भलाकुसारी : यो समाजको ताल देखेर म विद्रोही बनें : पुष्कर लोहनी

पुष्कर लोहनी र यौन साहित्य पर्याय बनिसकेका छन् । ८२ वर्षीय लोहनी नेपाली साहित्यमा फ्रायडवादी सिद्धान्तको पैरवी गर्दै आएका ‘यौन साहित्यका आइकन’ मानिन्छन् ।

कवि एवं कथाकारका रुपमा परिचित लोहनी नेपाली साहित्यका कडा आलोचकसमेत हुन् । उनी मानिसको जीवन र अस्तित्वसँगै साहित्यमा पनि यौनको उपस्थिति हुने मान्यता राख्छन् । उनी यौनलाई रतिराग होइन, मानिसको अस्तित्व र अहमसँग जोडेर हेर्छन् ।

दुई दशक प्राध्यापन र त्यति नै समय अनुसन्धानमूलक कार्यमा बिताएका लोहनी ७० वर्षदेखि नेपाली साहित्यमा रजगज गरिहेका पात्र हुन् । उनको पहिलो उपन्यास ‘अदृश्य मान्छे’ भर्खरै प्रकाशित भएको छ । यससँगै एक कवितासंग्रह, दुई समालोचना, एक कथा र दजर्नौं हाइकु, सिजोका पुस्तक उनका नाममा प्रकाशित छन् ।

अंग्रेजी साहित्यको समेत गहन अध्ययन गरेका लोहनी ८२ वर्षको उमेरमा पनि लेखपढमै रमाइरहेका छन् । डिल्लीबजारस्थित निवासमा पुग्दा उनी  चिनियाँ यौन साहित्यका पुस्तक पढिरहेका भेटिए । यही मौकामा लोहनीसँग हामीले उनको नयाँ उपन्यास र यौन साहित्यमाथि केही जिज्ञासाहरु राख्यौं ।

पुष्कर लोहनीले त हाइकुमा पनि यौन ल्याइदिन्छ भनेर माधवलाल कर्माचार्य जंगिए । तर, प्राध्यापक कमलप्रकाश मल्लले मलाई मौका दिए । त्यसैबेलादेखि हाइकु लेख्न थालें

किशोरावस्थादेखि नै सक्रिय साहित्य लेखनमा लाग्नुभयो । उपन्यासचाहिँ भर्खरै आयो किन ?

काठमाडौंमै जन्मे–हुर्केको भएर निकै सानो उमेरदेखि नै म साहित्यमा सक्रिय हुन पाएँ । त्यसबेला कविता, कथातिर नै बढी केन्द्रित भएँ । युवावस्थाका उर्जाशील तीन वर्ष ‘प्रज्ञा पर्यावाची शब्दकोष’ लेखनमा लागें । त्यसपछि अनुसन्धानमुलक लेखनमा व्यस्त भएँ । जीवनका अधिकांश समय साथीहरूसँग सधैं वैचारिक कचिङ्गलमा परिरह्यो । त्यसैकारण त्रिचन्द्रको प्राध्यापन कर्म छाडेर बाँच्नका लागि आफैं स्कुल सञ्चालन गरें । लामो लेख्न धैर्य भएन ।

आख्यान लेखन व्यवस्थित हुनुपर्छ भन्ने मान्यता राख्छु म । यसैले अहिले ८० वर्ष कटेपछि उपन्यास लेख्न तात्तिएँ । पहिला १० जना साहित्यकार मिलेर लेखेको ‘आकाश विभाजित छ’ उपन्यास पनि प्रकाशित छ । यो संयुक्त आख्यान लेखनको पहिलो प्रयास थियो ।

पछिल्लो दुई दशकदेखि कविता, कथा र समालोचनाभन्दा हाइकु र तांका लेख्न जोडबल गर्नुभयो किन ?

