका सर्वश्रेष्ठ जुका –
ठुलो घरमा बस्नु हुन्छ,
सानो दरबारमा बस्नु हुन्छ
म यो प्रकृतिको बदनाम जुका
पातपतिंगरमुनि बस्छु
ढुङ्गा,माटो….
लुकेर बस्छु
रगतको गन्ध नपाउन्जेल चाम्रिएर बस्छु
माटो ओढ्छु,माटो ओछ्याउछु
माटो खान्छु
माटो….

र जब –
पशु, पन्छी,मान्छे
अरु जातिको रगतको गन्ध पाउँछु
पातपातबाट निस्केर लमक लमक….
म खुट्टै नभएको बुद्धिहीन जुको
म अरूको रगत चुस्छु
चुस्छु,चुस्छु र ढाडियपछि
आफै झर्छु
हजुर मेरो मुखमा टिम्मुर लगाउनु हुन्छ
आगोमा पोल्नु हुन्छ
भुडी फोरेर रगत निकाल्नु हुन्छ

तर –
तर हजुर त दुई खुट्टा भएका
दुई हात पनि भएका
बुद्धिमान जुका
आफ्नै जातिको रगत चुस्नु हुन्छ,
दुखियाको रगत चुस्नु हुन्छ
चुसेर कहिल्यैँ अघाउनु हुन्न
र चुस्दा चुस्दा –
“हाड छाला करङ्का माला छनाइछ परानी”
जति चुसे पनि,
जति ढाडिए पनि
हजुर त झर्दै झर्नु हुन्न
बरु भित्र,भित्र –
फोक्सो,कलेजो,मुटु
शिरा धमनी हुँदै माथि माथि …
टाउको माथि चढेर डम, डम, डम
ड म, ड म, ड म …
हजुर ताण्डव नाच्नुहुन्छ
र विजयको झण्डा गाड्नुु हुन्छ!

(स्रोत : रारापाटी डट कम )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.