~आन्विका गिरी~
पात्र परिचय:
१. लिंग – महिला
उमेर – पच्चिस वर्ष
शिक्षा – स्नातकोत्तर
पेशा – विध्यार्थी
पहिरन – साधारण आधुनिक पहिरन पाइन्ट र टि-सर्ट
कपाल छोटो, रंग गोरो, स्वाभिमानी विचारधारा
नाम थाहा नभएपनि हुन्छ।
२. लिंग – पुरुष
उमेर – छब्विस वर्ष
शिक्षा – स्नातकोत्तर
पेशा – जागिरे
कपाल रंगाएको खैरो, रंग गहुँगोरो। नाम थाहा नभएपनि
हुन्छ।
शुरु
पहिलो दिन: केटाकेटी विच परिचय त्यसपछि सामान्य बोलचाल भयो। केटी लजाएर लुकिलुकी केटालाई हेरिरहेको थिई तर केटो सिधा नजरले एकोहोरो हेरेरहेको थियो।
दोस्रो दिन: केटा र केटीबिच साँझको समयमा भेटघाट भयो। केटा बोल्यो – कति पढ्दैछौ? ……………….ओहो! धेरै पढ्नुपर्छ, केहि बन्नुपर्छ, स्वाभिमानी हुनुपर्छ। जमाना कहाँबाट कहाँ पुगिसक्यो। तिमी पनि अघि बढ्नुपर्छ।
केटी केही बोलिन, सुनी र केटाबाट प्रभावित भई।
तेस्रो दिन: तिमीलाई यो छोटो कपाल असाध्यै सुहाएको छ भन्दै केटाले गफ शुरु गर्यो। लामो कपाल झन्झट हो अहिलेको ब्यस्त समयमा। अहिले महिलाहरुले श्रृंगारमा हैन ब्यक्तित्व विकासमा जोड दिनुपर्छ। श्रृंगारले महिलाहरुलाई पुतली झैं बनाएको छ। श्रृंगार त त्यस्ता महिलाले गर्छन जो अरुमाथि (पुरुष) निर्भर रहन चाहन्छन् र श्रृंगारलाई सिंढी बनाएर चढ्छन्। जो महिला स्वाभिमानी हुन खोज्छे र उसले श्रृंगारमा हैन ब्यक्तित्व विकासमा जोड दिन्छे। तिमीले श्रृंगारलाई महत्व नदिएको देख्दा मलाई सार्है खुसी लाग्यो। म तिम्रो यो सादा तर सुन्दर ब्यक्तित्वको प्रंशशा गर्छु।
केटी केटाका कुरा सुनेर दंग परी। उसको विचारसँग कुनै एउटा केटा साथीको विचार मिलेको देखेर।
चौथोदिन: भेट हुने बित्तिकै केटाले भन्यो – तिमी किन कतै जागिर खोज्दैनौ? केटीहरुको यहि बानी खराब, जागिर गर्नु छैन, लोग्नेले पालिहाल्छ भन्ने सोच्छन्। म त मेरी स्वास्नीलाई मरे पाल्दिन, आँफैले आँफैलाई पाल्नुपर्छ। एउटा राम्रो कार्यलायले मान्छे खोजिरहेको छ, तिमी त्यसमा try गर। मलाई विश्वाश छ, त्यो काम तिमीले नै पाउनेछौ।
केटाले केटीलाई आँफै अफिस लिएर गयो र केटीले गर्नुपर्ने सबै काम कुरा सिकाएर केटीलाई घरसम्म छाडिदियो।
पाँचौदिन: केटा आयो, हालखबर सोध्यो। यो पाइन्टमा तिमीलाई खुब सुहाएको छ। पाइन्ट लगाउन पनि सजिलो हुन्छ। फेरी हरेक मान्छे जस्तै आइमाइ मान्छे पनि जे इच्क्षा लाग्छ त्यो लाउन स्वतन्त्र हुन्छे। आइमाइले चाँहि सधैं बाह्र हातको सारी नै बेर्नुपर्छ भन्ने छैन नि ! जे होस तिमीलाई पाइन्ट सुहाउँछ, तिमी सधैं पाइन्ट लाऊ है, केटाले भनेको कुरा केटीले सुनिरही।
छैठौदिन: केटाको औंलामा ब्यान्डेज थियो। घाउ नभएको हातमा एउटा झोला थियो। केटा र केटीको बाटोमा भेट भयो।
केटीले अत्तालिएर सोधी – हातमा के भयो?
