~पवित्रा लामा~
जब ऊ हिँड़ेथ्यो आफ्नो घरबाट
आँखाभरि, मुटुभरि, छात्तीभरि
बोकेर सपना बासभूमिको
ऊ जान्दथ्यो,
यो उसको अन्तिम यात्रा हो
यो उसको अन्तिम लड़ाईँ हो।
उसले छोइराख्यो देउता थान
उसले खुवायो परेवालाई अन्नका दाना
उसले गोड़िराख्यो मकैका ससाना बोट
ढोग्यो आमालाई,
हात हल्लाउँदै विदा माग्यो गाउँ घरकालाई
मिलायो पाइला सहोदरहरूसित
र हिँड़्यो अन्तिम लड़ाईँ लड़्न
निहत्था ।
उसलाई थाहा थियो,
ऊ आज पक्रा पर्न सक्छ
सत्ताको निर्मम लौरोले
ऊ आज रगतपच्छे हुनसक्छ
जेल हुनसक्छ, नेल हुनसक्छ
ऊ आज शहीद पनि हुनसक्छ
उसलाई थाहा थियो,
वासभूमिको लड़ाइँमा शहीद हुनभन्दा
धेरै धेरै सजिलो थियो रमिते बन्न
धेरै धेरै सजिलो थियो मीरजाफर बन्न
अझ धेरै सजिलो थियो गद्दार बन्न
तर ऊ विश्वविजयी गोर्खाको सन्तान थियो
तर ऊ खाँटी योद्धाको सन्तान थियो
र त ऊ निस्क्यो तिरङ्गालाई अङ्गालेर
शहीदको सपना पूरा गर्न
सय वर्षे निद्रालाई त्यागेर
ऊ उत्रियो मूल सड़कमा
र आँटकै भरमा लल्कार्यो शत्रु सत्तालाई
छात्तीमा थाप्यो तातो गोली
र ढल्यो पुर्लुक्क भन्दै आमा….!!!
उसलाई थाहा थियो
उसको हरेक पाइलाले तय गरेको दुरीले
साकार बनाउनेछ हजारौं शहीदहरूको सपना
पुर्खाहरूको पौरख र माटोको गौरव
फर्काइ ल्याउन जब निस्क्यो ऊ घरबाट
उसलाई थाहा थियो
य़ो उसको अन्तिम यात्रा हो
यो उसको अन्तिम लड़ाइँ हो …
(स्रोत : लाली गुराँस,नेपाली द्वैमासिक, दार्जिलिङ – अङ्क 23 : जुन-जुलाई 2017)