~महेश पौड्याल~
हामी मोटरबाटो छोडेर ओरालो लाग्दा साइला धुरा प्राथमिक विद्यालय बायाँपट्टि पर्यो । पहाडजत्तिकै पुरानो त्यस स्कुलको भित्तोमा अँगार र चकले लेखिएका किरिङमिरिङ अक्षर देख्दा लाग्यो, यो भित्तो साहित्यकार पारिजातको जन्मकुण्डली हो, जहाँ ग्रहहरू किरिङमिरिङका अतिरिक्त केही पनि देखिँदैनन्, दार्जिजिङमा ।
२०७४ सालको दोस्रो दिन । प्रतिभा प्रेरणा परिषद् बिजनबारी र चिया कविता सिक्किमको निम्तोमा जरा फाउन्डेसनले हामीलाई दार्जिजिङ पुर्याएको थियो ।हामी साइला धुरा स्कुलको आडबाट ओरालो लागिरहेका थियौं । सिमसिम पानीले पूरै भिजोको थियो लिंगिया । ओरालो बाटोमा बनाइएका ढुंगाका खुट्किलाहरू निकै चिप्ला थिए ।
तल, निकै तल, खोंचमा लमतन्न तन्किएको देखिन्थ्यो छोटा रंगित । ओरालो झर्ने हामी बडो होसियारीका साथ टेकिरहेका थियौं ढुंगाका खुट्किलाहरू । हामी सबैको मनकमा सायद एउटै कुरा थियो: यी ढुंगा पारिजातले टेकेका ढुंगा हुन्, र हाम्रा लागि एक तीर्थस्थल । यी ढुंगाको छातीमा पारिजातका पसिना, साल्गीका बलात्कृत आँसु र सकम्बरीको रगतका अभिलेख छन्, र ती विश्वभरिका साहित्यप्रेमीका लागि एक सन्देश हुन् ।
नेपाल, दार्जिजिङ र सिक्किमका साहित्यकारहरूको टोली थियो । अन्यत्र भेट्दा धेरे उकुसमुकुस, रहर, योजना, राजनीति, आक्रोश र माया साटेर माहोल कोलाहलपूर्ण बनाउने हामी सबै चुपचाप थियौं, लिंगिया चियाकमानको त्यस आदिम ओरालीको बाटोभरि । लाग्थ्यो, जिन्दगीभरिका हाम्रा उद्गारकोहरूको गति एक्कासि रोकिएको छ लिंगिया मा, र यहाँ एउटैमात्रै आवाज बाँकी छ, पारिजातको । र, त्यो आवाज भनिरहेछ: किन आउनुभयो तपाईंहरू लिंगिया चियाबारीको एकान्त गीत सुन्न, र बल्झाउन एउटा आदिम घाऊ ?
नेपालतर्फबाट हामी पाँच जना थियौं : प्राज्ञ मातृका पोखरेल, कविहरू कृष्ण प्रसाईं, टीका आत्रेय, लीला अनमोल र म । दार्जिजिङमा हामीलाई चियाबारीका पातपातमा लेखिएको विरह गीतको सप्रसंग व्याख्या गर्ने साथी हुनुहुन्थ्यो निमेश सुब्बा सिकारू । सिक्किमका रसिक कवि मित्रहरू सुधा एम राई, दीपा राई, अम्बर लाछिकाठी गुरुङ र प्रवीण खालिङ — सबै सबैका अनुहारमा उत्साह र विषाद्को एक असामान्य मि श्रण देखिन्थ्यो । टोलीमा मैले सबैभन्दा सोचमग्न अनुहार प्राज्ञ मातृका पोखरेलको पढेँ । स्तब्ध, स्तब्ध । गम्भीर, गम्भीर ।
