कविता : इतिहासको रिभर्स

~बलराम तिमिल्सिना~

बुढी गाई त पहिलै थियो
दौरा सुरुवाल पनि फर्कियो
सारी चोलो फर्कियो
अव विस्तारै फर्कन सक्छ
‘श्रीमान गम्भीर’
मस्कदै मस्कदै नागार्जुनबाट
ओर्लन सक्छ निर्वासित अतित !
समय गतिशील छ
पछाडि फर्कनु पनि गति हो
नपत्याए काकूलाई सोध !

घघडी वेला वेला उल्टो पनि घुम्छ
इतिहासले अश्लिल मजाक गर्छ
यस्तै मजाक हिजो
रुसमा भएथ्यो
चीनमा भएथ्यो
थुप्रै थुप्रै देशमा भएथ्यो
नेपालमा नहुने भन्ने के छ र ?

धोती कुर्ता या भोटो कछाड
हिमाली बख्खु या हाकुपटासी
तिमीहरू लुगा हौ पोशाक हैनौ
बढीमा प्रजा-पोशाक
प्रजा पोशाक कसरी हुन्छ राष्ट्रिय !

देशको स्क्रिनमा क्रमश
आइरहेछन्-
पञ्चायत बोकेर महेन्द्र
मुलुकी ऐन बोकेर जङ्ग बहादुर
तरवार बोकेर पृथ्वि नारायण
रामायण र वधुशिक्षा बोकेर भानुभक्त
वर्तमानलाई कुल्चदै
आइरहेछ अतित !

यसरी भैरहेछ डिस्प्लेमा
इतिहासको भयानक रिभर्स !

यौटा ऐतिहासिक संयोग छ-
ग्रेट फरवार्ड भन्नेहरूले नै
थिचिरहेछन् जोड जोडले
यो रिभर्सको वटम

२०७५|०५|०५
ढल्को

(स्रोत : म्युनिष्ट अन्लाईन डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.