कथा : परदेशी वर

~धर्म सापकोटा राजु~

खासमा विनोदमा जम्माजम्मी दुईटा कुराहरू मात्र मैले खोजेजस्ता भेटाएकी थिएँ । तर यिनै दुईटा कुराहरू नै मैले उसलाई मन पराउनका लागि पर्याप्त भए । पहिलो कुरा ऊ र उसका सम्पूर्ण परिवार विदेशमा बस्थे, दोस्रो उनीहरू, हामीहरू र मेरो दिदीको परिवारभन्दा निकै सम्पन्न थिए । बस मलाई योभन्दा बढ़ी अरू केही चाहिएको थिएन ।

हाम्रो चार जनाको परिवार, हामी दुई दिदी बहिनी, म घरकी कान्छी छोरी । मलाई धेरै जनाले दिदी भन्दा राम्री छौ भनेको सुनेकी छू । पाँच वर्षअघि दिदीको बिहे भइसकेपछि मेरो नाम बिहेको प्रतिक्षा सूचीमा परिसकेको थियो । तर, कान्छी छोरी भएर पनि होला बुवाआमाले मेरो बिहेका लागि खासै हतारो गर्नुभएको छैन । बिहे गर्ने समय नआए पनि म भने अहिलेदेखि नै आफूलाई मनपर्ने केटाको खोजीमा थिएँ । यस बिचमा प्रेम र बिहेका प्रशस्त प्रस्तावहरू मलाई नआएका पनि होइनन् तर अरूले जे सोचे पनि मेरो हुनेवाला श्रीमानको बारेमा मेरो भने आफ्नै धारणा छ । मेरा साथीभाइ र आफन्तहरू शिक्षित युवकको खोजीमा थिए भने मेरो चाहिँ आर्थिक रूपले सम्पन्न युवकमा थिए । त्यसका केही कारण थिए । प्रमुख उदाहरण त स्वयं मेरी दिदी थिई । दिदीको श्रीमान अर्थात् भिनाजु पढेलेखेका र ह्यान्डसम थिए । दिदीले त्यही देखेर भिनाजुसंग बिहे गर्न राजी भएकी थिई । दिदीको बिहे हुंदा भिनाजु बैकको जागीरे थिए । बिहेपछि दिदीले घर सम्हाल्न धेरै संघर्ष गर्नुपरेको थियो । साँचै भन्नु पर्दा भिनाजुको एउटा सामान्य जागीर र मेरी फुर्मासे दिदीका लागि पकेट खर्च पनि पर्याप्त थिएन । हामी दिदीबहिनीलाई बाबाले छोरा सरह नै पैसा र स्वतन्त्रता दिनुभएको थियो। हामी घरमा कुनै काम गर्दैनथ्यौं । झन् म त कान्छी मेरो त के कुरा ?

आफैले रोजेर बिहे गरेको मेरो दिदीका बिहेपछिका अप्ठेरा दिनहरू सम्झिँदा मलाई नै उकुसमुकÞस लाग्छ । उसको खर्च गर्ने बानी, काम नगर्ने बानी र व्यक्तिगत स्वतन्त्रता सबैमा भोटे ताल्चा लागेको थियो । भिनाजुलाई आफैंले रोजेर बिहे गरेकी हुनाले जे जस्तो परे पनि ऊ भने यी कुराहरू लुकाउने कोसिस गर्थी तर कतै न कतैबाट त्यसले टाउको बाहिर निकालिहाल्थ्यो । काठमाण्डौको किनारमा एउटा सानो चारकोठे पक्की घरबाहेक उनीहरूको एउटा सानो कारसमेत थिएन । मोटरसाइकलमै गुडेको थियो जिन्दगी । बिदेशतिर घुम्ने या ब्रान्डेड सामानहरु किन्नु उनिहरुको क्ष्यमता भन्दा धेरै बाहीरको कुरा थियो । चार बर्सकी छोरीको पढ़ाई पनि सामन्य बोर्डिंग स्कुलमा छ । त्यसो त मैले दिदीलाई उसको बिहेअघि भनेकी पनि थिएँ यस्तो केटासंग बिहे नगर दुख पाउछेस भनेर । तर मेरा कुरा उसलाई कागको गीत भए । सायद अहिले मेरा ति कुराहरू सम्झेर पछुताउंदी पनि हो, तर अचम्म त के छ भने कुनै गुनासो गर्दिन । त उ हामीहरुको अगाडी खुशीनै देखीन्छे । तर मलाई भने उसको जस्तो जीन्दगीमा खुसी भेटीन्छ जस्तो लाग्दैन ।