केटाले मुस्कराएर जवाफ दियो – चुलेसीले हात काट्यो, बिहान तरकारी काट्दा। औषधी लाएको छु ठिक भइहाल्छ नी!
केटीले भनी – चुलेसी चलाउन नजान्नेले किन चलाएको त?
केटाले भन्यो – अरे मलाई चुलेसी चलाउन किन आउँदैन? त्यो त भर्खर धार लगाएको चुलेसी थियो, फेरी मेरो ध्यान पनि अन्तै थियो, त्यहि भएर पो काटेको त। म सधैं खाना बनाउँछु, मलाई राम्रो खाना बनाउन आउँछ। के सोचेको तिमीले म त घरको सब कामगर्छु, कुचो लाउनेदेखि लुगा धुनेसम्म मलाई यो कुरामा कुनै लाज लाग्दैन बरु गर्व लाग्छ। मान्छेहरु यो केटाको काम हो केटीको काम भन्छन् तर म त काम केवल मान्छेको हुन्छ भन्ने सोच्छु। कोहि यसलाई मेरो नामर्दिपन भन्छन् भने भन्दैगरुन्।
सातौंदिन: केटाले अर्की एउटी केटी लिएर आयो र साथी भनि परिचय गरायो। एकछिनको गफगाफपछि केटाले भन्यो, “मानिसहरु अहिले जमानामा आएर पनि केटा र केटीलाई सँगै देख्ने बित्तिकै नानाथरी कुरा काट्न थाल्छन्। मलाई तिनिहरुको वास्ता छैन म त केटा र केटी श्रीमान् र श्रीमती, प्रेमि-प्रेमिका, दाजु-बहिनी, बाउ-छोरी बाहेकको नाता मित्रता पनि हुनसक्छ भन्ने विचार राख्छु। मेरो केटा मात्र हैन केटी पनि साथी छन्।
आठौंदिन: “ल बधाइ छ, अब मलाई लड्डु खुवाउँ” केटाले परबाट नै भन्यो।
“किन र? के खुसीमा?” केटिले सोधी।
“तिमीले जागिर पायौ त्यही खुसीमा नि”, केटाले भन्यो।
“मलाई अहिले अलि अप्ठेरो लागिरहेको छ। अफिसमा त साँझ सात बजेसम्म काम गर्नुपर्ने रहेछ, म छोरी मान्छे, मान्छेले कुरा काट्लान् रातबिरात……” केटाले केटीलाई बिचमै रोकेर भन्यो, “यो २१औं शताब्दि हो। नबिराउनु नडराउनु। आफ्नो काम भएपछि केको रातबिरात? लोग्ने मान्छेले चाँही रक्सी धोकेर रातको एक बजे आएपनि केही नहुने आइमाइ मान्छेले चाँही काम गरेर सात बजे फर्कंदा कुरा काट्ने? त्यस्ता कुरा काट्ने मान्छेलाई त मुख भरीको जवाफ पो दिनुपर्छ। केटाको कुरा सुनेर केटी ढुक्क भई।
नवौदिन: केटा गंभिर थियो। आज उसले आफ्नो सबभन्दा मनपर्ने पोशाक लगायो। अत्तर छर्क्यो। बिहान भरी ऐना नै हेरिरह्यो। केटाले केटीलाई फोन गर्यो। केटाले केटीलाई एउटा पार्कमा भेट्यो र आफूले केटीलाई असाध्यै मन पराएको, प्रेम गर्ने गरेको र भविष्यमा विवाहगर्न चाहेको सबै एकैचोटी बतायो। केटीले पनि केटाको बिचारबाट आफू प्रभावित भएको र उसको प्रेम स्विकार गरेको वताई।
