~स्वर्णिम गुरुङ~
सुदूर देशबाट …
तिमी फर्कि आउने प्रतिक्षामा
सुस्त सुस्त ढल्न लागेको
मेरो जोबनलाई
तिम्रा मनका आँखाले नियालेर
हेर त कान्छा..
कैंयौ वर्षहरू तिम्रै बाटो कुर्दा कुर्दै
व्याकुल भएर
मेरो जोबन यहाँ
आँखाका नुनिला पानीले गलाएर
अब त लत्रक्कै
ओइलिन लागेको देख्छौ।
तिमीले भने जस्तै ..
पराया देशमा आफ्नो शरिरको
पसिना र रगत
पैसासित साट्दै
कहिलेसम्म सुखद भविष्यको
सपनाहरू किन्छौ ?
तप्त बालुको त्यो उराठिलो शहरमा
गर्मीको भुङ्ग्रोले शरिरको
छाला डढाउदै, हाड गलाउँदै
तिमीले भोग्नै नपाउने जीवनमा
शितलताको मिथ्या अनुभूति
कहिलेसम्म लिन खोज्छौ ?
भो ! अब त फर्कि आउ कान्छा
फर्कि आउ..
मेरो मायाको छहारीमा सुस्ताउनलाई
हो ! तिमीले तिम्रो शरिरको
पसिना र रगत बेचेर
धेरै सुखहरू किनिसक्यौ यहाँ
बर्षाको झरिमा रूझ्दै भिज्दै
चुहुने छानुको त्यो सानू छाप्रोमा
ओभानो कुना खोज्दै
रात बिताउन पर्ने वाध्यता
अब त पट्क्कै छैन्।
न त तिम्रा फाटेका दौरामा
टालो टाल्नु..
न त मेरो चौबन्दीको
चुडिएको तुना सिउनु पर्ने
वाध्यता नै छ हामीलाई ।
तरै पनि, किन हो कान्छा
त्यो चुहुने छानुबाट
बर्खाको पानी तप्केर
निथ्रुक्कै भिजेका रातहरूमा
तिमी टुक्रूक्कै बसि मलाई
मायाले हेर्दा
मनमा उठेका सुखद अनुभूति
यो सुन्दर आरामदायी तले घरमा
कहाँ पाँउछु र म ?
दु:खका कठिन समयहरूमा
हामीले ओड्ने त्यही पुरानो
रातो कम्बल ओडेर एक्लै
निरव रातहरूमा तिमी
घरको सम्झनामा विव्हल भई
तप तप आँसु चुहाँदै
कोल्टे फेरि फेरि
रात काटेको कल्पना गर्दा
यो नरम विछ्यौनामा कहाँ
आनन्दले निदाउन सक्छु र म?
म सुन्दर सुकिलो आधुनिक वस्त्रमा
सजिएको कल्पना गर्दा
जति आत्मा सन्तुष्टि तिमी पाउछौ,
त्यति नै आत्मपिडा..
तिम्रा हातका ठेलाहरू,
तिम्रा फुल्न लागेका केश र
तिम्रो थाकेको निस्तेज मुहारको
कल्पना गर्दा पाउछु म।
तिमी बिना एक्लै खाएका
स्वादिष्ट परिकारहरूमा
तिमीसितै बसि खाएको
एक छाक सिस्नु ढेडोको
मीठो स्वाद
कहाँ पाउछु र म ?
यसैले कान्छा..
भौतिक सुखको चाहानामा
यदि हाम्रा खुसीहरू..
वियोगको बलिवेदिमा मुर्छा पर्छ भने
सपनाहरू साकार गर्नलाई
यदि तिमीले आफ्नो श्वासहरू
दुर देशमा बन्दकी राख्न पर्छ भने,
भो ! चाहिन्दैन मलाई
यस्ता खोक्रो सुखहरू
चाहिन्दैन मलाई यति लामो
वियोगको कहालिलाग्दो
दिन र रातहरू..यसैले
अब त फर्कि आउ कान्छा
मेरो मायाको छहारीमा सुस्ताउनलाई
-अक्टोबर ५, २०१८
(स्रोत : कम्युनिष्ट अन्लाईन डट कम)