~आर.बि. निश्चल~
अस्तित्व -यात्राको एक यात्री म
एकैछिन पृथ्वी ग्रहको भ्रमण गरूँ भनी
मान्छे रूपमा अवतरित भएँ
नाम, जात, भाषा, कर्म अनि धर्म
सबै- सबै मान्छेले नै तोकिदियो
एकैछिन विस्मृतिमा हराएको म
आफू जन्मेको दर्शनको साँचो अनुसार ढालिँदै गएँ
जीवनबाट भने पर-पर फालिँदै गएँ ।
आफू कसैबाट नियन्त्रित भएजस्तो लाग्यो
कसैले चलाइरहेछ, हल्लाइरहेछ मलाई
झसङ्ग भएँ म – कसैले खुट्टा हल्लाइरहेछ र म हल्लिरहेछु !
चिन्तनमा डुबेँ-अहो ! यस पृथ्वीमा
थुप्रै-थुप्रै दर्शन-प्राणी आ- आफ्नो अस्तित्व जोगाउन
संघर्षरत छन्
र, म जन्मिएको दर्शन पनि !
सारा ध्यान म जन्मिएको दर्शनमा केन्द्रित गरेँ
अहो! कस्तो कुरूप छ यसको अनुहार
अनि कति रोगी छन् यसका पैताला !
उस्तै- उस्तै नाक, आँखा र व्यवहार भएका
मान्छेका शरीर मिलेर यसको टाउको बनेको छ
उस्तै – उस्तै अनुहार, साहस अनि व्यवहार भएका
मान्छेका शरीर मिलेर यसका बाहु बनेका छन्
उस्तै -उस्तै नाक, आँखा अनि व्यवहार भएका
मान्छेहरू मिलेर यसको उरू बनेको छ
अनि, उस्तै-उस्तै अनुहार, व्यवहार भएका
म जस्ता रोगी मान्छे मिलेर यसको पैताला बनेका छन् ।
हेरेँ- यो दर्शन – प्राणीको अनुहार
ज्यादै चलाख , धूर्त र बदमाश देखिन्छ
तर, पैताला भने फोहोर अनि रोगी पनि !
यो दर्शन – प्राणी दौडको प्रतिस्पर्धा जित्न खोज्दैछ
तर, दौड्नको निम्ति चाहिने पैताला
कति रोगी अनि कमजोर छन् यसका !
टाउको पनि त्यस्तै रोगी छ- आफ्नै हात, खुट्टाले छोएको खाँदैन !
अहो ! यही दर्शनको पैताला पो रहेछु म !
अब, खोइ कसोगरी यस दर्शन -प्राणीलाई
दौडमा जिताउन सक्छु र मैले ?
द्रष्टा भाव लिई जागेँ र उठेँ म !
अब, हेर्नू छ – म मान्छेरूपमा जन्मिएको
यो दर्शनको भविस्य !
– रिब्दिकोट -७ मैनादी ।
साभार : किस्ता किस्तामा जिन्दगी (कविता संग्रह २०७६)