अब केटा र केटी प्रेमी प्रेमीका भए।
मध्य
पहिलोदिन: मिठा मिठा कुरा भए। प्रेमी प्रेमीका पार्कतिर गए। फिल्म हलतिर गए। दिन रमाइलो भयो।
दोस्रोदिन: “केटीहरुलाई त कपाल पालेकै सुहाउँछ, गर गहना लाएकै राम्रो देखिन्छ, श्रृंगारमै नारी खुल्दछे। पहिरनमा पनि केटीहरु सतर्क हुनुपर्छ” प्रेमीले भन्यो।
प्रेमिकाले शशंकित भएर प्रेमीको आँखामा हेरी। हत्तनपत्त प्रेमीले भन्यो, “मेरी आमा, गाउँका मान्छेले कुरा काट्छन्। एकदिन हाम्रो बिवाह हुन्छ। तिमीले आमासँग मिलेर बस्न पनि त आमाको मन राख्नै पर्यो नि। त्यहि भएर तिमी अब अलिक व्यवहारिक वन, आफूमा change ल्याऊ।”
केटीले खै के सोची, ऊ यो कुरामा सम्झौतागर्न तयार भई।
तेस्रोदिन: प्रेमी र प्रेमीकाको अचानक बजारमा भेट भयो। प्रेमिका एउटा अर्कै केटासँग थिई। कुरा भएन उनीहरु छुट्टिहाले। बेलुका प्रेमीले प्रेमिकालाई फोन गर्यो। प्रेमिकाको हालखबर, चिया, खाजा, खाना खाए नखाएको केही सोधेन सिधै बजारमा देखिको केटाबारे सोध्यो। प्रेमिको आवाजले ऊ त्यो केटाको बारेमा जान्न हतारिएको संकेत गर्थ्यो। प्रेमिकाको मनमा चीसो पस्यो तर पनि जवाफ दिन थाली तर उसले जवाफ दिनु अगाडि नै प्रेमी बोल्यो, “सुन, अब तिमी मेरी मात्र हौ, तिमी अरु कोही केटासँग बोलेको हाँसेको हिडेको मन पर्दैन। त्यसैले अब आइन्दा मैले तिमीलाई अरु कोही केटासँग बोलेको हिंडेको देखें भने ठिक हुँदैन।”
प्रेमिकाले पनि सोधी, “तिमी पनि अब मात्र मेरो हौ। के तिमी अब अरु कोही केटीसँग बोल्दैनौ?” प्रेमी हाँस्यो र भन्यो, “मेरो कुरा अलग हो, म छोरामान्छे हुँ।” प्रेमिको स्वाभिमानले उसलाई घचेट्यो र उसले भनी, “न म तिमीलाई मेरो सम्पति सोच्छु न तिमी मलाई यो सोच्ने भूल गर भन्ने चाहन्छु। म कोसँग बोल्नुपर्छ, कोसँग हिड्नुपर्छ यो कुरा म आँफै निर्णय गर्छु। तर अँ एउटा कुरा दिउँसो तिमीले मसँग देखेको केटा मेरो दाजु हो र म मेरो दाजुसँग हिडिरहेकी थिएँ।” यति भनेर प्रेमिकाले फोन राखिदिई।
चौथोदिन: प्रेमीले प्रेमिकालाई फूल दियो र माफी माग्यो। प्रेमीका एकछिन रिसाइ तर प्रेमीले आफूले उसलाई धेरै माया गर्ने गरेको हुनाले उसमा इर्ष्या उत्पन्न भएको भनेर भनेपछि प्रेमिका हाँसी।
पाँचौदिन: अफिसले प्रेमिकाको बढुवा गर्यो। प्रेमीभन्दा प्रेमिकामाथि पुगी। समारोहमा सबले प्रेमिकालाई बधाइ र हौसला दिए। प्रशंशा गरे। प्रेमी समारोहमा उपस्थित थिएन। त्यो दिन प्रेमीले अफिसमा बिदा लिएर कोठा थुनेर डेरामानै बितायो।