आखिर राष्ट्रप्रेम भनेर जति नै घाँटी सुकाए पनि भिनाजुले अस्ट्रेलियाको पिआर एप्लाई गर्नुभयो र पोहोर साल सबै जना अस्ट्रेलिया गए । अस्ट्रेलिया पुगेपनि उहाँहरूको संघर्ष भने अझै कायम नै छ र अझै कति लम्बिन्छ थाहा छैन । कहिलेकाहीँ दिदीले भनेको सुन्छु– “हेर नीरा यहाँ त आफ्नो सिप अनुसारको काम पाइँदोरैंनछ । छोराछोरी पनि मिलेर हेर्नुपर्छ । केटाकेटी जन्मेपछि काम गर्न र पैसा कमाउन सकिदैन भनेर मान्छेहरू केटाकेटी नै पाउन खोज्दा रैंनछन” । फेरि कहिले भंछे– “बाबै मान्छेहरू किन यसरी विदेश धाउँछन् होला ? यहाँभन्दा त नेपाल धेरै नै आनन्द, यहाँ त दिनको १२ घंटा काम गर्नुपर्छ कहिलेकाहीँ त कामबाट फर्केर आउँदा ज्वरो नै आउछ” । उसको कुरा सुन्दा लाग्छ बिचरी मेरी दिदी विदेशमा बसेर पनि सुखको अनुहार देखेकी छैन ।

बिहेपछीको दीदिले भोगेको दुख र संघर्ष देखेर मलाई मनमा एउटा दह्रो अठोट आएको थियो । अरु केही नभए पनि मेरो हुनेवाला धनि चाहीं हुनुपर्छ । अन्यथा म बिहे गर्दै गर्दिन । म चाहन्नथें बिहेपछी मैले पनि दिदीहरुले जस्तो संघर्ष गरुं ।

भनिरहनु नपर्ला, म कुनै सम्पन्न युवकको प्रतिक्षामा थिएँ । अनुहार नराम्रो भएपनि बिनोदमा मैले खोजेका सबै क्राईटेरिया पुगेको थियो । मेरो आका‘ंक्षा अनुरुप भएकोले मलाई एकदम उचित लागीरहेको थियो ।

हुन त म बिनोदलाई मैले स्कुल पढ्ता पनि देखेकी थिएँ । तर त्यो स्कूले बेलाको कुरा, उसले मलाई मन पराउंछ भन्ने कुरा मेरो साथीले भनेकी थिई तर हेर्दामा उ एकदम सोझो र अनुहार नपरेको केटा थियो । त्यस्तो केटा मेरो नजरमा पर्नै सकेन। स्कुल सकिएपछी त देखभेट नै भएन ।

बिनोदसंग अहिलेको कुराकानी भने भर्चुअल दुनियाबाट सुरु भएको हो । उसले मलाई फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाएको थियो । शुरुमा त मैले असेप्ट पनि गरिन । पछी उसले मेसेज बक्समा म स्कुलको साथी भनेर लेखेपछी पो चिनें र एसेप्ट गरें ।

उसको फेसबुक मजाले नियाले । डाक्टरको एप्रोनमा स्केथेस्कोप भिरेर हस्पिटलमा खिचिएका फोटाहरू थिए त्यहाँ । उ त डक्टर भइसकेको रहेछ, अझ अमेरिकामा । मैले सुनेकी थिए– अमेरिकामा डक्टरको कमाइ निकै राम्रो हुन्छ । पछी म्यासेन्जरमा उसको परिवारको बारेमा पनि सोधे । उसले लेखेको थियो –“उसको बाउको त्यहा बिजनेश छ । दश वर्षदेखि सपरिवार अमेरिका बसाइ रहेका रहेछन् ।”

केही दिन मेसेन्जरमा च्याट भए । अनि म्यासेन्जरमा भ्वाइस च्याट, भिडियो च्याट र पछि भाइवर र वट्स अपबाट पनि उन्नति हुँदै सिधै मोबाइलमा पनि कुराकानी हुनथाले । उसंग कुरा गर्दा मलाई निकै आनन्द आउथ्यो । म उसलाई मनपराउन थालिसकेकी थिएँ । उ पनि मलाई मनपराउँथ्यो । यो कुरा उसले मलाई प्रतक्ष्य नभने पनि मैले बुझीसकेकी थिएँ ।

