~कुमार नगरकोटी~
वसन्तपुर दरबार स्क्वायर । प्रातः बेला थियो । घाम उदाइसकेको थिएन ।
दरबारक्षेत्रको एक भागमा एउटा पलङ थियो । पलङछेवै कमोड थियो । कमोड छेवै बाथ–टब थियो । बाथ–टब छेवै यामानको पित्तले गाग्री थियो । गाग्रीछेवै ड्रेसिङ टेबल थियो । ड्रेसिङ टेबलमा काइँयो थियो । कैँची थियो ।
कैंची ? कस्तो कैँची ? बियर्ड ट्रिमिङ सिजर क्या ! दाह्री–जुँगा ट्रिम गर्ने कैँची ।
पलङमा प्रधानमन्त्री निदाइरहनुभएको थियो । उहाँ सर्वाङ्ग नाङ्गो हुनुहुन्थ्यो ।
पलङको सिरानतिर जङ्गी पोशाक लगाएको प्रधामन्त्रीको बडीगार्ड उभिएको थियो । उसको हातमा राइफल थियो । कुनै हलचल नगरी प्रधानमन्त्रीलाई पहरा दिइरहेको थियो ।
५ः५५ बजे
कतैबाट भँगेरा आई पलङमा बस्यो । प्रधानमन्त्रीको छातीमा चढ्यो । फर्याक–फुरुक गर्यो । सर्दै–सर्दै, सर्दै–सर्दै गुप्ताङ्गतिर पुग्यो । मुर्झाएको लिङ्गलाई ठुँग्न थाल्यो ।
प्रधानमन्त्री सपनामै मुस्कुराउनुभयो ।
बडीगार्डको नजर प्रधानमन्त्रीको लिङ्ग ठुँगिरहेको भँगेरामा पर्यो । उसले पोजिसन लियो । लिङ्गतिर राइफल सोझ्यायो । भँगेरा भुर्र उडिगयो ।
६ः०५ बजे
घाम झुल्क्यो ।
प्रधानमन्त्रीको नग्न शरीरमा घामको सुनौलो किरण पर्यो । उहाँ जाग्नुभयो । आँखा मिच्नुभयो । ओछ्यानमै बसीबसी जीउ तन्काउनुभयो । घाँटी मर्याकमुरुक गर्नुभयो ।
बडीगार्डले बुट बजारेर सलाम ठोक्दा निस्केको जङ्गी आवाजले प्रधानमन्त्री झस्कनुभयो । निजले उहाँको ब्रसमा लाल दन्तमञ्जन हालिदिएपछि उहाँ कमोडमा गई बस्नुभयो । दाँत माझ्न थाल्नुभयो ।
६ः३० बजे
दिसा खलास भएपछि प्रधानमन्त्री बाथ–टबमा पस्नुभयो । बडीगार्डले गाग्रीबाट जग–का–जग पानी निकालेर प्रधानमन्त्रीको जीउमा खन्याइदियो ।
प्रधानमन्त्रीले आङ मिचीमिची नुहाउनुभयो ।
७ः१५ बजे
गलैँचा ओछ्याइएको भुइँमा प्रधानमन्त्री बस्नुभयो । आँखा चिम्लेर लामोलामो श्वास तान्न, फाल्न थाल्नुभयो । प्राणायाम, कपालभाँतीलगायत प्रातःकालीन योगाभ्यास गर्नुभयो ।
७ः४५ बजे
प्रधानमन्त्री ड्रेसिङ टेबलसामु उभिनुभयो । आफ्नो रूप हेरी–हेरी आफैँ दङ्ग हुनुभयो, मख्ख पर्दै मुस्काउनुभयो । काइँयोले कपाल कोर्नुभयो । कैँचीले जुँगा ट्रिम गर्नुभयो ।
८ः०० बजे
प्रधानमन्त्रीले अखबारका हेडलाइनहरू सर्सर्ती पढ्नुभयो । प्रत्येक पत्रिकाका राशिफलचाहिँ बडो चाखपूर्वक पढ्नुभयो ।
८ः०५ बजे
बडीगार्डद्वारा प्रधानमन्त्रीलाई ब्रेकफास्ट सर्भ गरियो ।
उहाँले कालो चिया पिउनुभयो । उमालेका दुइटा अण्डा खानुभयो । दुई टुक्रा ससेज टोक्नुभयो । बटर दलेको पाउरोटी चपाउनुभयो । प्यान केकलगायत दूधमा घोलिएको कर्नफ्लेक्स खानुभयो । पूरा–का–पूरा एक जग जल पनि सेवन गर्नुभयो ।
त्यसपछि पालो आयो औषधिको । प्रधानमन्त्रीले डायबिटिज, उच्च रक्तचाप, हाइपर टेन्सन, क्रोनिक ब्रेन्काइटिस, युरिक एसिडलगायत रोग उल्लेख गरिएका प्याकेटबाट नानाभाँतीका पिल्स, ट्याब्लेट, क्याप्सुल र चूर्ण निकालेर पानीसितै घुटुक्क–घुटुक्क निल्नुभयो ।
८ः५५ बजे
प्रधानमन्त्री ः तपाईंले मलाई गुड मर्निङ भन्नुभयो ?
बडीगार्ड ः भनेको छैन हजुर !
प्रधानमन्त्री ः भन्नुस् न त !
बडीगार्ड ः गुड मर्निङ प्रधानमन्त्रीज्यू !
प्रधानमन्त्री ः गुड मर्निङ ! मेरो सरकार तपाईंलाई कस्तो लागिरा’छ ?
बडीगार्ड ः गज्जब, सरकार ! भव्य, सरकार !
प्रधानमन्त्री ः एक शब्दमा भन्नुपर्दा म कस्तो प्रधानमन्त्री हुँ ?
बडीगार्ड ः अद्भुत !
प्रधानमन्त्री ः तपाईंलाई मेरो के चीज सबैभन्दा बढी मन पर्छ ?
बडीगार्ड ः सबै चिज मन पर्छ हजुर !
प्रधानमन्त्री ः तैपनि ! एउटा भन्नुपर्दा ?
बडीगार्ड ः मलाई हजुरको जुँगा मन पर्छ । हजुरले जुँगा ट्रिम गरेको निकै मन पर्छ ।
प्रधानमन्त्री ः मेरो सरकार अझ प्रभावकारी कसरी होला ?
बडीगार्ड ः बेला–बेला जुँगा ट्रिम गरिबक्स्योस् । हिजोआज त कालो–कालो पनि हुँदै गा’छ । जुँगा छाँटिबक्से सरकार आफैँ प्रभावकारी भइजाला ।
प्रधानमन्त्री ः तपाईंको जवाफले म प्रसन्न भएँ । अब सबै कपडा फुकालेर मजस्तै नाङ्गो हुनुस् ।
बडीगार्ड ः त्यसो नभनिबक्स्योस् सरकार । मलाई लाज लाग्छ ।
प्रधानमन्त्री ः देशको प्रधानमन्त्री नाङ्गो छ । मलाई लाज लागेको छैन । तपाईंलाई चाहिँ किन लाज लाग्ने ? कपडा फुकाल्नुस् ।
बडीगार्ड ः हजुरको जो आज्ञा सरकार !
९ः१५ बजे
टेलिफोनको घण्टी बज्यो ।
प्रधानमन्त्रीले फोन रिसिभ गर्नुभयो । केही बेर अँअँ, होहो भनी मुन्टो हल्लाउनुभयो । आफ्नो बोल्ने पालो आएपछि उहाँले फोनमा भन्नुभयो, ‘राष्ट्रपतिज्यू ! सार्वजनिकस्थलमा जनताका सामु देशको प्रधानमन्त्री यसरी नाङ्गै उपस्थित भएकोमा तपाईंले खेद प्रकट गर्नु स्वाभाविक हो । तर, म तपाईंलाई के जानकारी गराउँछु भने आज दिनभर यसरी नै नग्न अवस्थामा म यहाँ प्रदर्शित हुनेछु । यस्तो गर्न नितान्त आवश्यक पनि छ, किनभने म अरू प्रधानमन्त्रीजस्तो कदापि होइन ।’
उहाँ केही बेर अडिनुभयो । उताको कुरा सुन्नुभयो । राष्ट्रपतिले के भन्नुभयो कुन्नि, उहाँको मुहारमा केही तनाव झुल्क्यो । बडी ल्याङ्वेज असहज देखियो ।
आफ्नो गुप्ताङ्ग कन्याउँदै प्रधानमन्त्रीले फोनमा भन्नुभयो, ‘तपाईंले मेरो नग्नतालाई मिसइन्टरप्रेट गर्नुभयो । गलत ढङ्गले बुझ्नुभयो । यो दरबार स्क्वायरको सार्वजनिकस्थलमा दिनभरि नाङ्गै बसी म जनतालाई के सन्देश दिन चाहन्छु भने यो सरकार पारदर्शी छ । निकै पारदर्शी । यस्तो पारदर्शी सरकार न भूतमा थियो, न त भविष्यमा नै हुनेछ ।’
प्रधामन्त्रीले फोन राखिदिनुभयो ।
यतिन्जेल दरबार स्क्वायरमा जनताको अपार भीड लागिसकेको थियो । नग्न प्रधानमन्त्रीको पारदर्शी कुरा सुनेर उनीहरूले ताली बजाए । प्रधानमन्त्रीको मुक्तकण्ठले प्रशंसा गरे । जयजयकार गरे ।
जनताको उल्लासमय भीडलाई हेर्दै प्रधानमन्त्री मुसुक्क मुस्कुराउनुभयो ।
(यो कथा नगरकोटीको प्रकाशोन्मुख कथा–सङ्ग्रह ‘कल्प–ग्रन्थ’बाट लिइएको हो ।)
(स्रोत : शिलापत्र डट कम)