कविता : खबरदार

~असीम सागर~

भान्सा घरको आलमारीमा
सजाई राखिएको छ धोई पखाली
केही गिलास र कटोराहरू

प्रत्येक गिलास र कटोराभित्र
प्रतिबन्ध अँध्यारोलाई
बाहिरको सत्तासिन उज्यालोले भनिरहेथ्यो
खबरदार !
बाहिर कोही निस्कियो भने

यति खबरदार त
पृथ्वीको एक भाग जमीनलाई
तीनभाग पानीको सुनामीले पनि गरेन होला

सडकमा लडिरहेको रक्तमुछेल लासमाथि
लडिबुडी गर्दै लाम्टा चुसिरहेथ्यो एउटा भोको बालक
जसलाई यतिसम्म थाहा थिएन
यो आमाको लास हो

फेरि यसरी
आतंकित आँधीको कठोर यातनाले गुँड भत्किएर
फेरि विस्थापित हुन रहर छैन पंक्षीहरूलाई
अनाथ हुनु छैन बचेराहरूलाई

भर्खर त बिर्सेका छन्
पहाडहरूले बमको आतंक

भात छ कि भनेर एउटा अनाथ भोक
ह्याल चुहाउदै बडो आसले खोल्न लागेको
लावारिस प्रेसरकुक्कर देखेर लाग्छ
फेरिपनि
भाग् , भाग् , भाग् नानी भाग्
त्यहाँ भात होइन
बारुद छ पड्किन्छ भाग्

खबरदार !
भोलि फेरि दोहोर्‍याएर पढाउन नपरोस्
हामीले हाम्रा नानीहरूलाई
कुक्करमा बारुद भर्ने कला र युद्ध

भर्खर त डरको बादल फाटेर
बडो मुश्किलले छिरेको छ गिलासभित्र उज्यालो ।

(स्रोत : ब्दसोपान डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.