कविता : हजुरको तिर्खा

~इश्वरवल्लभ~

किन अचेल तिर्खा लाग्छ
बिहान र त्यसको वरिपरिको परिवेशको
कतै बिहानमा तिमी त छैनौ,
कि किरण भएर अल्झिरहेको ,
कि भएर पानीजस्तो शिखरबाट छहरा झैँ झरिरहेको
होइन, सबै विडम्बना हुन्
म ढाँटिरहेको छु –
म तिमीलाई लेख्न खोज्छु
र भन्न खोज्छु तिर्खा लाग्छ
होइन सबै व्यर्थका कुरा हुन्
म तिमीलाई सोध्न खोज्छु
र छुन खोज्छु तिर्खा लाग्छ
यहाँ त हरेक दिन एउटा गहिरो नीलो वालुवा तैयार हुन्छ र पनि
-तिर्खा लाग्छ
तिर्खा कतै इतिहासमा पहिले पनि लागेको थियो भने
त्यसले पनि चखेवाजस्तो आकाश हेर्यो होला
आफै पानी बगिरहेर पनि कतै –
मेघबिन्दु पर्खिरह्यो होला,
देवदूतजस्तो देखिने ढुंगालाई – देवता भनेर गुहार्यो होला
हे ढुंगा,
हे देवदूत, किन यस्तो हुन्छ – तिर्खा लाग्छ
स्वरूपका व्यवधानहरु बन्छन् |
देवदूत पनि ढुंगाभन्दा कति फरक छ र ?
देवता पनि स्वरूपभन्दा कति फरक छ र ?
उ पनि उचाइदेखि नै तलैतला भरेंग र डबली ओर्लेर
– यहाँ आउँछ |
यहाँ कसलाई छुन ?
किन यहाँ भन्ने पनि प्रश्न निर्माण हुँदा हुन् |
तथापि उसको तिरोहणसित
मेरो र कसैको पनि अवस्था पनि मिल्न सक्छ |
उ झर्छ – शायद उसलाई पनि, तिर्खा लाग्छ
कतै यो त निर्वल छ भनिदिने त होइन, प्रियाले भन्ने भय छ |
कति सरस र सरल छ अँध्यारो म सम्झिन्छु
साँझ स्वतन्त्र छ र साँझमा तिर्खा लाग्छ
जून स्वतन्त्र छ र जूनमा तिर्खा लाग्छ
तर, बिर्को नखुलेको सिसी जस्तो साँझ
आवरण नखुलेको परिवेष्ठित जून
तैपनि लोभ्याउँछन् ’em पारदर्शी सरसतालाई
– म त्यसैले अल्झिन्छु
– खालि अल्झिन्छु |
मात्र अल्झिनु, उफ ! कति अल्झिनु,
युगहरु पनि बिते अल्झेर, त्रिशंकु अल्झेर
भाटभटेनी भई नछुने खुट्टाहरु भएर
खालि अल्झिनु |
मात्र अल्झिनु उफ् ! कति अल्झिनु |
कसैले आफैलाई सबैसित ढाँट्न टाँसेको अनुहार
खालि अल्झिनु |
ढुंगाका उज्याला पाइतालाहरू टेक्दै हिंड्ने हावाको पनि प्यास लाग्छ
साँच्चै नै कोहि कमजोर छ कि क्या हो
साँच्चै नै म कमजोर छु कि क्या हो
कहिले क्षितिजको पल्लो पाटा हेर्न मन लाग्छ |

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.