~महेन्द्र महक~
तपाइँ विवाहित हो वा अविवाहित?
विवाहित हो भने यस कथाको मार्मिक अन्त्य अन्तर्बोध गर्न सहज हुनेछ।
खैर, पूँजीवादले बजारमा उपलब्ध गराएका ‘विवाह’का विकल्पहरुको स्वर्गीय अनुभव गर्नुभएको छ भने यो कथाको गहिराई नाप्न सक्नुहुन्छ।
पाठक महोदय! तपाइँ विवाहित हो भने सवाल बन्छ–
‘विवाह अरेञ्ज हो वा लभ म्यारिज हो?’
खासमा यस कथामा ‘लभ म्यारिज’ले विशेष अर्थ राख्छ।
यस कथाकी नायिका– श्रीदेवी।
उनको नाम सुनेर मलाई पनि ‘हवा–हवाएँ’की श्रीदेवी याद आएकी हुन्। खासमा उनकी आमा …हैन ममीले आफ्नी छोरी ज्यादै ‘खुबसूरत’ देखेर नायिकाको नाम राखिदिइछन्।
श्रीदेवीका ममी/बाबा/दाजु/भाइ/दिदी/बहिनी यस कथाका पात्र होइनन्। तसर्थ तिनको बारेमा उल्लेख नगरिनु ‘संयोग’ होइन बरु सुनियोजित लेखन ठहर्छ।
पाठक महोदय,
श्रीदेवी हुर्किदै गइन्– बढ्दै गइन्।
बैंस तँछाड मछाड गर्दै आयो र श्रीदेवीलाई छपक्कै छोप्यो। श्रीदेवीका ममीबाबा र आफन्तले चाल पाउनुपूर्व निखिलले यो कुरा थाहा पाइहाले।
निखिल– यस कथाको नायक।
र निखिललाई पनि तँछाड मछाड गर्दै आएको बैंसले छपक्कै छोपेको थियो।
‘दुई विपरित ध्रुवका बीच आकर्षण हुन्छ’ विज्ञानको शास्वत नियम हो।
निखिल र श्रीदेवी पनि दुई फरक ध्रुव भए– महिला भर्सेज पुरुष। गहिरो आकर्षण पैदा भयो र दुबैको मनमा एक अर्काप्रति ‘कुछ कुछ’ भयो।
यो कुछ कुछ हुनुभित्र उल्लेखित क्रियाकलाप पर्छन्–
– बाटो कुर्नु,
– रुपको बयान गर्नु,
– सिनेमा हेर्न जानु, कुरा गरिरहँदा मोबाइलमा किस खानु,
– लभ ओचार्ड अर्थात् प्रेमी प्रेमिकाका लागि नै बनेका एकान्त स्थल, जंगलको छेऊ वा बस्ती बाहिर गई एक अर्काको काखमा घन्टौं हराउनु।
– सपनाको कुरा गर्नु, यादका कुरा गर्नु …एट्सेट्रा।
यसरी ‘कुछ कुछ होता है’का साइड इफेक्टबाट यी प्राणीद्वय पनि बच्न सकेनन्। ‘कुछ कुछ’ एक दिन ‘बहुत कुछ’ मा बदलियो।
साइडइफेक्टको मात्रा एकदिन एक्सट्रीममा पुग्यो।
अर्थात् निखिलले श्रीदेवीलाई भगायो।
याने कि श्रीदेवी निखिलसँग पोइल गइन्।
(खैर पाठक महोदय, यहाँनिर मलाई Gender Discrimination को संगीन आरोप लगाउने अधिकार राख्नुहुन्छ। कारण– नेपाली बृहद् शब्दकोषमा ‘जोइल’ भन्ने शब्द हुँदा–हुँदै ‘पोइल’ मात्र प्रयोग गरिएको छ। खासमा यसको अन्तर्य के भने नि श्रीदेवी निखिलको ‘झिटीझाम्टो’ भएको कोठामा गएकी हुन्। तसर्थ, परिस्थितिले पोइल जानु नै उपयुक्त शब्द हुन गएको हो।)
निखिलले श्रीदेवीलाई किन भगायो? वा श्रीदेवी निखिलसँग किन भागिन्?