२०४५ सालमा टोयटा कम्पनीबाट हाइकु लेख्ने प्रोजेक्ट आएको रहेछ । म पनि त्यो टोलीमा परें । अंग्रेजी साहित्यको अध्ययन गर्दा विख्यात कवि इज्रा पाउण्डले पनि हाइकु लेखेका रहेछन् भन्ने थाहा पाइसकेको थिएँ । त्यसैबेला रविन्द्रनाथ टैगोरले पनि हाइकु लेखेका रहेछन् । यो कुरा धेरैलाई थाहा छैन ।

मलाई हाइकु लेख्ने समूहमा राखेपछि पुष्कर लोहनीले त हाइकुमा पनि यौन ल्याइदिन्छ भनेर माधवलाल कर्माचार्य जंगिए । तर, प्राध्यापक कमलप्रकाश मल्लले मलाई मौका दिए । त्यसैबेलादेखि हाइकु लेख्न थालें ।

म साहित्य सुक्तिमय हुनुपर्छ भन्ने मान्यता राख्छु । ‘गीता’को सार हेर्नुस्, दुई लाइन नै हो । यसैले हाइकुको महत्व बुझें । कर्माचार्यले जे भने, त्यो सही भयो । मैले हाइकुमा पनि आफ्नो सिग्नेचर छाडेँ–

भीडभाडमा

च्यातिएकी रे तिमी

बैंस गनायो ।

यौन साहित्यप्रतिको यस्तो अति लगाव कहिलेदेखि सुरु भयो ?

२०१२/१३ सालदेखि नै हो । म त्यतिबेला गोविन्दप्रसाद लोहनीको सर्कलमा थिएँ । मार्क्सवादीदेखि विश्वसाहित्य पढ्ने अग्रजहरू थिए त्यस सर्कलमा । त्यतिबेला नै काठमाडौं आएका हरिवंश राय बच्चनका सायरी, मेहफिमा सुनाइने उमर खयामका रुवाई सुन्न पाइसकेको थिएँ । त्यही सेरोफेरोमा गोविन्दप्रसाद लोहनीले मलाई फ्रायडवादी साहित्यतिर रुची जगाइनुभयो । उहाँको प्रेरणामा विश्वमा भएका यौन साहित्य र सिद्धान्त खोजीखोजी पढ्न थालें ।

तपाईंको ‘कौडी’ भन्न्ने कविता यौन साहित्यको ‘मास्टरपिस’ रचना मानिन्छ, त्यो कविता लेख्दाको रचनागर्भ बताइदिनुस् न !

कौडी २०१८ साल आसपासमा लेखेको हुँ । त्यतिबेला काठमाडौंमा मानिसहरू खाल जमाएर जुवा खेल्थे । त्यतिबेला मैले कौडी देखें । यसो हेरेको, कौडी  ठाडो पर्दा त महिलाको यौन आकृति पो देखिने रहेछ । घोप्टो पर्दा त्यस्तै । जुवाडे पनि कौडीलाई यौन उन्मादजसरी पल्टाइरहेका छन् । यसपछि मैले कौडी शीर्षकको कविता लेखें ।

त्यतिबेलासम्म मैले फ्रायडमात्र होइन, कार्ल जुङ पनि पढिसकेको थिएँ । जसले गर्दा यौनलाई कसरी बिम्ब बनाउनुपर्छ भन्ने सिकिसकेको थिएँ । ‘हरेक लोग्नेमान्छेमा स्वास्नीमान्छे हुन्छ, हरेक स्वास्नीमान्छेमा लोग्नेमान्छे हुन्छ’ भनेर पढेको आधारमा कौडी कविता फुरेको हो ।

तपाईंका यस्ता सार्वजनिक अभिव्यक्तिहरुले आफ्नो वैवाहिक जीवनलाई असर पारेन ?

मैले ‘एरेन्ज म्यारिज’ गरेको हुँ, २०२६ मा । त्यो एउटा इन्सिडेन्टजस्तो पनि हो । जीवनमा विवाह नै गर्दिनँ भनेर बसेको मान्छे ।

प्रेममा म जोसँग रहें, अति नै घनिष्ट भएँ । प्रेम विवाह गर्न आँट्दा बुबाले थाहा पाएर परिवारमा होहल्ला भयो । पहिले बुबाले चित्त दुखाउनुभयो तथापि उहाँ पछि कन्भिन्स हुनुभएको थियो, आमाले मान्दै मान्नुभएन ।  घर–परिवारलाई दुःख दिएर विद्रोह गर्ने अवस्था पनि थिएन । तत्कालीन परिस्थिति त्यस्तै थियो र हामी सहजै छुट्टियौं ।

साहित्यमा लागेपछि विभिन्न क्यारेक्टरका केटीहरूसँग संगत गरी रमाएको मान्छे । धेरै महिलाहरु जीवनमा जोडिए पनि । तर, विवाहपछि म घरव्यवहार र लेखपढमै व्यस्त भएँ । यौन साहित्य लेख्दैमा महिलाहरूसँग बहुल सम्बन्ध हुनुपर्छ भन्ने छैन । यौन साहित्यको अध्ययन, सैद्धान्तिक ज्ञान र प्रयोगमा म बढी ध्यान लगाउँछु ।

साहित्यमा बेथिति छ, करप्सन छ । सूर्यविक्रम ज्ञवालीले रुपनारायण प्रधानजस्ता लेखकलाई छाँया पार्न अनेक तिकडमबाजी गरे

नेपाली साहित्यमा यौनको उपस्थिति कस्तो छ ?