छैठौंदिन: प्रेमिकाले प्रेमीको अनुपस्थितिबारे सोधी, प्रेमीले कारणमा व्यस्तता जनायो। “अब त तिमीलाई मैले ‘म्याडम’ पो भन्नुपर्ने भयो हैन त?” उपहाँसको स्वरमा प्रेमीले भन्यो।
सातौंदिन: प्रेमीले आफूलाई घरवाट बिवाहको दवाव आइरहेको र आफूले पनि बिवाहगर्ने सोच बनाएको कुरा प्रेमिकालाई बतायो। प्रेमीका पनि तयार भई। रातो सारी, गरगहनाले झकिझकाउ, ओठमा लाली, आँखामा गाजल, हातमा चुरा, पाउमा पाउजु, प्रेमीकाले मानौं चोला नै फेरेको थिई। बिवाह भयो। अब उनिहरु श्रीमान र श्रीमति भए।
अन्त्य
पहिलोदिन: बेहुला बेहुली पलङ्गमा सँगै बसेका थिए। बेहुलाले बेहुलीको घुम्टो उठाएर, चिउँडो समाएर अनुहार हेरेन, सायद सधैं हेरिरहेको मुहार भएर पनि होला। “अब तिमी मेरी श्रीमती र कसैकी बुहारी भएकी छौ। तिमीले आफ्नो सँस्कृति मानमर्यादा सबैकुराको पालना गर्नुपर्छ, एउटी कुशल श्रीमती बन्ने नै अब तिम्रो एकमात्र उदेश्य हुनेछ। मैले तिमीलाई सम्झाइ राख्नु नपरोस” सैनिकका जवानलाई प्रशिक्षण दिएजस्तो गरेर बेहुलाले बत्ति निभाइदियो।
दोस्रोदिन: बिहानको खाना श्रीमतीले नै पकाई। खाना खाइवरी दुवैजना आ-आफ्नो कार्यस्थलतिर गए। बेलुका लगभग उहि समयमा फर्किए तर नापेर ठिक्क भन्ने हो भने श्रीमती नै अघि फर्कि। श्रीमतिले नै चिया वनाई तर खाना पकाउने पालो श्रीमानको भनेर भनी।
“ल के कुरा गरेको तिमीले स्वास्नी हुँदाहुँदै मैले खाना पकाउने, यस्तो भयो भने त तिमीसँग बिहे गरेको के फाइदा?” श्रीमानले हाँस्दै भन्यो। श्रीमती छक्क परी। चुप लागौं कि भन्ने सोची तर बोली, “तर तिमी त खाना आफै बनाउँछु भन्थ्यौ त”
“ए त्यो त एक्लै हुँदा, गृहमन्त्री पनि सम्हाल्नै परो नि तर अब त म प्रधानमन्त्री तिमी गृहमन्त्री। अरुले सुने भने लाजै हुन्छ, स्वास्नी हुँदाहुदैँ लोग्नेले खाना बनाउने, वरपरको डेरावालको अगाडि बेइज्जत नगर है” श्रीमानले हाँसी हाँसी जिस्किदै आफ्नो कुरा भन्यो।
“बिवाह अगाडि त भनेनौ नि यो कुरा” श्रीमतीले गम्भिर भएर कडा स्वरमा भनि।
“ए! त्यतिबेलाको त कुरा नै अर्को थियो” छाती फूलाउँदै त्यति भनेर रिमोट हातमा लिएर श्रीमान टि.भी. हेर्न थाल्यो।
तेस्रोदिन: श्रीमती अफिस जान ठिक्क परी। श्रीमानले सोध्यो, “कँहा जान लागेकी तिमी?”
