~गोपालप्रसाद रिमाल~
“फूल झर्दछ, फुल्दछ
फुल्दछ, झर्दछ”
तर त्यो फूल जसले
छाती थापी फक्रेथ्यो
त्यो थोपालाई तृप्ति दिने
जब जगमा अमृत झरेथ्यो
के त्यो फूल फुल्यो?
“क्षण आउँछ, जान्छ
जान्छ, आउँछ”
तर त्यो क्षण जसलाई
भाग्यचक्रले विरही दिनमा
सात समुद्रपारिकी
परीलाई झैँ ल्यायो
के त्यो क्षण आयो?
स्वर्गयुगझैँ अङ्कित स्मृतिमा
त्यो क्षण कृष्णयुगझैँ फर्केन
अमृत-प्यालाझैँ पाएको त्यो फूल
हलाहलझैँ बारबार मिलेन !