कविता : एउटी स्वास्नीमान्छेको अन्तरवार्ता

~पारिजात~Parijaat

ज्यू,
काम गरेकोमात्र थाहा छ
दुःख पाएको मात्र थाहा छ
फाटेको चोलो र जडाउरी गुनिउँ
लगाएकोमात्र थाहा छ
जोबन सोध्नु भएको ?
त्यो त हजुर आएको गएकै थाहा छैन ।
खै, जान्ने सुन्नेले भनेको
मेरो जोबन त जिम्मुवालको ऊ त्यो
गहँुबारीमा सप्रिसक्यो रे
उसैको करेसाबारीको सयपत्रीमा फुलिसक्यो रे
खै, कुन्नि कस्तो अनौठो
मेरो आँखा र ओठमा नफुलेर मेरो जोबन
अर्काको सम्पतिमा फुल्ने रे
के भन्नुभयो, निकै हिस्सी परेकी छु रे ?
ज्यू, त्यो दहको पानीमा हेर्दा
त्यसतै त्यस्तै लागेको थियो
तर के भरपर्दो हुन्छ र
पानीमुनिको छायाँ ।
ढाँटेकी भए हजुरको मासु खाने
मेरी बास्सै !
लोग्नेलाई त मैले जग्गेमा मात्र देखेकी
टोपीमा लालुपातेको फूल घुसारेर
निधारमा तीनवटा सितारा टांसेर
गालामा अलि अलि लाली घसेर
आएको मेरो बैंसे दुल्हा
आरन जस्तै अँध्यारो र
खलाँती जस्तै धुस्रो थियो
ए, हाँस्नु भएको हजूर त !
यसको गोडा पखालेको पानी खानू साँझ बिहान
बुढी बज्यैले भन्दा
घुम्टोभित्र म रोएकी
खै, कसरी देखाउँ
गालामा आँशुको डोब बस्दैन हजूर
पहरामा खहरेको डोब बसेजस्तो ।
ज्यू, माइत त सात खोला सात डाँडा उता छ
मैले बालखकालमा देखेकी सपना जस्तै
मेरो मुुटुभित्रै भएर पनि कति कति टाढा ।
जै जन्म सोध्नुभएको ?
ज्यू इनै दुइटा छोरा
च्याँसे पुन्टे, डेढ वर्षको फरक छ
ढाँटेको भए यो आगो हातैमा हजूर ।
यो च्याँसे
मुखियाको घर बनाउने ढुंगा बोक्दा बोक्दै पाएकी
नाम्लो त थाप्लोमै थियो गाँठे
फरियामा पोको पारेर ल्याएँ
छाप्रोमा साल नाल काटेँ
फेरि मुखियाको धान गोडदा गोडदै हिलोमै जन्मियो यो पुन्टे
हिलोमा जन्मिनेहरुलाई
काहाँ लेखेको हुँदोरहेछ र सिमलको भुवा ?
ज्यू, हुर्काउँदैछु हजूर हुर्काउँदैछु
भुतुङ्गै
जनावरहरु जस्तै
कुकुर र सुँगुरका बच्चाहरु जस्तै ।
ज्यू, माया लाग्छ यै बूढा कामीको
गरीबीभन्दा अर्को छनौट नै के छ र जीवनमा ?
म पनि त चायाँ र कलेटी
तर्साउँने भइसकें
के म स्वास्नीमान्छे जस्ती छु र ?
ल फेरी हाँस्नुभयो हजूर त !
जीवनको अर्थ
ज्यू, केही बुझ्या छैन
मेरो कामीको रंग र फलामको रंग
एउटै छ हजूर ।
च्याँसे–पुन्टेको छालाको रंग र बाटोको धुलोको रंग
एउटै छ ,
म पनि त हजूर फोहोर, मैला, ध्वाँसो जस्तै छु
कामी रुने होइन कहिल्यै
उसका पसीनाको रंग
र मेरो आँशुको रंग
एउटै छ हजूर !
ज्यू, ज्यू काम गर्नेहरुले खान पाउनुपर्छ
भन्ने कुरा
भर्खर भर्खर पो थाहा पाउन लागेकी छु हजूर !

(स्रोत : म्युनिष्ट अन्लाईन डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.