लभ म्यारिज, त्यसमा पनि भागेर बिहे गर्ने पाठक महोदयले यसको गहिराई बुझ्नुहुनेछ भन्ने हार्दिक अपेक्षा छ।
विवाहित तर अरेञ्ज म्यारिज गर्नेहरु तथा अविवाहितहरुलाई– ‘वाइल्ड ओचार्डमा वाइल्ड दौडमा सरिक भई प्रेमको गहिराई नाप्दाको परिणामस्वरुप उत्पन्न परिस्थतिको गाम्भीर्यतालाई ध्यानमा राखी दुबै जना भागेको जानकारी गराइन्छ।
***
शहरको जीर्णावस्थामा पुगेको एउटा पुरानो घरको भुइँतलाको कोठा।
एउटा खाट– जसको हेड र टेल छैन, अर्थात् प्लेन बेड। खाटमाथि असरल्ल ओछ्यान। महिनौं नधोएको– मैलिएको– खुम्चिएको– खुइलिएको तन्ना।
खाटमुनि सिग्नेचर र सान मिग्वेलका खाली बोत्तल। कोठाभरि यत्रतत्र छरिएर रहेका तासका पत्ति।
धेरै दिन बन्द रहेको कोठामा सडन्ली प्रवेश गर्दा श्रीदेवीलाई ह्वास्स गन्हायो।
‘हवा–हवाइँ’ टाइपका सपनाबाट झल्यास्स ब्युँझिइन् श्रीदेवी। एक अव्यक्त चिच्याहट उनको आत्माभरि गुञ्जियो । निखिलले सुनेनन् उनको आत्माको चित्कार।
‘यही हो तिम्रो कोठा!’ डर–आतङ्क र विस्मयले भरिएको बोली ।
‘हो, एक्लो जीवनमा केही व्यवस्थित हुन सकेको थिएन। अब दुईजना छौं जिन्दगी लिगमा आउँदै जाला।’
यसो भनेर निखिल श्रीदेवीको छेऊमा बस्यो र ‘हर्टली कन्सोलेसन’ दिने कोशिस ग¥यो– श्रीदेवीको शिर आफ्नो छातीमा टाँस्न खोज्दै।
सान्त्वनाले श्रीदेवीलाई स्पर्श गरेन। उनले ‘मुन्टो’ बटारिन् र आँसुले धुमिल हुँदै गएको दृश्यलाई पछ्यौरीले पुछिन् र मनमनै भनिन्– ‘तिमी चाँडै बिर्सदा रहेछौ निखिल, अब हामी दुई मात्र होइन तीन भइसकेका छौं।’
त्यस साँझ उनीहरुले बाहिरै खाना खाए।
र त्यससाँझ उनीहरु त्यही असरल्ल ओछ्यान भएको खाटमा सुते, जहाँ निखिल उन्मत्त बन्यो र श्रीदेवी झनपछि झन् चीसो हुँदै गइन्।
सर्वाङ्ग नग्न देह– खाटमुनि अलिपर मिल्काइएका आफ्ना अन्तवस्त्र र छेऊमा ‘टन्न खाएर’ मस्त निदाइरहेको निखिललाई देखेर श्रीदेवीलाई पहिलो पटक अनुभूति भयो– भर्खर उसँग जे जस्तो दुर्घटना भयो त्यो एक वैधानिक बलात्कार थियो।
प्रेमपूर्ण आलिङ्गनको अनुभूति नै नगरी सकिएको संवेदनाहीन क्रीडा! अर्थात् बैधानिक बलात्कार।
***
चार महिना पूरा भएपछि केही यस्तो दुर्घटना हुन पुग्यो पाठक महोदय–
मात्तिएर आएको निखिलले ‘भात पस्की’ भनी अह्रायो श्रीदेवीलाई। श्रीदेवीले भात पस्किइन् र सोधिन्– यो घर फर्किने कुनै समय हो? रातको १२ बजेको छ। हिजो अस्ती कहाँ बसेको?’
श्रीदेवीको रुवाँसी बोलीलाई सुनेन निखिलले। जुत्तैसँग बस्यो भात खान।
‘यो तिहुन हो या भैंसीलाई खोले हो?’
थाल पर सर्कायो– देब्रे हातले श्रीदेवीको कपाल समात्यो, एउटा भद्दा गाली दियो र चिच्याउँदै सोध्यो– ‘तलाइँ भात पकाउन पनि आउँदैन हँ?’
फुत्किने चेष्टा गर्दै आक्रोशपूर्वक चिच्याउँदै श्रीदेवीले भनिन्– ‘घरमा नुन/भुटुन छरछैन। स्वास्नीसँग पैसा छ/छैन। आफूलाई केही मतलब छैन। अहिले घिच्ने बेला मात्रै मीठो खोज्ने? लाज लाग्दैन!’
