~डम्बर बिकेल~
भन्छन् हिमालबासी हाम्रो मात्रै हो हिमाल
भन्छन् पहाडबासी हाम्रो मात्रै हो पहाड
भन्छन् तराईबासी हाम्रो मात्रै हो तराई
किन यसो भन्छन् आमा ?
हिमालबासीको पनि त हो नि पहाड र तराई
पहाडबासीको पनि त हो नि हिमाल र तराई
तराईबासीको पनि त हो नि हिमाल र पहाड
होइन र आमा ? तिमी नै भन त ।
भन न आमा, खोइ राष्ट्रिय एकता ?
भन्छन् ब्राम्हणहरु मैँ ठूलो, मैँ ज्ञानी
भन्छन् छेत्रीहरु मैँ ठूलो, मैँ शक्तिशाली
भन्छन् वैश्यहरु मैँ राम्रो, मैँ बाठो
भन्छन् शुद्रहरु म असल, म झन के कम
किन यसो भन्छन् आमा ?
नेपाली नै त हो नि ब्राम्हण पनि
नेपाली नै त हो नि छेत्री पनि
नेपाली नै त हो नि वैश्य पनि
नेपाली नै त हो नि शुद्र पनि
होइन र आमा ? तिमी नै भन त ।
भन न आमा, खोइ जातीय एकता ?
भन्छन् हिन्दु धर्मीहरु ठूलो धर्म हाम्रो
भन्छन् बुद्ध धर्मीहरु राम्रो धर्म हाम्रो
भन्छन् इसाई धर्मीहरु उत्तम धर्म हाम्रो
भन्छन् इस्लाम धर्मीहरु असल धर्म हाम्रो
किन यसो भन्छन् आमा ?
भगवान् प्राप्त गर्ने नै त हो नि हिन्दु धर्मले पनि
भगवान् प्राप्त गर्ने नै त हो नि बुद्ध धर्मले पनि
भगवान् प्राप्त गर्ने नै त हो नि इसाई धर्मले पनि
भगवान् प्राप्त गर्ने नै त हो नि इस्लाम धर्मले पनि
होइन र आमा ? तिमी नै भन त ।
भन न आमा, खोइ धार्मिक एकता ?
भन्छन् आर्यनहरु उत्तम सँस्कृति हाम्रो
भन्छन् मङ्गोलहरु राम्रो सँस्कृति हाम्रो
भन्छन् मेचीतिरका असल सँस्कृति हाम्रो
भन्छन् कालीतिरका उत्कृष्ट सँस्कृति हाम्रो
किन यसो भन्छन् आमा ?
नेपाली सँस्कृति नै त हो नि आर्यनहरुको पनि
नेपाली सँस्कृति नै त हो नि मङ्गोलहरुको पनि
नेपाली सँस्कृति नै त हो नि मेचीतिरकाको पनि
नेपाली सँस्कृति नै त हो नि कालीतिरकाको पनि
होइन र आमा ? तिमी नै भन त ।
भन न आमा, खोइ साँस्कृतिक एकता ?
आमा,
चाहिएको छ राष्ट्रिय एकता
चाहिएको छ जातीय एकता
चाहिएको छ धार्मिक एकता
चाहिएको छ साँस्कृतिक एकता
चाहिएको छ, आमा, चाहिएको छ
राष्ट्रिय अखण्डता
त्यसैले,
आमा,
जन्माउनुपर्छ, अब तिमीले एक सपूत
टुक्रिएका राज्यहरु एक बनाई सिङ्गो नेपाल
निर्माण गर्ने पनि त तिम्रै सन्तान थियो ।
सिङ्गो नेपालभित्र
राष्ट्रिय एकता
जातीय एकता
धार्मिक एकता
साँस्कृतिक एकता
अनि, राष्ट्रिय अखण्डता
स्थापित गर्ने छोरो जन्माउनुपर्छ ।
हो, नेपालआमा, जन्माउनुपर्छ तिमीले अब
पुन: अर्को पृथ्वीनारायण शाह ।
इतिश्री
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )