~मिलन मल्ल~
खोइ हिजो तिमी कहाँ थियौ ?
तिमिलाई हामीले कहाँ खोजेनौ ?
गल्ली गल्ली खोज्यौं,
भट्टी भट्टी खोज्यौं,
तिमीलाई सुन्नेहरुको पछि लाग्दै
कहिले पाटन तिर,
तिमीलाई देख्नेहरुको भर पर्दै
कहिले त्रीपुरेश्वर तिर,
कहिले बानेश्वरको चोक तिर,
कहिले बसन्तपुरको फ्रीक स्ट्रीट तिर,
अनि ठमेलको घरघरमा,
भेटियौ तिमी बल्ल बल्ल
थियो तिम्रो बेहाल अबस्था,
साथ लियौं सहयोग गर्यौं
तिम्रै अस्तित्वको लागि,
तिम्रै स्याहार सुसार र संभारको लागि,
ताहाचल तिर तिमी बरालिंदा,
लैनचौर तिर तिमी भौंतारिंदा
कमि थिएन हाम्रो साथको तिमीलार्इ,
बोकेकै हो तिमीलाई अहिलेसम्म,
केवल तिम्रो भलोको लागि
तर, तर तिम्रो सांघुरो सोचाइ
गैरी धाराको तिम्रो घर जस्तै१
परिबर्तन भएन तिम्रो दृष्टिकोण
हामिले हुंदैन भनेकै थियौं,
तिम्रो रोइलो देखेर दया लाग्यो,
तिमी खरानिको डोरी बाट्न लाग्दै गर्दा
हामिले हुंदैन भनेकै हो,
फेरि तिमी भुस लिएर डोरी बाट्न बस्दै गर्दा
हामिले फेरि हुंदैन भनेकै हो,
ओ हो, हिजो त झन तिमीले
जात्रा देखायौ हाँडिगाउँ जानू नपर्ने गरी,
लाज पचायौ, सर्वाङ्ग भयौ,
बालुवाको महल बनाउँछु भन्यौ
ठिक छ तिमी अब आफ्नो खुसी गर
तिमीले जान्या र सकेको गर
तर बिडम्बना अब हामी तिमीलाई
साथ लिएर हिड्न सक्दैनौ,
धिक्कार छ तिमिलाई
बबुरो धिक्कार छ।
(स्रोत : कम्युनिष्ट अन्लाईन डट कम)