कविता : समस्यापूर्ति

~गोपीनाथ लोहनी~

मुहार् कमलको झलक पलकमा मलाई दियौ
अपूर्व रसदानले मन हरेर मेरो लियौ ।
तसर्थ अब प्रेमले यति सकार बिन्ती पनी
नवीन घरको बहार् गर तिमी नवीना बनी ।।१।।

वसन्त ऋतुको छटा रमणिलाइ दिल्दार् हुने
फुली कमलको कली सुन तलाउ शोभा दिने ।
बनेछ दरबार् समेत् गरि अनेक खर्चा पनी
नवीन घरको बहार् गर तिमी नवीना बनी ।।२।।

कमल् तिमि भमर् म ता सरसमा अती लोभिने
तिमी शरदकी शशी म त चकोर आशा लिने ।
म भन्छु अब ता यती मदनकी सुन्यौ मोहनी ?
नवीन घरको बहार् गर तिमी नवीना बनी ।।३।।

तयार सब चिज् गर्यो फुल फुलाइ एक् एक् गनी
ऋतू सुन वसन्तले कमल प्यारि मेरो भनी ।
गये रमणि वागमा अब विचार तिम्ले पनी
नवीन घरको बहार् गर तिमी नवीना बनी ।।४।।

अगाडि फल यौवनी अब त गिर्नमा छन् तयार्
दुई कबरि नागिनीसरि पछाडि दिन्छन् बहार् ।
गुलाफ जुहि जाइको बनिसक्यो हवेली पनि
नवीन घरको बहार् गर तिमी नवीना बनी ।।५।।

बिना भमरले मजा कमललाइ होला कहाँ ?
नदीइकन दान-रस् कसरि दानि भन्नू कहाँ ?
अहो किन यसो गरी भन ममा भयेको खुबी ?
नवीन घरको बहार् गर तिमी नवीना बनी ।।६।।

कुटील् नजरले प्रिये ! म त अगाडि घायल थियाँ
मधुर वचनले गरी सहन दास जस्तै भयाँ ।
कुलीन् युवति हौ भनी विनति गर्छु मो यो पनी
नवीन घरको बहार् गर तिमी नवीना बनी ।।७।।

भयौ अब बत षोडशा मन लिने सहजमा हरी
कला छ परिपूर्ण यो शरद चन्द्रमाको सरी
म गुन्दछु यती यहाँ पुतलि हौ परी की पनी
नवीन घरको बहार् गर तिमी नवीना बनी ।।८।।

फुली कमलको सरस् भ्रमरले लिई खुश् हुने
उदाइ निशिमा शशी कमलिनी चमक् झन् दिने ।
भला अब गरी दया सुन पियारि ! तिम्ले पनी
नवीन घरको बहार् गर तिमी नवीना बनी ।।९।।

समाइ कबरी असल् मुख-कमलभरी फा घसी
मगाइ कपडा अबल् कृश-कटी शरीरमा कसी ।
शशी उदय झैं गरी जब दियो दरश् लौ अनी
नवीन घरको बहार् गर तिमी नवीना बनी ।।१०।।

Poet Gopinath Lohani(1930-1974 bs)Otu Tole, Kathmandu.

(स्रोत : कमल दीक्षितद्वारा सम्पादित पुस्तक “सूक्तिसिन्धु (फेरि),जगदम्बा प्रकाशन, २०२४” बाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.