आधुनिकताले छ्याप्पै छोपेको उनको कोठामा पारिजातको एउटा फोटोसम्म पनि छैन । छ त एउटा टीभी, एक रिकर्ड प्लेयर, केही थान कम्बल र डसना, एउटा दराज र गुप्ता मेडिकलको एक क्यालेन्डर । उपेक्षाले क्रमश: मेट्दै मेट्दै लगेको छ पारिजातको स्मृति त्यहाँ ।
पछि थाहा पाएँ, हामीमध्ये पारिजातसँग प्रत्यक्ष रूपमा जोडिएरै आएको साहित्यकार भन्नु उहाँमात्रै हुनुहुँदो रहेछ । आफूलाई पारिजातको वैचारिक स्कुलको एक विद्यार्थी र उत्तराधिकारी मान्ने कवि पोखरेलको गाम्भीर्यमा हामी सबै हेलिएका थियौँ । आखिर, पारिजात नामको सारोवरका छिटाबाट नछोइएको कुन चाहिँ नेपाली साहित्यको प्रेमी वा पाठक होला ! हामी सबै मातृका पोखरेलको गाम्भीर्य सरोवरमा मिस्सियौं ।
पाइला निरन्तर ओरालोतिरै बढिरहे । सबै आ-आफ्नै धुनमा थियौं । हामीबीचको दूरी बढ्दै-घट्दै जान्थ्यो; पाइलाको गति र मुटुको धड्कनबीच एकरूपता थिएन । हामी घरि उभिएर त्यस पाखाभरि पोतिएको चियाको हरियाली पिउँथ्यौं, र घरि तल देखिने मैदानमा बग्ने छोटा रंगितको विस्तार हेर्दै पारिजात र इन्द्रबहादुरलाई सम्झन्थ्यौं । बेलाबेला गीतहरू पनि गुन्गुनाउँथ्यौँ: अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटुमा । मेरो मनमा भने सुसन मास्केको आवाज इतिहासको कुनै आदिमतम कालखण्डबाट निस्रित भएर, समयको भँगालोसँगै क्रमश: मधुरो मधुरो हुँदै आएजस्तो भाकामा आइरहेथ्यो अर्कै गीत: ‘मर्न मन लाग्छ, मायालु, शीतसँगै, असिनासँगै ।’
मेरो अवचेतनमा पारिजातका यी आत्मघाती शब्द कसरी कोरिएका रहेछन् मलाई नै थाह भएन । फ्रायडले भनेजस्तो ‘एसोसिएटिभ’ सम्बन्ध थियो त्यो अवचेतन स्मृति र मूर्त वरिवेशको, जहाँ सिलसिलेवर प्रसंग उप्किँदा गाँसिएका स्मृति पनि फुकेर आउँछन् । मलाई सत्य लाग्यो । फेरि गुन्गुनाएँ: मर्न मन लाग्छ, मायालु ।
के पारिजातलाई अल्पायुको मृत्युको पूर्वाभास थियो ? के उनलाई अशक्तता उनको जीवनको उत्तरार्धको गीत हुनेछ भन्ने थाहा थियो ? किन र कसरी लेखियो यो आत्महारा अभिव्यक्ति ? अथवा, उनले आफूले बाँचेको समयका सम्पूर्ण विपर्यासलाई लेखिएदिएर निर्वाण प्राप्त गर्न खोजेकी थिइन् ? सायद, लिंगिया छोडेर दार्जिजिङ हुँदै नेपाल छिरेपछि उनका पाइला छेक्न तम्तयार उपेक्षाका पहाड र चट्टानहरूलाई सुनाएको यो एक ‘स्वान सोङ’ अर्थात् अन्तिम गीत थियो !