श्रीमतीले भनी, “अफिस। किन तिमी जाँदैनौ?”
श्रीमानले भन्यो, “हैन म जान्छु तर तिमी आज अफिस नजाऊ। आज मेरा साथीहरु तिमीलाई हेर्न आउँदैछन्।”
श्रीमतीले भनी, “तिम्रो साथीहरुलाई बिदाको दिन बोलाऊ नत्र साँझमा बोलाऊ। म तिम्रो साथीहरुको लागि अफिस छाड्न त सक्तिन।”
श्रीमानले थप्यो, “साथीहरु साँझमा नै आउँछन् तर म चाहन्छु दिउँसो तिमी व्युटिपार्लर जाऊ, कपाल वनाऊ, आइव्रो बनाऊ, मेकअप गरेर ठिक्क परेर बस, साथीहरुले पनि भनुन् वाह! अँ सारी नै लगाउ है, बरु लेउ यो पैसा। दिउँसो सारी पनि किन्नु”
श्रीमतीले तुरुन्त प्रतिक्रिया दिई, “ओ! के म गुडिया हुँ? चिटिक्क परेर बस्ने? कि म राम्री छैन र मैले मेकअप गर्नुपर्ने अँ बरु यसो गरौं म पनि मेरा साथीहरुलाई बोलाउँछु। आऊ तिमी पनि अफिस नजाऊ। पार्लर जाऊँ, दार्ही जुंगा बनाऊ, फेसियल, मसाज गर। राम्रो बन। मेरा साथीहरुले पनि भनुन् वाह!बेलुका सवै मिलेर गेटटुगेदर गरौं। रमाइलै हुन्छ। ए! बरु तिमी पनि दौरा, सुरुवाल नै लगाऊ, अब आज एकदिनमा त सिलाइ हुँदैन, भाडामा कँहा पाइन्छ तिमीलाई थाहा नहोला। त्यहि भएर दिउँसोभर त खोज्न लाग्छ नै। अँ बरु मलाई सारी किन्न दिएको पैसा तिमीलाई नै काम लाग्छ। त्यहि पैसाले तिमी भाडाको दौरा सुरुवाल किन्नु। कस्तो हुन्छ? यसो गर्दा।” श्रीमतीले यति धेरै कुरा एकछिन पनि नरोकिकन भनि अनि आफ्नो व्याग बोकेर अफिसतिर लागी। श्रीमान रिसायो।
चौथोदिन: श्रीमानले पाँचसात जोर लुगा श्रीमतीका अगाडी राखिदियो, “यो मेरो लुगा धोइदेऊ त”
“मेरो टाउको दुखेको छ। फेरी तिम्रो पनि आज विदा नै हो”
“म क्रिकेट हेर्छु। सिटामोल खाऊ न, त्यो जाबो टाउको दुखेको त निको भइहाल्छ नि। तिमी आइमाईहरुले त्यो जाबो टाउको दुखेको त पचाइ हाल्छौ नि”
“तिमी त आफ्नो लुगा आफै धुने मान्छे हैनौ?”
“त्यो त विवाह अगाडि अब त तिमी हुँदाहुँदै कँहा?”
“पल्लो कोठाको रबीजी त बिवाहपछि पनि आफै लुगा धुन्छन् त”
“उ त जोइटिंग्रे हो नि त!”
“उसो भए तिमीले मलाई पोइटिंग्रे बनाउन खोजेको?”