एकदिन उसले फोनमा भन्यो– म एनआरएन अमेरिकाको सल्लाहकार हुँ । काठमाडौमा सम्मेलन हुँदैछ । म आउँदा तिमीलाई भेट्छु है ।

मलाई पनि उसलाई भेट्न मन लागेको थियो । ऊ आउने भन्ने भएपछि दिनहरू मेरा लागि लामा हुँदै गएको जस्तो भएको थियो। कछुवाको गती जस्तो समय हिडेकै थिएन । घड़ीका सुईले पनि अल्छी गरेजस्तो बिस्तारै हिडेजस्तो लाग्यो । अहो, कसैको आगमन पनि यति खुसीको पल हुंदो रहेछ । मैले जीवनमा पहिलो चोटि अनुभव गर्दै थिएँ । मैले ऊ आउने र उसलाई भेट्ने कुरा एकदमै गोप्य राखेकी थिएँ । मिल्ने साथीहरूलाई समेत भनेकी थिइन ।

सोल्टी होटल अगाडिको रेष्टुरामा उसलाई भेटें । खै माया लागेर पो होकि किन हो ? फोटो र भिडिओमा देखेभन्दा झन् राम्रो देखे । निलो नेभी रंगको सर्ट र सेतो पाइन्टमा निकै ह्यान्सम देखिएको थियो । अनुहारमा अहिलेका केटाहरूले जस्तो दारी पालेको थियो । कÞरीब दुई घन्टाको उसंगको बसाइ दुई मिनेटमै सकिएजस्तो भयो । छुट्टिने बेलामा उसले मलाई एउटा सानो बक्स हातमा दिंदै भन्योघरमा गएर मात्र हेर्नु ल ।

घरमा पुगेर मलाई त्यो के रहेछ भनेर हेर्न हतार भयो । खोलेर हेरे र तिन छक्क परें । हिराको हार, औठी र इयररिङको सेट रहेछ । ऐना अगाडि बसेर लगाएँ र एउटा सेल्फी पनि लिएँ ।

बिहे अगाडि त यति खर्च गर्नसक्छ भने बिहेपछि त यसले मलाई संसारै किनिदिन्छ होला । मेरो ड्रिम ब्वाइ योबाहेक अरू कोही हुनै सक्दैन । अनुहार अलिकति नराम्रो भएर के भो त ? मन र धन दुवैमा पूर्ण छ । कसैको सुन्दर अनुहार हेरेर मात्रै जिन्दगीका आवश्यकता पूरा हुने पनि त हैन नि । मैले यस्तै मात्र सोचिरहे ।

पहिले त मैले यो कुरा कसैलाई नभन्ने विचार गरेकी थिएँ । तर, पछि सोचविचार गरें र ममीलाई चाहिँ भन्ने निर्णय गरें, गिफ्ट पनि देखाएं र भनें– ममी यो केटा मसंग प्रेम गर्छ ।

तर ममीले कुनै प्रतिक्रिया दिनुभएन ।

ऊ नेपालमा रहुन्जेल हरेक दिन हाम्रो भेट हुन्थ्यो । महंगा रेस्टुरेन्टमा हामी जान्थ्यौ । अमेरिका फर्किनुअघि एकदिन मैले उसलाई साथीको रूपमा खाना खान घरमा बोलाएँ । हामी सबैसंग खाना खायौं । ममीले मेरो र उसको बारेमा बाबालाई भनिसक्नुभएको रहेछ क्यारे । ऊ गएपछि बाबाले मलाई सोध्नुभयो– हेर छोरी, सपरिवार अमेरिका बस्छन् भनेर मात्र हुँदैन । केटो के काम गर्छ ?

मैले भनें– अघि उसैलाई सोधेको भए हुन्थ्यो नि । तपाईको छोरी त्यति लाटी पनि छैन । ऊ मेडिकल डक्टर हो । हस्पिटलमा जागीरे छ ।

त्यसपछि भने बुवाले पनि केही प्रतिक्रिया दिनुभएन । मतलब मैले बुझें कि बुवा पनि मेरो रोजाइमा बेखुसी हुनुहुन्न ।

ऊ अमेरिका फर्केपछि हाम्रा कुराकानीको माध्ययम भिडियो च्याट बने । एकदिन उसंग भिडियो च्याट भैरहेको बेला उसको कोठामा कोही युवतीका तस्वीरहरू भित्तामा टाँसेको देखें र खिन्न भएं । तर मैले तत्कालै सोधें– “को हो त्यो तिम्रो कोठाको भित्ताको हिरोनी ?”