चियाका पात चुँडेर चाख्दै, तल छोटा रंगितको किनार सम्झँदै, बालसन नदी र दार्जेलिङे साहित्यको सम्बन्ध केलाउँदै, फोटो खिच्दै र स्तब्ध हुँदै हामी ती ढुंगाको अन्तिम खुट्किलोमा आइपुग्यौं, जहाँबाट ओर्लनु हामी सबैका लागि एक विशिष्ट प्राप्तिको भागी हुनु थियो । निकै माथिदेखि नै हामी टिनका लमतन्न तन्किएका केही छाना एकआपसमा खप्टिएका देखिरहेका थियौं । टिन लगभग पूर्ण रूपमा खियाले खाएर खैरो भएको थियो । घर उँधो पाखोतिर पर्खिएको कुनै एक डिल वा थुम्कोको आडमा बनेको हुनाले घरको प्रमुख द्वार, झ्याल र ढोका हामीले अझै देखेका थिएनौं ।
दिनको करिब ३ बजेको हुँदो हो । हामी पारिजातको जन्मघरको आँगनमा उपस्थित भयौं दार्जिलिङको लिंगिया चियाकमानको बीचमा ।जरा फाउन्डेसनले दार्जिजिङ यात्राको कार्यक्रम तय गरेकै बेला हामीले लिंगिया जाने निधो गरेका थियौं, पारिजातको जन्मघर हेर्न । त्यो बेला मेरो मनमा एक भव्य तीर्थस्थलको बिम्ब आएको थियो । कल्पना गरेको थिएँ, राजमार्गबाट उनको घर जाने कालोपत्रै गरिएको ठूलो, चौडा बाटो छ । बाटोको किनारैभरि सुन्दर फूल र बोटबिरुवाले बनेको लहरे उद्यान छ । जताततै काठका पाटी लागेका छन् र ती पाटीहरूमा पारिजातका जीवन्त भनाइहरू कुँदिएका छन् । ठाउँठाउँमा यात्रुहरूका लागि पिउने पानीको व्यवस्था गरिएको छ । कतै कतै, पारिजातका किताब, र उनको गीतका सिडीहरू बिक्रीका लागि राखिएका छन् ।
बाटोभरि पारिजातका गीत र भनाइहरू सुनाइरहने स्पिकर लागेका छन् । घरमा एक म्युजियम छ, जहाँ पारिजातले बालापनमा प्रयोग गरेका सरसामान, उनको बाल्यकालका स्मृतिहरू आदि सुरक्षित गरिएका छन् । सोचेको थिएँ, कहीँ कतै आगन्तुक पुस्तिका पनि छ । मैले भावविह्वल भएको बेला त्यहाँ के लेखौंला भन्ने पनि नलागेको होइन । सोचेथेँ, कहीँ कतै पारिजातको भव्य सालिक छ, र सालिकमुनि त्यसलाई अनावरण गर्ने कुनै उच्च सरकारी अधिकारी वा मन्त्रीको नाम छ । र त्यहाँ फोटो खिच्न साहित्यिक पर्यटकको भीड तँछाड-मछाड गरिरहेको छ ।
तर पारिजातको जन्मघर पुग्दा मेरा सम्पूर्ण सपनाहरू भग्नावशेषमा परिणत भइसकेका थिए ।
लामो घर — उँधो रंगितको कितारतिर फर्किएको । साँघुरो द्वारबाट हामी छिर्र्यौं, र आँगनमा दाखिल भयौं । आँगनमा तीनतिर फूलहरू लहरै रोपिएका थिए । हामी सबैलाई हाँसेर स्वागत गरे, त्यस घरको रखवाली गरेर बसेका ध्रुव प्रधानले । लिंगिया प्राथमिक पाठशालाका पूर्वप्रधानअध्यापक प्रधानसँग हामीले पालैपालो कुरा गर्यौं।
‘पारिजातलाई देख्नु-भेट्नुभएको हो तपाईंले ? ‘
‘होइन । यो ठाउँमा पारिजातले आफ्ना केही वर्षमात्रै बिताउनुभएको हो । त्यसपछि उहाँ पढाइलेखाइका लागि दार्जिजिङतिरै जानुभयो । अनि उतैबाट नेपाल । खासै आउनुभएन लिंगिया । हामी पनि यहाँ पछिमात्रै सरेका हौँ ।’