“हैन कर्तव्य परायण श्रीमती”
पाचौंदिन: रातको नौ बजिसकेको थियो। श्रीमान सोफामा बसेर टि.भी. हेरिरहेको थियो। श्रीमती आई श्रीमानले घडि हेर्यो र आँखा तर्यो।
श्रीमानले चर्को स्वरमा भन्यो, “यहि हो घर आउने समय? कँहा थियौ? के गर्दै थियौ? घरमा पनि मान्छे छन् तिमीलाई थाहा छ कि छैन? मलाई भोक लागिसक्यो, घरमा खाना पाकेको छैन। रात बिरात घर आएर वरपरका मान्छेले नानाथरीका कुरा गर्छन्। आइमाइ मान्छे भएर रात बिरातको त ख्याल राख्नुपर्छ।”
“मेरो अफिसमा मिटिङ्ग थियो। यो कुरा त तिमीलाई पनि थाहा थियो। तिम्रो त चार बजे नै विदा भा’को हैन। भोक लागेको भए खान पकाएको भए भैहाल्थ्यो नि। भान्सामा सबथोक छ। म आफ्नो काममा थिएँ, घुम्न गएर ढिलो आएको हैन, र घुमेरै ढिलो भएको भए पनि तिमीसँग म डराउनु पर्ने केहि छैन। तिमी रातमा घर आउँदा मैले कहिल्यै सोधिन त”
“मेरो कुरा अलग हो”
“किन? तिमी फलामको मान्छे हौ?”
“हैन तर म लोग्ने मान्छे हुँ”
“त्यही त मान्छे न हौ भगवान त होइन।”
“जेहोस तिमी जागिरबाट राजिनामा देऊ। यसरी राती राती आइमाइ मान्छे हिंडेको राम्रो होइन म कमाई हाल्छु। म पाल्छु तिमीलाई। भोलीबाट तिमी अफिस जानुपर्दैन”
श्रीमती तत्काल बोलिन। फोनको घण्टि वज्छ। श्रीमतीले फोन उठाई। “ए, निकिताजी, …… अँ मैले त्यो फाइल यही लयाए… ए भोली अफिसमा नै छलफल गरौला त्यसबारेमा… ल त, शुभरात्री” श्रीमतीले फोन राखी।
छैँठौदिन: बिदाको दिन। दुवै घरमा टि.भी. हेरिरहेका। रिमोट श्रीमानले लिएको छ।
“रिमोट देउ त। एकछिन sports channel हेरौं” श्रीमतीले भनी।
“के आइमाइ भएर sports हेर्छौ, ल यो हेर(अर्को च्यानल लगाइदिएर) यसमा तिमीलाई काम लाग्ने सिरियलहरु दिन्छ। सब आइमाइ यहि त हेर्छन् नि। तिमी यसो रामायण महाभारत हेर्ने गर। त्यसवाट तिमीले थाहा पाउँछौ आइमाइको काम कर्तव्य अधिकार।”
सातौंदिन: घरमा श्रीमानका आफन्तहरु छन्। श्रीमती भान्छामा खाजा बनाउदैछे।
“मलाई आफन्तको अगाडि तिमी नभन्नु, हजुर भन्नु”
“किन?” श्रीमतीले आश्चर्य चकित भएर सोधी।
“नत्र श्रीमतीले हेपेर राखेकी रहिछ भन्छन् क्या”
“ खै त अस्ति मेरो आफन्तको अगाडी तिमीले मलाई तँ नै भन्दा पनि कसैले तिमीले मलाई हेप्छौ भनेर भनेन त! फेरी………..”
“उफ! म लोग्नेमान्छे, तिमी आइमाइ। कत्ति चोटी भन्नु। एकछिन हजुर भन्दा तिमी सानी त हुन्नौ नि।“
श्रीमतीले चिया खाजा लिएर गई। आफन्तका अगाडिराखी। “ओहो! पानी ल्याउन बिर्सेछु, यसो गरन भित्र गएर पानी ल्याउन” श्रीमतीले आफन्तहरुलाई खाजा दिदै भनी।
आठौंदिन: अफिसबाट फर्केर सोफामा बस्दै छेउमा उभिएकी श्रीमतीलाई श्रीमानले भन्यो, “सब साथीहरु बाउ भइसके। आफ्नो भने सुरसार नै छैन। तिमी एकचोटी डाक्टरकोमा जाऊ न”
“मलाई पनि बच्चाको चाहना छ तर मैले गर्दा नै बच्चा नभएको भन्ने त हैन नि। भोली दुवैजना गएर डाक्टरलाई देखाउनुपर्छ।”
“म किन जाने? ममा के खराबी छ?”
