कविता : सीमाभञ्जक सोच !

~बलराम तिमिल्सिना~

मात्र दुई वटा विकल्प दिइयो-
कि जित्न तयार हौ र लड्न आऊ
कि हार्न तयार हौ र हात उठाऊ
जिते विजेताको माला लगाउँछौ फूलको
हारे हरुवाको माला लगाउँछौ फलामको
छिटो छिटो रोज /कुनै यौटा रोज
यो दुईमा एक रोज्ने विकल्प
मलाई पटक्कै मन परेन
अस्वीकृतिसूचक मुन्टो हल्लाएँ मैले !

अर्को पटक
फेरि दुई वटै विकल्प दिइयो
झण्डै झण्डै उस्तै –
कि शासक वन्न तयार होऊ र शासन गर
कि शासित बन्न तयार होऊ र शासन खप
शासक बने सत्तामा बस र मोज गर
शासित बने सडकमा बस र मोज हेर
आजै रोज / अहिलै रोज
यसरी फेरी तोक आदेश आयो
मैले यो आदेश नाइँ भनेर अस्वीकार गरें !

फेरि उस्तै उस्तै कुरा आयो –
सक्छौ पैसा गन र मलाई किन
सक्दैनौ पैसा थाप र तिमी बिक
किन्न सक्यौ भने भोग मेरो सवै कुरा
कि म किन्छु तिमीलाई र भोग्छु
आहा ! कति आकर्षक कुरा हेर त
लु फटाफट रोज / कुनै यौटा रोज
यसरी फकाइयो मलाई
धेरै पटक सोचेपछि
मैले यो आदेश पनि अस्वीकार गरें !

हिजो आज म
उनीहरूको कालो सूचीमा परेको छु !

२०७५|०४|०२
ढल्को

(स्रोत : म्युनिष्ट अन्लाईन डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.