हामीले विश्वेश्वप्रसाद कोइरालाको ‘कर्णेलको घोडा’ कथा चोरेको हो भनेर खोज्यौं । त्यो त चेखवको कथाबाट चोरिएको रहेछ । तर, उनले नेपाली साहित्यमा यौन र फ्रायडवाद ल्याएको सत्य हो ।

मैले साधारण कथामा पनि यौन खोज्न थालें । यसक्रममा नेपाली साहित्यमा   यौनको उपस्थितिबारे अनुसन्धान नै गरें । त्यसबाट के निष्कर्ष निस्कियो भने समग्र नेपाली साहित्यमा यौनको उपस्थिति बलियो छ । यौनलाई केन्द्रमा राखेर धेरै साहित्यकारले विशिष्ट सृजना गरेका छन् । विश्वेश्वरप्रसाद कोइराला, गोविन्द मल्ल, कृष्णभक्त श्रेष्ठ, मदन रेग्मीहरूको योगदानले नेपाली यौन साहित्य समृद्ध छ ।

बीपीमाथिको त्यो आरोप कसरी बाहिर ल्याउनुभयो ?

समालोचनामार्फत् बाहिर ल्याएका हौं । २०२० को दशकमा ‘इन्दु’ भन्ने पत्रिका निकाल्दा हामीले नेपाली साहित्यका टाउके–टाउकेलाई हान्ने भन्ने सोचले खोजी गर्न थाल्यौं । साहित्यमा चोरी कसरी भयो त्यसमा केन्द्रित भयौं । सुरुमा मबिबि शाह, बीपी कोइराला, बालकृष्ण सम र भवानी भिक्षुले गरेका चोरी कर्मबारे त्यहीँ लेख्न थाल्यौं ।

बीपी भारतबाट काठमाडौं फर्केका थिए । उनको स्वास्थ्य राम्रो थिएन । त्यस्तैमा उनले मलाई भेट्न बोलाए । हामीले साहित्यकै कुरा गर्दा उनले मलाई सोधे, ‘तपाईंले मेरो सबै साहित्य पढ्नुभएको छ होला, कुन कृतिले बढी प्रभाव पारेको छ ?’

मैले भनें– ‘तपाईंका सबै साहित्य दोहोर्याएर पढेको छु । तीमध्ये ‘तीन घुम्ती’ बढी मन पर्छ । धेरैलाई थाहा छैन तर, तीन घुम्ती ‘सिरिसको फूल’को काउन्टर हो ।

वीपले रिसाएर जे पनि बोल्ने ? भने । म पनि जंगिएर जवाफ दिएँ, ‘कुनै पनि महिला पुरुषसामु आत्मसमर्पण गर्छे ? गर्दिनँ नि । यसैले सिरिसको फूलले अस्तित्ववाद धान्दैन । तपाईंको तीनघुम्तीले भने अस्तित्ववादको आधार धान्छ ।’

यसपछिमात्र वीपीले प्रशन्न भावमा मलाई हेरे । त्यो दिन दमननाथ ढुंगाना पनि साथै थिए ।

अरुको चोरीसमेत सजिलै थाहा पाउने किसिमको अध्ययन गर्ने अवसर कसरी पाउनुभयो ?

गोविन्दप्रसाद लोहनीको संगत हुनेबित्तिकै मेरो अध्ययनको आकाश फराकिलो हुन थाल्यो । हाम्रो लोहनी परिवार पनि पढेलेखेकै घराना हो ।  त्यसमाथि बुबाले पनि शास्त्रीय कुरा, नीतिका कुरा पढाउनुभयो ।

गोविन्दप्रसादले भने सधैं ‘ट्रेडिसनमा बस्ने होइन, नयाँ कुरा पढ्नुपर्छ’ भन्नुहुन्थ्यो । यसैले आधुनिक साहित्य, सिद्धान्त पढ्न थालें मैले । फ्रायडवादका प्रत्येक लाइन कण्ठ हुन्थ्यो । नयाँ कुरा पढ्दा जति आनन्द अरुमा पाउन्नथें । एमए पढ्दाताका दिनभरि मदन पुस्तकालयमा बसेर पढ्थें । अरुलाई एकसाता लाग्ने किताब तीनदिमै सकिदिन्थें । सम्झँदा म आफैं छक्क पर्छु, त्यो उर्जा कहाँबाट आएको थियो !