“अनी ममा चाँहि के कमी छ?”
“ तिमी त आइमाइ मान्छे?”
“तिमी पनि त मान्छे नै हौ।
नवौदिन: दुवैजना डाक्टरकोमा जान्छन्।
दशौँदिन: श्रीमान् अफसवाट श्रीमती पहिला नै आइसकेको हुन्छे। श्रीमानको मुहारमा विजयी मुस्कान नाचिरहेको थियो।
“आज म एकदम खुसी छु, मेरो बढुवा भयो” श्रीमानले कोट फुकाल्दै भन्यो।
“बधाइ छ। के के मुल्याङ्कन गरेछ अफसले?”
“समयमा अफिस पुग्ने, अफिसमा पुरा समय दिने, बिदा नलिने, इमान्दार आदी आदी”
“तर मलाई त जागिरबाट निकालियो”
“के भयो त! म कमाइहाल्छु नि। तिम्रो काम नै के छ र, मिठो मिठो पकाउ, बुढालाई खुवाउ, अफिस पठाउ। दिउँसो घर सफा राख, घर सजाउ। म साँझमा अफिसवाट आउँछु चिया खाजा खुवाउ। तिमीलाई त त्यसैपनि कामै काम”
“तिमीलाई थाहा छ, मलाई अफिस समयमा नपुग्ने, अफिसमा पुरा समय दिन नसक्ने, जहिले पनि बिदा माग्ने भएकोले जागिरबाट निकालियो।“
एघारौदिन: श्रीमानले सिधै भन्यो, “म दोस्रो बिवाह गर्न चाहन्छु”
“किन?”
“मलाई बच्चा चाहियो। म बाउ बन्न चाहन्छु”
“म पनि आमा बन्न चाहन्छु र म पनि दोस्रो बिवाह गर्छु”
“मतलब?”
“मतलब, आज म डाक्टरकोमा गएकी थिएँ।ल यी यो Report बच्चा जन्माउन नसक्ने कमी तिमीमा छ ममा हैन”
बार्हौँदिन: श्रीमान आफ्ना साथीहरुसँग घरमा गफ गरिरहेको थियो।
पहिलो साथी, “यार! बच्चाको पास्नी कहिले खुवाउँछस्?”
श्रीमान्, “यार आफ्नो भाग्यमा बच्चा रहेनछ”
दोस्रो साथी, “के भनेको त्यस्तो?”
श्रीमान, “हेर न मेरी श्रीमती बच्चा पाउन सक्दिन। अव बच्चाकै लागि दोस्रो विवाह के गर्नु? गरु एउटा बच्चा नै काख लिनुपर्ला”
तेस्रो साथी, “चेक गराएको? कि कतै तँ मा नै पो….?”
श्रीमान, “कँहा यार ममा, डाक्टरहरु पनि जे पनि भन्छन्। म त लोग्नेमान्छे हो नी”
श्रीमती सबैकुरा सुनिरहेकी थिई।
तेर्हौदिन: “ यो समबन्ध विच्छेदको कागजपत्र, पढेर साइन गरिदिनु। म तिमीलाई छाड्दैछु” श्रीमतीले कडा स्वरमा भनी।
“ के? किन joke गरेको?”
“यो joke हैन, यो साँचो कुरा हो”
“लोग्नेमान्छे बिना आइमाइ एकपल पनि बाँच्न सक्दिन। के गर्छौ तिमी म बिना”
“म आफ्नो जीवनको आफै मालिक हुँ। लोगनेमान्छे विना आइमाइ मान्छे बाँच्न सक्छे कि सक्दिन लोग्नेले छाडिदिएकी तिम्री आमालाई सोध।” श्रीमती व्याग बोकेर निस्की।
*समाप्त*
(स्रोत: तन्नेरी डट कम – Issue 43 – Baisakh, 2065)