ऊ मजाले हाँस्यो र भन्यो– “ईष्र्या लाग्यो ? अनि उसले क्यामेरा फोटोहरूको नजिकै लगिदियो । ओ माई गड उसले त आफ्नो कोठाको चारवटै भित्ताभरि मेरै फोटो पो टाँसेको रहेछ । मेरो डाइहार्ट दिवाना ।

– हैन यसरी भित्ताभरि फोटो टाँस्दा बुवा आमाले केही भन्नुहुन्न ?

– मैले त बुवा आमासंग तिम्रो बारेमा कुरा पनि गरिसकेको छु । उताबाट उसले भन्यो ।

यतिखेर आएर मलाई किन मैले उसलाई स्कुलदेखि नै प्रेम गरिनछु। त्यतिबेला किन उसको प्रेम प्रस्ताव स्विकार गरिनछु भन्ने थकथकी भयो । बिस्तारै म उसलाई यति मन पराउन थालें कि एकदिन फोनमा नबोले त्यो दिन नै रात जस्तो लाग्न थाल्यो ।

एकदिन उसले भन्यो– अब हामी बिहे गरौं ।

मनमा उसको बिहे प्रस्तावले नजानिँदो तरंग ल्याइदियो । म त तयार नै थिए र नाइँ भन्ने त कुरै थिएन तर पनि लाज मान्दै भने –गरौला नि, हतार के छ र वुवा आमाको पनि त राय लिनुपर्छ ।

बिहे पक्का भएपछि मैले दिदीलाई अस्ट्रेलिया फोन गरेर यो कुरा बताए । बैनीको पनि घरजम हुने थाहा पाएर दिदी निकै खुसी भई र बिहेमा आउने कुरा बताई । म भने अरूभन्दा पनि अब मैले दिदीले जस्तो बिहेपछि पनि संघर्ष गर्नुपर्ने कुरा रहेन । मैले सोचेजस्तो मेरो जीवन बन्ने भो भन्ने कुरामा दङ्ग थिएँ ।

तिन महिनापछि हाम्रो बिहे भयो । केटा पक्षले भने – हाम्रा आफन्तहरू उतै अमेिरकामा छ् । यता खास धेरै छैनन् । बिहे सामान्य नै गरौं ।

तर मलाई यो कुरा चित्त बुझेन । म चाहन्थें दिदीको भन्दा मेरो बिहे धेरै भव्य होस् । मैले विनोदसंग कुरा गरें । आखिरर मैले खोजेजस्तै नै भयो । बिहेमा उनीहरूले निकै पैसा खर्च गरे । म अत्यधिक खुसी भएँ ।

मेरो भिसाको प्रोसेस गर्दागर्दै अर्को छ महिना बित्यो । भन्नै पर्दैन यो छ महिना मलाई साठी महिना जस्तो लाग्यो । छ महिनापछिको एक साँझ ५ बजे म कतार एयरवेजबाट अमेरिकाको न्यूयोर्क शहर पुगें । जोन एफ केनेडी एयरपोर्टबाट बाहिर निस्कंदा मैले उसलाई बाहिर मुस्कुराइरहेको देखें । सामानहरू गाडीमा राखेर ४५ मिनेट जतिको ड्राइभपछि हामी ब्रूकलिनमा रहेको घर पुग्यौं ।

अहो कति राम्रो, सफा, घर पनि उस्तै राम्रा । काठमाडौको जस्तो न धुलो, न धुवाँ साँच्चै नै अमेरिका अरूले भनेजस्तै अनि मैले सोचेजस्तै सुन्दर रहेछ । त्यस्तो देशमा पाइला टेक्न पाउँदा मलाई संसारकै महत्वपूर्ण कुरा भेटाएजस्तो लाग्यो ।

घरमा पुग्दा घर सुनसान थियो । सासूससुरा हुनुन्थेन । दुवै जना काममा जानुभएको रहेछ । तिन तले घरमा कोही काम गर्ने होला भन्ने लागेको थियो तर त्यस्तो रैनछ । बेलुकाको खाना हामीले टेकवेबाट मगाएर खायौं ।