‘कतिको आउँछन् साहित्यक पर्यटकहरू यहाँ ? ‘
‘अलिअलि आउँछन् ।’
‘सरकारका मान्छे नि ? ‘
‘आउँदैनन् ।’
‘यहाँसम्म आउने-जाने बाटो बनाउने कुनै सरकारी पहल भएन है ? ‘
‘भएन । यो जग्गा चियाकमानको हो । यहाँ सरकारको खासै केही पनि चल्दैन । चिया कमानको प्रशासनले चाहेमात्रै केही हुन्छ । तर, त्यसो हुन सकेको छैन ।’
मैले चिया कमानको प्रशासनको अनुहार सम्झिएँ । चियाका बोट, कमानका पात्र-चरित्र, र चियाको गाथामा कुँदिएको दार्जिजिङको कथा लेख्ने, र विश्वभरि दार्जिलिङलाई चिनाउने साहित्यकार, गीतकार र गायकहरूको ऋण लाग्छै लाग्छ त्यस प्रशासनलाई ।
अनि फेरि मैले नेपाल सम्झेँ ! चुँदी रम्घामा भानुभक्तको घर सधैंजसो असार २९ मा पत्रिकामा छापिन्छ, र उही कथा दोहोरिन्छ, उपेक्षाको । कसले बनाउन सकेको छ र महाकवि देवकोटाको सहरको मुटुमै भएको जन्मघरलाई संग्रहालय वा तीर्थस्थल ? कहाँ उभिएको छ हरिभक्तको सालिक ? कति मान्छे जान्छन् स्वरसम्राट् नारायणगोपालको घर ? कहाँ पर्छ तारादेवीको बासस्थान ? ९८ वर्षको उमेरमा सत्यमोहन जोशीलाई ‘वाङ्मय शताब्दी पुरुष’ घोषणा गरियो, तर उनको इच्छा त्यो थियो वा थिएन कसैले सोधेन । उनको घोषित इच्छा थियो, विसं २०२६ सालमा बडो कष्टका साथ उनले, र उनका साथीहरूले नेपाली भाषाको उद्भवस्थल सिँजा घाँटीको दुरुह यात्रा गरेपछि लेखेको उनको सिँजा घाँटीको संस्कृतिसम्बन्धी पुस्तकको पुनर्मुद्रण होस् ! तर त्यो कसैले गरेको छैन आजसम्म ।
अनि फेरि नेपालबाहिरका केही मुलुक सम्झेँ । डेनमार्कमा उपन्यासकार एस्ट्रिड लिन्डगे्रनको उपन्यासले चित्रण गरेको जस्तो उद्यानै बनाएको छ सरकारले । घुम्न जाने यात्रुहरू उपन्यासकै परिवेशमा प्रवेश गर्छन्, र एनिमेटेड पात्रहरू भेट्छन् । रवीन्द्रनाथ ठाकुरको शान्ति निकेतन आज भारतकै प्रतिष्ठत शैक्षिक गन्तव्यहरूमध्ये एक हो । चीनमा लुसुनको घरमा ‘बेइजिङ—लुसुन म्युजियम’ छ, जहाँ लुसुनले प्रयोग गरेका सामग्री, उनका पाण्डुलिपि, उनका जीवनका विभिन्न चरणका तस्बिर सरकारी खर्चमा सुन्दर तरिकाले संरक्षित छन् ।
बेलायतमा विलियम वर्डस्वर्थको लेक डिस्ट्रिक्टको घरमा आज पनि उनले परिकल्पना गरेको प्राकृतिक वातावरणलाई सरकारी पहलमा अक्षुष्ण राखिएको छ, र आउनेजानेहरू भन्छन्, त्यहाँ बाँसका कचौराले उघाएर नालाको स्वच्छ पानी खाने प्रबन्ध छ, र पशुपन्छीको बाक्लो उपस्थितिले वातावरण अत्यन्त शान्त रहन्छ । लन्डन जानेहरू स्टेटफोर्ड अपन एवनस्थित शेक्सपियरको घर नपुगी फर्कंदैनन्, र वेस्टमिन्स्टर एब्बीस्थित सयौं विश्वविख्यात साहित्यकारहरूको समाधिस्थल नपुगी स्वदेशको बाटो लाग्दैनन् । दक्षिण कोरियामा गुड्ने मेट्रो रेलका भित्ता, रेल्वे स्टेसन र बस पार्कका प्रतीक्षालयका भित्ताभरि कविहरूका कविता कुँदिएका छन् । र यी सबै सबै, त्यहाँका सरकारका पहलमा भएका छन् ।
