~हरिप्रसाद भण्डारी~
जङ्गलको बीचमा एउटा रूख थियो । रूखको हाँगामा कौवाको गुँड थियो । गुँडमा रहेका चल्लाहरू उड्ने तयारी गर्दै थिए ।
एउटा चल्लो गुँडबाट बाहिर निस्केर हाँगामा बसेको थियो । त्यस्तैमा नजिकै अर्को हाँगामा एउटी काली चरी आएर बसी ।
“तिम्री आमा त्यो कौवा होइन, म हुँ । आऊ, मसँगै जाऊँ । बहिनीलाई पनि लिएर आऊ ।” चल्लातिर हेर्दै काली चरीले भनी ।
चल्लो अलमल्ल परयो । उसलाई यो सबै कुरा सपनाजस्तै लाग्यो ।
“तिमीले सुनेनौ ? छिटो आऊ । अहिले कौवा आई भने मसँग आउन दिन्न । आफ्ना छोराछोरी होइनन् भन्ने थाहा पाई भने ठुँगेर मार्न पनि सक्छे ।” काली चरीले निकै कर गरी ।
‘मलाई यसरी फकाउने को होला !’ चल्लाले मनमनै कुरा खेलायो तर एकिन गर्न सकेन । ‘अझ मेरै आमा हुँ भन्छिन् ।’ चल्लो छक्क परयो ।
‘म नभएको बेला गुँडबाट बाहिर ननिस्कनू, कतै नजानू, नचिनेका कसैले दिएको खानेकुरा नखानू, कसैको लहलहैमा नलाग्नू ।’ आमाले भनेका कुराहरू सम्झियो । ‘यो मलाई फकाएर लैजाने चाल पनि हुन सक्छ ।’ अनेक तर्कना गर्दै गुँडभित्र गयो र लुकेर बस्यो ।
केही समयपछि आमा आइन् । उनका मुखभरि चारो थियो— अन्नका दाना र कीरा फट्याङ्ग्रा । उनले पालैपालो चारो दिइन् । स्वादिलो चारो खान पाएर सबै चल्ला खुसी भए ।
काली चरीले भनेका कुरा आमालाई बताउन मन लाग्यो । मुख खोलिसकेको थियो तर रोकियो । ‘कौवाले आफ्ना छोराछोरी होइनन् भन्ने थाहा पाई भने ठुँगेर मार्न सक्छे ।’ काली चरीका कुरा सम्झियो । मनमा कुरा खेलिरहे, निकै चिन्ता पनि लाग्यो ।
अर्को दिन बिहान उज्यालो भएपछि कौवा चारो खोज्न बाहिर गई । एकै छिनपछि काली चरी फेरि आई । हिजो बसेको डालीमा बसेर चल्लालाई बोलाई र भन्न थाली—
“म कोइली चरी हुँ । तिमी पनि कोइली नै हौ, मेरै बचेरा, कौवा होइनौ । मैले कौवाको गुँडमा पारेको फुलबाट जन्मेका तिमीहरू । कौवाले थाहा नपाउने गरी मैले उसको गुँडमा फुल पारिदिएँ । कौवा झुक्कियी । आफ्नै फुल ठानेर ओथारा बसी, चल्ला निकाली र चारो खुवाएर तिमीहरूलाई हुर्काई । अझै पनि ‘तिमीहरू कौवा हौ, उसकै सन्तान हौ’ भनेर ऊ विश्वस्त छे । पछि तिमी कौवा होइनौ, कोइलीका बच्चा हौ भन्ने थाहा पाई भने ठुँगेर मार्न सक्छे । त्यसैले उसले नचिन्दै तिमीहरू यहाँबाट भाग्नुपर्छ ।”
काली चरीको कुरा सुनेपछि चल्लो छक्क परयो ।
‘कस्तो अचम्म ! आफूले अर्काको गुँडमा फुल पारेकी रे ! अल्छी ! आफ्ना सन्तानलाई अर्काको जिम्मामा छोडेर बस्न सक्ने निष्ठुरी ! अहिले आएर मेरा बच्चा भन्ने ? लाज पनि किन नलागेको होला !’ चल्लाका मनमा यस्तै कुराहरू खेलिरहे ।
“हाम्रो चलनै यस्तो छ । हामी आफू कहिल्यै गुँड बनाउँदैनौँ । फुल पार्ने बेला भएपछि कौवाले थाहा नपाउने गरी उसैका गुँडमा गएर फुल पार्छौं ।” चल्लाका कुरा बुझेजस्तै गरेर काली चरीले भनी ।
“कौवा पनि अलमलिन्छन् । आफ्नै फुल ठानेर ओथारा बस्छन् र चल्ला कोरल्छन् । परम्परादेखि नै चल्दै आएको चलन हो यो । म पनि कौवाकै गुँडमा जन्मी हुर्किएकी हुँ । हाम्रो यही अनौठो चलनमाथि कविहरूले कविता पनि कथेका छन्— कोइली कागको बच्चा हुन्छ सानो छँदातक ।”
काली चरीको कुरा सुनेपछि चल्लाको टाउको फुट्लाजस्तै भयो । कहिल्यै नसुनेको कुरा सुन्नुपरेकाले उसले केही सोच्न सकेन । आमाले अरू धेरै कुरा सिकाए पनि यो कुरा कहिल्यै बताएकी थिइन । ‘आमाले यो कुरा किन बताइनन् ?’ उसको मनमा यस्तै जिज्ञासा मडारिए ।
एक दिन अरूले थाहा नपाउने गरी काली चरीले भनेका कुरा चल्लाले आफ्नी बहिनीलाई पनि सुनायो । दाजुको कुरा सुनेर बहिनीले अचम्म मात्र मानिन, “यस्तो पनि हुन सक्छ र दाजु ?” शङ्का व्यक्त पनि गरी ।
बहिनी ‘आमालाई सोधौँ’ भन्दै थिई तर चल्लाले मानेन । ‘कौवाले थाहा पाई भने ठुँगेर मार्न सक्छे’, काली चरीले भनेको कुरा उसले बिर्सेको थिएन । तर उनीहरूको मन पटक्कै मानेन।‘
यस्ता कुरा मनमा पालेर आमालाई नभन्नु धोका त हो तर ‘के हो, के होइन’ को अनिश्चयमै उनीहरूले एक दिन आमालाई काली चरीका कुरा सुनाए ।
“कोही फटाहा चरो होला तिमीहरूलाई फकाएर अपहरण गर्न खोज्ने ! त्यस्तो कुरा नपत्याउनू र कसैसँग नजिक नजानू” भन्दै आमाले सचेत गराइन् । त्यसपछि उनीहरूले काली चरीका कुरा सुन्न छोडे । बिस्तारै उड्न र आफैं चारो खोजेर खान सक्ने भएपछि जङ्गलतिर लागे ।
काली चरीले भनेको ठीकै रहेछ भन्ने कुरा उनीहरूले पछि मात्र थाहा पाए । कोइलीले सधैँ कौवाको गुँडमा मात्रै फुल पार्दा रहेछन् भन्ने कुरा थाहा पाएपछि उनीहरूलाई अचम्म लाग्यो । ‘सबैले बाठो भन्ने कौवा हामीभन्दा पनि लाटो रहेछ । लाटो नभए किन अर्काका सन्तान आफ्नै ठानेर हुर्काउँदो हो र ! बिचरा कौवा !’
पछि फुल पार्ने बेला भएपछि उनीहरू पनि कौवाको गुँड खोज्दै उड्न थाले ।
( हरिप्रसाद भण्डारीका बालकथा संग्रह ‘चरीका रमाइला कथा’बाट ! )