‘बढी बोल्छेस्? बढी बोल्छेस्? तँ ….’ एक भद्दा गाली। गालामा तमाचा। र भातको थाली हुर्रिदै भित्तामा ठोकियो एकसाथ। कोठाभरि जूठो भात र त्यसका केही सिता श्रीदेवीको अनुहारमा पनि थिए।
श्रीदेवी अवाक् भइन्। आक्रोशित हुँदै निखिलको कपाल लुछ्दै भित्तामा पु¥याइदिइन्।
श्रीदेवी सहनशिला सुशीला थिइनन्। उनी प्रतिकार गर्न तयार थिइन्। रुँदै चिच्याउँदै। आफ्नो हक माग्न सक्थिन् उनी।
भित्तामा ठोकिएको निखिलभित्रको मर्दलाई चोट पुग्यो। ऊ सम्हालियो र फेरि श्रीदेवीलाई कपाल समातेर भुइँमा पछा¥यो।
(आफ्नो प्रेमकालीन युगमा श्रीदेवीको यहीं बाक्लो लामो केशमा लट्टु भएको थियो। भन्थ्यो– तिम्रो कपालमा बिछट्टै आकर्षण छ काली। जादू छ तिम्रो कपालमा। यस घटनामा कालो लामो केशको उपयोग सटिक ढङ्गले गर्न सकेकोले सो कुराको पुष्टि गरिदिएको छ निखिलले।)
भुइँमा पछारिएकी, गाली ओकल्दै गरेकी श्रीदेवीलाई बुटले बजा¥यो।
एक .. दुई… तीन…।
लामो चित्कार र श्रीदेवी बेहोस् भइन्।
वरपरका कोठामा बस्ने छिमेकी जम्मा भए। निखिललाई हप्काए। श्रीदेवीलाई हस्पिटल पु¥याए।
निखिलले बुटले हिर्काएर श्रीदेवीलाई होइन आफ्नै सन्तानलाई मारेको थियो, जुन श्रीदेवीको कोखमा हुर्कदै थियो।
पाठक महोदय, तपाइँको आरोप हुन सक्छ क्या ट्रेडिश्नल राइटर परेछ। ट्वान्टी फस्ट सेन्चुरीमा पनि डोमेस्टिक भ्वाइलेन्सको कुरा गर्दैछ, त्यो पनि एक झूर कथाको स्वरुपमा! तर के गर्नु पाठक महोदय, समय पोस्टमोर्डन भए पनि मेरो समाज र मेरा पात्रहरु दुबै मध्यकालीन बर्बरता भोग्न बाध्य हुनु परिरहेको सन्दर्भलाई बिर्सन गाह्रो भएको छ।
खैर, यो दुर्घटनापछि निखिल कोठामा आउन छाड्यो।
श्रीदेवीको कोखमा रहेको बच्चाको हत्या गर्नु फौजदारी अभियोग अपराध भए पनि, अस्पतालमा यस्तो हुनुको कारण निखिलको मारपिट बताइएन बरु भ¥याङमा चिप्लिएर भएको दुःखद दुर्घटना बताइयो।
रेस्क्यु टिमका छिमेकीहरुले दुर्घटनाको कारण बताइरहँदा श्रीदेवीले आफ्नो वैवाहिक जीवन सुरक्षित गर्न मौन स्वीकृति दिएकी थिइन्।
श्रीदेवीको ज्यान त जोगियो तर विवाह?