भोलिपल्टदेखि उहाँको एक हप्ताको छुट्टी रैछ । सुत्नेबेलामा मलाई भन्नुभयो– यो हप्ता हामी मजाले घुम्नुपर्दछ । तर मलाई त जेट ल्यागले गर्दा घुम्नभन्दा पनि घरमै रेस्ट गर्न मन लागेको थियो । फेरि मलाई त घुम्नुभन्दा पनि उहाँलाई भेट्नु नै महत्वपूर्ण कुरा थियो । फेरि भिजिट भिसामा भए पो हतारले घुमूँ भन्नु । यतै बस्ने गरी आएपछि त जहिले घुमे पनि भो । तर उहाँले मेरो कुरा सुन्नुभएन ।

सुरुको हप्ता हामी न्यूयोर्क स्टेटका बुफ्फालो सिटी, नायग्राफल्स अनि सिटीभित्रकै हड्सन नदी बिचमा रहेको स्टाचु अफ लिबर्टी अनि म्यानहटन, टाइम्ज स्क्वेर आदि महत्वपूर्ण ठाउँहरू घुम्यौं । एक हप्तापछि उहाँको काम सुरु भयो । हस्पिटलको इमर्जेन्सीमा काम हुनाले उहाँ धेरै समय उता बिताउने । बिस्तारै मलाई घरमा एक्लै बस्न बोर लाग्न थाल्यो ।

ससुराको पार्टनरसिपमा एउटा रेस्टुरेन्ट रहेछ उहाँ त्यही सेफको काम गर्नुहुन्थ्यो । सासू पनि डिपार्टमेन्टल स्टोरमा काम गर्नु हुंदो रहेछ । म भने उहाँहरूलाई खाना पकाउने, खुवाउने र घरको सरसफाइ गर्थें । कान्छी छोरी भएर होला बिहेअघि पनि घरको काम दिदी र ममीले नै गर्नुहुन्थो। घरको काम समेत गर्ने बानी थिएन । त्यसैले होला, मलाई अहिले त्यही घरको काम पनि बढी भइरहेको थियो । एकदिन सुत्ने बेलामा श्रीमानले सोध्नुभयो– निरा, तिमीलाई एक्लै घरमा बस्दा र घरको मात्रै काम गर्दा बोर भयो होला है ?

मलाई मेरो श्रीमानले मनको कुरा बुझेकोमा खुसी लाग्यो ।

मैले भने – हो नि कहिलेकाहीँ त तपाईले छुट्टी गरे पनि त हुन्छ नि । सातै दिन काम गर्नुहुन्छ ।

मेरो जबको नेचर नै यस्तै हो निरा, छुट्टी पाउन निकै गाह्रो छ । यो वर्षको त सबै छुट्टीहरू सकियो । अब अर्को वर्ष मात्र लिन मिल्छ । बरु तिमी पनि–––

“म ?”

“जब गछ्र्यौं कि ?”

श्रीमानको कुरा सुनेर मलाई नांगो तारमा हातले छोएजस्तो भयो । करेन्टले लागे जस्तो भयो । मखÞमालि दुबोबाट एक्काई चोटी फूटेको सिशामाथी टेकेजस्तो भयो, मधुरो बेडलाईटको उज्जयालोमा मेरो कापेको स्वर निस्कियो – “काम गर्ने ? मैले ?”

“हैन प्रिय, काम भन्नेबित्तिकै किन डराएकी त्यसरी? काम नगरी त यो अमेरिकामा कोही पनि बस्दैनन । काम नगर्ने मान्छेलाई त यहाँ मान्छेले राम्रो पनि मान्दैनन् । चिन्ता नगर । यहाँ काम गर्नुका धेरै फाइदा पनि छन् । त्यो कुरा तिमीलाई काम गर्न थालेपछि आफै अनुभव हुन्छ ।”

म केही बोलिन । श्रीमानको सल्लाह जारी रह्यो– तिमीले यहाँको सिस्टमको बारेमा धेरै जानेकी छैनौ । यहाँ त आफ्नो काम सबै आफैले गर्नुपर्छ । फेरि नेपाल जस्तो हैन । यहाँ हरेक कामको उत्तिकै सम्मान छ । सुरुमा त राम्रो काम नपाइएला । तर, अनुभव बढ्दै गएपछि राम्रो र सजिलो काम पनि पाइन्छ । घरमा मात्र बस्यो भने त केही पनि थाहा हुन्न । काममा जान थालेपछि धेरै कुरा सिकिन्छ । सबैभन्दा मुख्य कुरा त काम नगरे पैसा हुँदैन । पैसाबिनाको अमेरिकाभन्दा त नेपाल नै ठिक छ ।

