~राजेन्द्र चोथाले~
मलाई पनि सिकाऊ वाचा गरेर भुल्न
प्रत्येक ऋतु पिच्छे रङ फेरेर फुल्न
सक्दिन म सहन आँसुहरू कसैको
रुँदा अरूका आँखा खुसीहरू बटुल्न
सिक्नै सकिन मैले तिम्रो मीठो कला त्यो
बोकेर रात मनमा बिहानी जस्तै खुल्न
जानिन कहिल्यै पनि मैले त पानी बन्दै
पोखिए रङ जुन जुन त्यही रङसँग घुल्न
मैले त खाली एउटा माने सधैँ देउता
सकिन थुप्रै मूर्ति एउटै मुटुमा हुन
युवामञ्च २०६६ माघ
(स्रोत : रचनाकारको ब्लगबाट सभार)