***
पात्र तीनको कथामा प्रवेश।
नामः रमेश।
कामः वैदेशिक रोजगार व्यवसायी। रियल स्टेट कारोबारी।
ठेगानाः श्रीदेवी बस्ने घरको माथिल्लो तला।
परिवारः एक श्रीमतीरएक छोरी।
स्थायी ठेगानाः गोप्यताको हकअन्तर्गत गोप्य राखिएको।
मिस्टर रमेश फलफूल किन्दा वा अन्य सामान किन्दा दुई वटा फरक–फरक ब्यागमा भरेर ल्याउँछन्।
एउटा श्रीदेवीका लागि र अर्को आफ्नी श्रीमतीका लागि।
राती कोठा फर्कदा आफ्नो कोठामा उक्लिनुभन्दा पहिला श्रीदेवीका कोठामा पस्थ्यो, पानी पिउँथ्यो, हाल खबर सोध्थ्यो। कोसेली दिन्थ्यो र भ¥याङ उक्लिन्थ्यो।
रमेशकी श्रीमती मिसेज रोमा पकाएको खानारतरकारीरनिकोमिठोसहित श्रीदेवीको कोठामा पस्थिन् यदाकदा।
रमेशको परिवारको सहयोगमा श्रीदेवी निको हुँदै गइन्।
मिसेज रोमा सहयोग गर्दै थिइन्– श्रीदेवीको अनुहारमा आफ्नै बहिनीको अनुहार देखेर। मानवीय नाता र महिलाका समस्या बुझेर।
मिस्टर रमेश भने श्रीदेवीको अनुहारमा भने धेरै थोक देख्थे।
जस्तो कि चढ्दै गएको लालिमा,
जस्तो कि एक एक्लो निरव जवानी,
जस्तो कि प्यासी रातको छटपटाहट अनि,
एउटा पासपोर्ट।
मिसेज रोमाको अनुपस्थितिमा एक दिन रमेशले श्रीदेवीसँग रात बिताए।
निखिलप्रतिको घृणा र रमेशप्रतिको आकर्षणमा बदलियो। निःसर्त स्वर्गीय सुखको अनुभूति फेरि गरिन् श्रीदेवीले।
आफ्ना चाहना, कामना र बैंसलाई उन्मुक्त बन्न दिइन् एक साँझ रमेशको अँगालोमा।
र यो क्रम चलिरह्यो।
शहरको कुनै चोकमा निखिललाई अर्कै कुनै सुन्दरीको साथमा देखेपछि श्रीदेवीले निखिललाई माया मारिसकेकी थिइन्। अब श्रीदेवीका हरेक आवश्यकता रमेश पूरा गर्दै गए। र तबसम्म पूरा गर्दै गए जबसम्म मिसेज रोमाले धम्की दिइनन्। मिस्टर रमेश र श्रीदेवी दुबैलाई। शहरबीच दुई/दुई वटा घडेरीकी मालिक्नी रिसाएपछि रमेशको रोमान्टिक बैंस धरापमा प¥यो र बिस्तारै त्यसमा बरफ जम्दै गयो।
रमेश अब उन्मुक्तिको बाटो खोज्न थाले।
एक रात अनायासै रमेशले सोधे– बिदेश जान्छ्यौ?
श्रीदेवीले रमेशलाई डिमलाइटमा एकटक नियालिन् र दृढतापूर्वक सोधिन्– कुन देश?
‘अरब! अरु कुन देश जान सक्छ्यौ र?’
‘ठिक छ जान्छु तर मसँग पैसा छैन।’
‘पैसाको टेन्सन नलेऊ। कमाएर मलाई तिरे भैहाल्यो नि!’
‘हुन्छ!’ श्रीदेवीको बोलीमा दृढता थियो।
त्यसको केही दिनपछि श्रीदेवीले बाआमाले दिएको एकमात्र दाइजो नागरिकता रमेशलाई थमाइन्। फोटोहरु दिइन् र फारममा दायाँ बायाँ ल्याप्चे लगाइन्।
पासपोर्ट बन्यो। श्रीदेवीको भिसा स्वीकृत भयो।
अरबको कुनै कम्पनीमा फिमेल क्लिनरका रुपमा जानु दुई दिनपूर्व श्रीदेवीले मिस्टर रमेशसँगै बिताइन्। दिनभरि आवश्यक किनमेल गरेर। रातभरि रमेशलाई प्यार गरेर।
(खैर, यो कुरा श्रीदेवी–रमेशको Personal matter को रुपमा गोप्य रहनुपथ्र्यो तर त्यसो हुन नसकेकोमा यो लेखक क्षमाप्रार्थी छ।)
श्रीदेवीको फ्लाइट टेक अफ भएपछि रमेश कोठमा फर्किए। मिसेज रोमा कोठामा अनुपस्थित थिइन्। रमेशले श्रीदेवीको बन्द कोठा खोले र एकटक नियाले एउटा पुरानो खाट। थोरै रोमाञ्चित भए त्यो साँझ सम्झेर।
खल्तीबाट मोबाइल झिके र कसैलाई डायल गरे। ‘एउटा पुरानो खाट बिक्रीमा छ, कसैलाई आवश्यक परे खबर गर्नू।’ त्यसपछि रमेशले कोठाको ढोका बन्द गरे।
(स्रोत : हल्करन्युज डट कम)