श्रीमानको कुरामा मैले कुनै प्रतिक्रिया जनाइन । कामका जेसुकै फाइदा हुन, मलाई सरोकार भएन, मलाई यति मात्र थाहा छ, म काम गर्न चाहन्न । मैले दिदी र अरु साथीहरुबाट सुनेकी थिएँ– विदेशमा राम्रो काम पाइँदैन र पाइएका काम निकै गाह्रो हुन्छन् । पैसा कमाउन मान्छेहरू जस्तो काम पनि गर्न पछि पर्दैनन् आदि । श्रीमान डक्टर अनि ससुराको बिजनेस पैसाका लागि त मैले काम गर्नुपर्ने थिएन । तर पैसाभन्दा पनि बरु बाहिरको अनुभव होस् भनेर सायद श्रीमानले मलाई भन्नुभएको होला भन्ने लाग्यो । तर यति हुँदाहुँदै पनि मेरी सासू समेत फुलटाइम काम गरेको देख्दा भने मलाई उदेक लाग्थ्यो । नेपालमा भए त घरमा २÷४ जना नोकर राखेर बस्न सकिन्थ्यो । यहाँचाहिँं आफै नोकरजस्तो खटिनुपर्ने । कतिखेर त यो नाम मात्रको अमेरिकाजस्तो लाग्न थाल्यो ।

मैले दिदीलाई सम्झे । उसको परिवारलाई सम्झें । दिदीहरूले मेरा लागि खोजिदिएका केटाहरूलाई सम्झें । दुख संघर्ष जे भए पनि आज मैले उनीहरूलाई मभन्दा निकै खुशी देख्न थाले । रातभरि निन्द्रा लागेन । भोलिपल्ट श्रीमान बिहान काममा गइसकेपछि बल्ल उठें । दिन बिताउन पनि मलाई निकै कष्ट भयो । बेलुका श्रीमान् फर्किंदा उहाँको अनुहारमा खुशी लपेटिएको प्रस्टै देखिन्थ्यो ।

–तँपाई त खुसी देखिनुहुन्छ नि, मैले सोधें ।

“तिम्रा लागि म एउटा खुसीको कुरा लिएर आएको छु । ओछयानमा बस्दै उहाँले भन्नुभो ।

‘के होला नि भनिहाल्नुस् न ।’ कुरा सुन्न म निकै उत्सुक थिएँ ।

“हेर तिमी घरमा बस्दाबस्दा बोर भइसक्यो होला । त्यही भनेर भोलिदेखि” बोल्दाबोल्दै उहाँ रोकिनुभयो र लुगा फेर्नमा व्यस्त हुनभो । मलाई झन् उत्सुकता बढ्Þयो ।

“के भोलिदेखि, छिट्टो भन्नुस् न ?”

मैले मनमनै सोचें, कामको बाहेक अरू कुरा होस् । एकचोटि त भगवान् पनि पुकारे ।

–अब भोलिबाट तिमी पनि पैसा कमाउने अर्थात् भोलिदेखि तिमी पनि आमासंगै काममा जाने ।

मलाई कसैले नौतला माथिबाट धकेलेजस्तो लाग्यो । शरीर अनि खुट्टा थरर काँप्न थाल्यो । छातीमा हात राखें, पानीबाट फुत्त निकालेर बाहिर फालेको माछा जस्तो गरी मुटु उफ्रिन थालेको मलाई महसुस भयो । थचक्क ओछयानमा बसें । कसरी मैले काम गर्ने होला ? काम त बरु अरूले पनि गरेकै छन्, म पनि जनतन गरौला। तर, हे भगवान्, दिनको १२ घण्टा काम गर्छु भनेर पो मैले बुवा ममी अनि दिदीहरूलाई कसरी भन्न सक्छु होला । मैले संघर्ष गर्नु नपर्ने भनेर बिहे गरेको अहिले किन मेरो घडी उल्टो घुमिरहेछ ?, कामको कुरा सुन्दै चक्कर लागिसक्यो, काम गर्न थालेपछि त म पक्कै मर्छु होला । कस्तो बिडम्बना, आज श्रीमानको खुसी नै मेरो दुखको कारण बन्यो ।

श्रीमान नुहाउन जानुभएको रहेछ । बाथरुमबाट फर्केपछि उहाँको कपाल चिसो देखेर पो थाहा पाएँ ।