हाम्रो देशमा साहित्यकारका सालिक छन् कताकति, र उनीहरूका नामका सडक र विद्यालय छन् । तर संरक्षण छैन, सम्बद्र्धन छैन । पारिजातको गाउँतिर पनि रहेनछ । नश्ल एउटै हो । चिन्तन पनि सायद एउटै ।
हाम्रै सरकार, हाम्रै सबै । कसले बनाउँदो रहेछ नियम-कानुन, हामीलाई नै छेक्ने ? दार्जिजिङ भनिसक्दा कञ्चनजंघाको जत्रो उचाइ दिने नाम हो नि पारिजातको ! तर, लिंगियाको त्यस निर्जन खोंचमा, तल कतै, चियाका पोथ्रा, थुम्काथुम्की र भीरहरूको सन्नाटामा तपिरहेको पारिजातको घर पुग्दा लाग्यो, संसारको सम्पूर्ण विवर्यास यहीँ आएर धर्ना बसिरहेको छ ।
हाम्रो सभ्यता अमूर्त सांस्कृतिक सम्पदाको प्रेमबाट बजारको प्रेमतिर लहसिँदै गएको छ सायद । हामीलाई यसको जोखिम थाहा छ छैन, तर यी सम्पदासँगको प्रेमबाट दिनदिन विमुख हुँदै गएका हामीजस्तै मान्छेका मनहरूले बामियानमा बुद्धको मूर्ति भत्काउँदा, अथवा ट्विन टावरको विलक्षण कला गिराउँदा सोचेनन्, उनीहरूले तोडेको स्तम्भ मान्छेको अमूर्त कलाकारिताबाट निस्रित संवेदनाको एकमूर्त अभिव्यक्ति पनि त हो । हामीलाई जोड्ने, अदृश्य अवयवहरू क्रमश: नेपथ्यमा परिरहेका छन्, आज । सायद, मान्छेको मन खुम्चिरइरहेको छ । हामी सायद सुस्क हुँदैछौँ, दिनदिन् ।
दार्जिजिङ पार्वत्य परिषद्ले लामो समय सपना गोड्यो दार्जिलिङमा । पारिजातको घर पुग्न भ्याएन । परिषद्को विघटन भएपछि गोर्खाल्यान्ड क्षेत्रीय परिषद्को गठन भयो । त्यो पनि त्यहाँ पुग्न भ्याएन सायद । चिया कमानभित्रको नियमको विनिर्माण गर्ने कुनै मार्कण्डेय जन्मेन लिंगियामा । मार्कण्डेयलाई केवल आठ वर्षको आयु तोकिएको थियो जन्मको समय । त्यो नियम बनाउने भगवान्कै विरुद्ध उनी उत्रिएपछि, उनले अमरत्वको वरदान पाए । नियम इच्छाशक्तिले परिवर्तन गर्न सकिन्छ नि !
दार्जिजिङ र नेपालमा यस्ता मार्कण्डेयहरूको ठूलो आवश्यकता भएको कुरो मैले पारिजात जन्मेको कोठाभित्र प्रवेश गरेपछि थाहा पाएँ । आधुनिकताले छ्याप्पै छोपेको उक्त कोठामा पारिजातको एउटा फोटोसम्म पनि छैन । छ त एउटा टीभी, एक रिकर्ड प्लेयर, केही थान कम्बल र डसना, एउटा दराज र गुप्ता मेडिकलको एक क्यालेन्डर । उपेक्षाले क्रमश: मेट्दै मेट्दै लगेको छ पारिजातको स्मृति त्यहाँ ।
स्मृतिको भित्री डोबसम्म चिया बगान पसेको छ, र त्यससँगै पसेको छ उपभोक्तावाद । हामी अवशेषहरूमा चित्त बुझाउन वाद्य छौं, हाम्रो अनमोल सिर्जन-सभ्यताको । धन्न कञ्चनजंघा टाढा र दुर्गम छ, र बजारको स्पर्शले अझै बिटुलिइसकेको छैन ।प्रिय कञ्चनजंघा, सकेसम्म तिमी मान्छेको पहुँचभन्दा टाढै बस्नू । नत्र समयले तिमीलाई पनि पारिजातको अर्को संस्करण बनाइदिन सक्छ ।
(स्रोत : अन्नपूर्ण पोस्ट – फुर्सद)