~द्वारिका क्षेत्री~
असहाय छैन
न त निर्धो नै छ नारी
तन र मनले कोमल
तर आत्मविश्वासले दह्रो छ नारी।
जन्म अामाको कोखबाट लिन्छ
तर जीवन जिउने र धर्यको प्रशिक्षण
स्वयं प्रकृति अामाले दिन्छ ।
केवल बाह्र बर्षको कलिलो उमेरमा
रजस्वलाको सात दिने वनबास काट्छ
बा-अामा र परिवारदेखि टाडा
एक्लै डराइन्छ, रोइन्छ अनि
अाफ्नै हातले अाफ्नो रगत धोइन्छ।
पेट दुखाइको त्यो असहाय पीडा
एक्लै सहिन्छ अनि दह्रिलो भइन्छ ।
पीडा सहेर दिन बिताइन्छ
रगतको आहालमा एक्लेै निदाइन्छ।
यसरी बुझ्छन् परिवारको महत्त्व
अनि, यसरी खुल्छ नारीको जीवनमा
एक्लोपन र संघर्षको अर्थ।
रजस्वलाको सातदिने वनबास काटिन्छ
अनि बालिका देखि युवास्थामा पाइला राखिन्छ ।
जननी हो नारी सृष्टि अघि सार्ने
जनक हो पुरुष सृजना कायम राख्ने।
एकार्काको पूरक हुन् पुरुष र प्रकृति
वीर्य हुन पुरुष, नारी उर्वर धर्ती ।
ब्रह्माण्डको सृष्टिकर्ता
ब्रह्म, बिष्णु अनि महेशको
असीमित शक्तिको बरदान हो नारी
सिया वर श्री रामचन्द्र
राधाको श्याम
उमा पति महादेव
युगौंदेखि पुरुषको पहिचान हो नारी।
पुरुष मान अनि सम्मान हो नारी
धर्ती माताको गौरव अनि अभिमान हो नारी।
सभ्य समाज र शिक्षित पुरुषले सधैं
एक खुड्किला अघि राख्छ नारीलाई
तर भनिन्छ नि “हिराले हिरै काट्छ”!
शिक्षित नारीले, नारीलाई नै उछाट्छ।
प्रतिकुल परिस्थितिमा नारीद्वारा नारी बेचिन्छ
मर्यादाको खुट्टीमा बाँधी नारीको स्वतन्त्रता रेटिन्छ।
हो नारीले मर्यादाको सिमाभित्र बस्नुपर्छ
तर, सिमा तय गर्ने अधिकार स्वयंको हुनुपर्छ।
पहिरन अाफ्नो सुविधा अनुसार होस
तर, अंग प्रदर्शनको होडमा नपरोस
प्रतिस्पर्धा हुनु पर्छ , जरुरी छ
तर, संस्कृति ,संस्कार , उच्च बिचारको
जसले समाजमा प्रगति ल्याउँछ ।
जन मानसमा चेतना जगाउँछ।
जागौं अनि अघि बडौं
ललाटमा टीका स्वभिमानको
नकारात्मक उर्जा हटाउदै चुरा लगाउ सम्मानको
अधरमा लाली चडाउँ पवित्र मुस्कानको
अाँखामा काजल होस तर नजरमा होस ममता
वाणीमा मिठास अनि कर्ममा होस दृढता ।
आत्मविश्वासको पटुकी बाँधी
हातेमालो गरौं उद्धार गर्न शोषितलाई
नारीको सम्मान गरौ ,गौरव राखौं नारीको, नारी भइ।।
● द्वारिका छेत्री
खर्साङ्ग/ दार्जीलिङ
(स्रोत : कम्युनिष्ट अन्लाईन डट कम)