“नीरा के सोचेर बसेकी, खाना खाने हैन अब ?” श्रीमानले भनेपछि पो झसंग भए । सधै उहाँ कामबाट फर्केर आएपछि बाथरुम जानुहुन्थ्यो । बाथरुमबाट आउँदा मैले भान्सामा गएर खाना पस्किसकेकी हुन्थे ।

केही नबोली उहाँलाई खाना पस्किदिएँ । किचनमा हाम्रा कुनै कुरा भएनन, खाना खाइसकेपछि बेसिनमा मैले भाड़ा राख्दै गर्दा उहाँले भन्नुभो– नीरा तिमीलाई आज सन्चो छैन जस्तो छ । हिजो राति पनि तिमी राम्रोसंग सुतेकी छैनौ । आँखा पनि रातो भएको छ । भाँड़ा म माझ्छु । तिमी गएर आराम गर

“हैंन मलाई सन्चै छ, बरु हजुर कामबाट थाकेर आउनुभएको आराम गर्नुस् । भाँड़ा त म माझिहाल्छु नि” पनि नभनी म सिधै बेडरुमतिर लागें । मलाई साँच्चिकै ज्वरो आउलाजस्तो भएको थियो । टाउको त अघिदेखि दुख्न सुरु भैसकेको थियो । श्रीमानले भान्साको काम सकेर आउँदा म निदाइसकेकी रहिछु ।

श्रीमानले भनेजस्तै मेरो काम फिक्स भैसकेको थियो । म सासूसंगै काममा जाने र आउने गर्न थालेंकी थिएँ । मेरो दैनिकीमा काम थप भएको थियो । तर, अरू कही कम भएको थिएन । करीब १० घण्टा काम र आउँदाजाँदाको २ घण्टाको यात्रा समय जोड्दा १२ घण्टामा घर आउँदा म थाकेर सास फेर्न मात्र सक्ने भएकी हुन्थें । काम गरिरहेको बानीले र काम पनि अलि सजिलो भएर होला, बुढी नै भए पनि सासू भने खासै थाकेकी हुन्थिनन् । तर पनि घर फर्केपछि खाना बनाउने र भान्साको काम मैले नै गर्नुपर्थ्य। मलाई थप बर्डेन भएको थियो । मैले काम गर्न थालेको दिनपछि श्रीमान् कामबाट बेलुकी आउँदा म निदाइसकेकी हुन्थें । म बिहान उठ्दा उहाँ गैसकेको हुनुहुन्थ्यो । एउटै खाटमा सुतेर पनि हाम्रो कुराकानी समेत हुन पाउँथेन । मलाई गाह्रो हुँदै गएको थियो । मैले आफ्नो दुख श्रीमानलाई भन्ने निर्णय गरे । किनकि मलाई थाहा थियो, श्रीमानले मेरो दुख देख्न सक्नुहुन्न ।

छुट्टीको एकदिन श्रीमानलाई भनें – मलाई काम गर्न गाह्रो भयो। मैले काम गर्न सक्दिनँ होलो जस्तो छ । तर उहाँले कुनै प्रतिक्रिया जनाउनु भएन । म छक्क परे । उहाँले यति मात्रा भन्नु भो त्यो पनि जिस्किदै – “हो र ?”

“हजुरलाई के मैले मजÞाकÞ गरेजस्तो लाग्यो र ? मेरो शरीर हेरेर थाहा पाउनु हुन्न र ?” मलाई भन्न मन लागेको थियो, तर अलि हतार होला भनेर भनिन ।

“निरा, म तिमीलाई एउटा कुरा धेरे दिनदेखि शेयर गरूँ जस्तो लागिरहेको थियो तर समय नमिलेर भन्न पाएको थिइन । कुरा के भने, यतिबेला हामी आर्थिक रूपमा निकै अप्ठेरो स्थितिबाट गुज्रिरहेका छौ । मेरो कमाइ जति सबै घरको मोरगेजमा जान्छ । बुवाको बिजनेस घाटामा गइरहेको छ । उहाँको त तलब समेत आउँदैन । आमाको कामले घरखर्च मात्र धान्छ ।”

अनि उहाँले दराजबाट एउटा कागज निकाल्नुभयो र मलाई देखाउँदै भन्नुभयो– यहाँ हेर त, यो मेरो क्रेडिट कार्डको स्टेटमेन्ट हो । हाम्रो बिहेको खर्च मैले यही क्रेडिट कार्डबाट गरेको थिएँ १५ हजार डलर । अहिले हरेक महिना यसको किस्ता ब्याजसहित तिर्नुपर्छ अनि तिमीले काम गरिनौ भने त यो क्रेडिट कार्डको पैसा कसरी तिर्न सकिन्छ र !

मैले एकोहोरो उहाँको अनुहारमा हेरिरहे धेरैबेर । हाम्रो बिहेको तामझाम सम्झें । पहिलो भेटको हिराको हारको सेट सम्झे । दिदीलाई सम्झें । ममीलाई सम्झें । बाबालाई सम्झे, लामो सास तानेर केही नबोली कोठाबाट निस्केर बाथरुम छिरे । सावरको पानीसंग आफ्नो आँखाको पानीमा मिसाए । धेरैबेर रोइरहे ।

केही हप्ता काम गरेपछि मलाई पहिले जस्तो गाह्रो हुन छोड्यो । मैले अब काम गर्नुको विकल्प छैन भनेर मानसिकता बनाइसकेकी थिएँ । हप्तामा ६ दिन काम गर्थें । मेरो आफ्नो बैंक एकाउन्ट थिएन । मेरो तलबको पैसा सिधै श्रीमानको खातामा जान्थ्यो । बेलाबेला दिदीको फोन आउँथ्यो । काममा जान थालेदेखि उसंग कुरा गर्न बन्दजस्तै भएको थियो । भाइवर र मेसेन्जरमा उसका मिस्कलहरूको चाङ नै लागेको हुन्थ्यो । फोन नउठेपछि कहिलेकाहीँ म्यासेज पनि लेख्थी । म फुर्सदमा तिनै म्यासेजको रिप्लाई गर्थें । म पनि काम गर्छु फोन उठाउन सक्दिन भनेर उसलाई भन्नै सकिन । किन हो कुन्नि अलिपछि त मलाई दिदीसंग कुरा गर्नै मनलाग्न छोडेको थियो । ममीसंग त कुरा नभएको झन् धेरै दिन भएको थियो ।

मंगलबार मेरो छुट्टीको दिन थियो । दिदीको फोन लगातार बजिरहेको थियो तर मलाई फोन उठाउन मन लागेन । रिंगर आफू गरेर मोबाइललाई एकातिर थन्काइदिए । मोबाइलसंग पनि रिस उठेर आयो । दिदी त आफ्ना दुखहरू मलाई सजिलै भन्थी र आफूलाई हलुको पार्थी तर म मेरा दुख उसलाई कसै गरे पनि भन्न सकिन । दुःख आफैंले मात्र बोकर होला मलाई आफ्नो दुख अर्काको भन्दा निकै गरुँगो लाग्थ्यो । बेलुकीपख मात्र मोबाइल हेरे, भाइबरमा नोटिफिकेसन रैछ । खोलेर पढ़े दिदीले लेखेकी रहिछ–निरा, म त अब काममा जान लागेको । तेरो जस्तो जतिखेर पनि फुर्सद मलाई कहाँ छ र । भोलि मेरो छुट्टी छ । तँ मलाई फोन गर न है । धेरै दिन भो कुरा गर्न नपाएको, मजाले कुरा गरौंला । दिदीले रोमनमा लेखेकी थिई । पढिसेकर फेरि फोन अफÞ गरे । कुनै उत्तर लेखिन ।

भोलिपल्ट सासूसंग काममा निस्किन लागेकी थिएं, त्यति नै बेला दिदीले फेरि फोन गरी । ओहो दिदीले मलाई फोन गर्नु भनेकी थिई । बल्ल सम्झे, फोन उठाउने त थिइन, तर पनि मेरो फोनको रिंग सुनेर तलबाट सासूले चिच्याइन् –निरा कति ढिलो गरेको ? छिटो गर नत्र ट्रेन छुट्छ ।

फोनको घन्टी बजिरह्यो । फोन पनि नगर्ने, नउठाउने अनि मेसेजको रिप्लाई पनि नगर्दा दिदीले नराम्रो मान्ली जस्तो पनि लाग्यो । पछी ट्रेन चढेपछि मोबाइल हातमा लिए र दिदीलाई रिप्लाई लेखें – सरी दिदी, आज घरमा धेरे पाहुना छन् । कुरा गर्न मिलेन । हजुरको छुट्टीको दिन फेरि कुरा गरौंला ।

(स्रोत : नागरिक – शनिबार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.