~नेत्र तामाङ~
उसलाई सबै माइते भनी बोलाउँछन् । सानैदेखि मामाघरमा बस्थे । मामाघरको हजुरबाआमाले निकै माया गरी राखिदिएको नाम रे–माइते । उ मामाघरमै जन्म्यो, यही हुक्र्यो । आजभोलि उ स्कुल जान सक्ने भएका छन् । अझ उ त ठुलो मान्छे भइसक्यो । गाँउघरमा डोकोभरी घाँस ल्याउन सक्ने भएपछि त ठुलै भन्छन् । पानी पधेराँमा माइजुलाई सघाउने भइसके ।
मामा विदेश गएका छन् । घरमा अरु कोही छैनन् । उसका बा कता छन् केही थाहा छैन । आमालाई भने केही वर्ष अघि नै रोगले लग्यो रे । उसलाई बाआमाको अनुहार यादै छैन । माइतेलाई छोरा भन्ने पनि कोही भएनन् । उ बिहान बेलुका घाँस दाउरा गर्छन । स्कुल जान्छन् । सबै भन्दा बढी माया माइजुकै पाउँछन् । कारण एउटै छ उ माईजुलाई सक्दो सहयोग गर्छन । हजुरबाआमाको माया उतिकै । त्यसैले बाआमाको खोजी किन गर्ने ?
घाँसदाउरा गर्ने वन स्कुल भन्दा रमाईलो लाग्दो हो उसलाई । त्यही भएर उ बढी जसो वनतिरै व्यस्त हुन्छ । वनमा रमाईलो पनि त हुन्छ । यसो मौसम अनुसारको फलफुल पनि पाइने । ती फलफुल हजुरआमालाई खुबै मनपर्ने । वनमा भएका केही चरा खसालेर ल्याए हजुरबाबाट स्याबासी पाइने । यस्तै भएर हो कि उ कहिलेकही स्कुलै जान छाडेर घाँसदाउरा गर्न वन जान्थे ।
‘स्कुलमा पिटाइ खाइन्छ, वनमा मिठाई खाइन्छ,’ त्यो दिन माइते एक्लै गुनगुनाउदै वन पस्यो । वनको वीचमा ठुलो चौर छ । त्यो चौर निकै ठुलो पनि छ । त्यही चौरमा नयाँ वर्षमा गाँउका मात्र नभएर टाढा टाढाका मानिस पनि वनभोज खान आइपुग्छन् । भोज खाना आएका मानिसले फालेको पत्रिका, चाउचाउका प्लष्टिक, तेलका प्लष्टिक जताततै देखिन्छन् । यसले चौरलाई फोहोर बनाएको छ । यही चौर भएर उसको आउजाउ हुन्थ्यो । र भारी पुगेपछि यही विसाएर एकछिन् खेल्थ्यो ।
त्यो दिन पनि माइते घाँसको भारी पु¥याएर त्यही चौरमा आइपुगे । आज त उसले चरालाई गुलेली हानेन । तैपनि उ गुलेलीलाई खुब माया गथ्र्यो । वनमा एक्लै हुन्छ । कहिलेकही बाँदरले दुःख दिन खोज्छ । यही बेला गुलेलीले साथ दिन्थ्यो । चराचुरुंगी भने मार्नुहुन्न भनेर किताबमै लेखेकोले उ हच्किएको थियो ।
उसले साथमा भएको गुलेली टाउकोमा हेयरपिनझै लगायो । अनि चौरतिर खेल्न लाग्यो । उ सधै चौरको एक छेउबाट अर्को छेउमा ढुंगा पु¥याउने प्रयास गथ्र्यो । तर कहिल्यै सके पो । त्यो दिन पनि धेरै कोशिश ग¥यो । तर सकेन । थाकेकोले एकैछिन आराम ग¥यो । त्यही बेला चौरको बीचैमा भएका कागज, प्लप्टिक फनफनी घुम्दै उड्न थाल्यो । ती कागज, प्लष्टिक कहिले उसकै नजिक भएर जान्थ्यो । कहिले परपरै उड्थ्यो । उसलाई निकै रमाईलो लाग्न थाल्यो । चौरमा भएको कागजलाई हावाले नै उडाएको हो । उसले यस्तै सोच्यो । मलाई पनि पक्कै उडाउला भन्दै उ घुम्ने भुमरीभित्र पस्यो । उसलाई मजा त आयो तर उडाएन त्यो भुमरीले । जता भुमरी पुगे पनि उ त्यतै दौडन्थे । कान्लातिर जाँदा भने उसलाई अप्ठेरो पथ्र्यो ।
भुमरीसँग खेल्दा उ थाक्यो । कागज झै उड्न नपाएन नि उसलाई निकै मज्जा भयो । उ पसिना पसिना भयो । एकैछिन् चौरको डिलमा बस्यो । अब जाने बेला पनि भइसकेछ । घाम निकै तल पुगिसकेको थियो । उसले हजुरआमाको लागि टिपेको ऐसेलु छामे । घाँस भित्रै थियो । पात सिएर पोको पारेको ।
जानै लाग्दा गुलेलीको सम्झना आयो । उसले डोको तिर हे¥यो । भेटेन । आफ्नो खल्तीतिर छामे । त्यहाँ पनि थिएन । चौरतिर पो खस्यो कि । उ त्यतै खोज्न लाग्यो । तर भेटे पो । पाक्कै पनि भुमरीले उडाएर लाग्यो । उसको मन खिन्न भयो । अब कसले किन्दिने गुलेली । मामा बिदेश छन् । माइजुले किन्दिदैनन् । चरा मार्नुहुन्न भनेर पसलेले नि बेच्नै छाडे । चरा नमारे नि बाँदरलाई स्वाद चखाउन हुन्थ्यो नि । उ सोच्दै घाँसको भारी नेर पुग्यो । फराकिलो बालौटे बाटोमा उभियो । छाँयालाई नियालो । निकै लामो भएछ छाँया । साँझ पर्नै लागेको । उसको आँखा छाँयाको टाउकोमा पुग्यो । टाउकोमाथि लामा लामा सिङ जस्तै चुच्चो देख्यो । सिङै उम्रेको त पक्कै होइन । उ अचम्ममा प¥यो । उसले देब्रे हात विस्तारै टाउकोमा पु¥यायो । सिङ जस्तो त गुलेली पो रहेछ । उ खुसीले उफ्रियो र घाँसको भारी बोकेर घरतिर लाग्यो ।
-बालबगैचा मासिकमा प्रकाशित
(स्रोत : रचनाकारको ब्लगबाट सभार)