~प्रदीप लोहागुण~
यो देश भन्ने अमूर्त मान्छेले
किन होला हामीलाई
जैले तैले दुश्मनजस्तै ठानेको।
तिमी जस्तो अजङ्गको मान्छेसँग
दुश्मनी मोलेर किन जोखिममा परूम म।
मूलधारतिर जाने रेलमा
चढ़्न वर्जित छ मलाई
दुवै हात फैलाएर दैलैमा बस्छ देश
र भन्छ
‘पहिले तेरो नागरिकतापत्र जाँच्नु छ’
सिमानामा बग्ने मेरो रगतको
राष्ट्रप्रेम जाँच्दैन देश
चियाकमान र कोइलाखानीतिर चुहुने
मेरो पसिनाको मोल जाँच्दैन देश।
बस, भन्छ
‘पहिले तेरो नागरिकतापत्र जाँच्नु छ’
मलाई मेरो देशको राजधानी
र, छिमेकी देशको राजधानी एकै लाग्छ
दुवै नयाँ ठाउँ र अञ्जान शहर।
किनभने देशले माया नगरेको पीड़ा छ मसँग।
राजधानीका चिल्ला सड़कहरूमा
कथङ्काल मैले पाइला टेकेँ भने
यत्रो बलड्याङ्ग्रे आँखा फुकाल्छ
र घुरिबस्छ देश।
देशले सरकार भन्ने एजेण्टलाई
जबकार्ड बोकाएर पठाउँछ मेरो गाँउ
अनि मलाई त्यहाँ थ्याप्चे हान्न अह्राउँछ।
मनरेगाको बाटोमा
देशले खूब उड़ाउँछ नागरिकप्रेमको धूलो।
मेरो थ्याप्चेको मनोविज्ञान पढ़्छ देश
र हरेक पन्ध्र अगस्तमा
छाट्छ अनेकतामा एकताको भाषण।
ए देश!
दबिएकै स्वरमा भए पनि
मेरो एउटा भन्नु पर्ने कुरा छ तिमीलाई
कि तिम्रा बाजे
स्वतञ्त्रतासङ्ग्रामको मशाल बोकेर निस्किँदा
मेरो बाजे पनि
राष्ट्रीयगीतको धुन अर्जाप्दै थिए।
तिम्रो बाबुले पसिना रोपेर सुन उमार्दा
मेरा बाबु पनि
चियाकमानमा फालिङ हान्दै थिए।
तिम्रा दाजुहरू गान्धीको पछि दगुर्दा
मेरा दाजुहरू सुवासचन्द्रलाई सघाउँदै थिए
तिम्री दिदीहरू साबरमति आश्रमतिर धाउँदा
मेरी दिदीहरू जीउमा बम बानेर पड़किँदै थिए।
कि तिमीलाई मेरो कुरा
बाहियात लाग्छ भने
खन्नू गान्धीको चिहान र सोध्नू
जंगबीर सापकोटा, दलबहादुर गिरी
हेलेन दिदीहरूको बलिदानको कथा।
खोज्नू गुमनाम सुवासचन्द्रलाईर सोध्नू
रामसिंह ठकुरीको भायोलिन बनाउने
कम्पनीको ठेगाना।
डुल्नू तिमी संसद भवनको लाइब्रेरी
त्यहाँ राखिएका सम्विधानसभाका
दस्तावेजहरू पल्टाउनू
र हेर्नू अड़िबहादुर गुरूङका
किरिङमिरिङ हस्ताक्षर।
यो देश भन्ने अमूर्त मान्छेले
किन होला हामीलाई
जैले तैले दुश्मनजस्तै ठानेको।
इतिहास र भूगोलको पत्र पत्र उप्काएर
देखाउँदा पनि
यो देशको मानचित्रमा
मेरो अनुहार छाप्पिँदै भने
म देशलाई माया गरिबस्नू
कि माया खोज्दै जानु कुनै अर्को देश?
(स्रोत : लाली गुराँस,नेपाली द्वैमासिक, दार्जिलिङ – अङ्क 23 : जुन-जुलाई 2017)