नेपाली साहित्यको यति कडा आलोचकचाहिँ किन बन्नुभयो ?

साहित्यमा बेथिति छ, करप्सन (भ्रष्टाचार) छ । सूर्यविक्रम ज्ञवालीले रुपनारायण प्रधानजस्ता लेखकलाई छाँया पार्न अनेक तिकडमबाजी गरे । ईश्वर बरालले कृष्णप्रसाद चापागाईजस्ता कथाकारलाई छाँयामा पारे । म स्वयंलाई कमलमणि दीक्षितले सधैं खेदो गरे । कुमार नेपाललाई उनीहरूले नै फाल्न खोजे ।

कसले गरे भन्नुहोला, साहित्यको नेतृत्वमा बस्नेले गरे । पुरस्कार दिनेहरूले गरे ।  साहित्य, संस्कृतिको नेतृत्व गर्न बसेका व्यक्तिहरू जति खराब अरू कोही भएनन् । उनीहरूको आचरण र सोच नै निम्नस्तरको थियो । तिनले यो देशका लागि र साहित्यका लागि केही गरेनन् ।

यस्तो अन्याय तपाईंमाथि नै भएको हो त ?

सहनै नसक्ने प्रहार भएको छ ममाथि । एकपटक अमृत साइन्स क्याम्पसमा कवि गोष्ठी भएको थियो । व्यथित प्रमुख अतिथि रहेछन् । मलाई देख्नेबित्तिकै उनले मञ्चबाटै निस्किहाल् भने ।

तर, आयोजक विद्यार्थीले उहाँ हाम्रो पाहुना हुनुहुन्छ भनेपछि व्यथित चुप लागे । मेरो चिनजान सबैसँग थियो । सँगै बसेर खाना खाने, रक्सी खाने हुन्थ्यो । तर, मेरो सत्य बोल्ने स्वभावलाई उनीहरूले रुचाएनन् ।  कमलमणि दीक्षित, मदनमणि, सत्यमोहनहरूले खेद्नुसम्म खेदे ।

स्वयं राजा वीरेन्द्रले दिएको पर्यावाची शब्दकोषको कामबाट मलाई सत्यमोहन जोशीले हटाएको पत्र दिए । हटाउन लगाउने अर्कै टाउके थिए कि ! आखिर सबैलाई गाइड गर्ने म, मलाई नै घृणा गरेको देख्दा उदेक लाग्छ ।

यद्यपि, म लरोतरो मानिस भए डिप्रेसनमा जान्थें । पागल हुन्थें । मैले साहित्यिक जीवन र पारिवारिक जीवनलाई सन्तुलनमा राख्न सिकें । अध्ययनलाई लत बनाएँ । मर्यादाको सीमा कहिल्यै नाघिनँ ।

तपाईं तीव्र आलोचनाको परम्पराबाट हुर्कनुभयो । अचेलका साहित्यकार र बौद्धिकहरू भने आलोचनाबाट डराउँछन्, किन ?

यसको मूल कारण अध्ययनको कमी नै हो ।  बल्ल केही युवा आएका छन्, जसले विश्व साहित्य र विचारका कुरा राम्ररी पढेका छन् । आलोचनाको लागि त अध्ययनको जग हुनुपर्‍यो । निष्ठा हुनुपर्‍यो । आफ्नो चरित्र पनि सफा हुनुपर्‍यो ।

झोले बन्ने, जागिर खान, पद पाउन साहित्यमा लाग्नेहरूले कसलाई आलोचना गर्ने ? आफैं प्रदूषित भएपछि कसलाई दोष देखाउने ? म यौनवादी हो, तर व्यवहारको जीवनमा आजसम्म कतै यौन मामिलामा फसेको छैन । मलाई चिन्ने सबैलाई थाहा छ ।

तपाईंमाथि पनि त खुब आलोचना भएछ नि ?

ममाथि यौन साहित्यको पक्ष लियो भनेर आलोचना भएको हो । व्यक्तिगत मामिलामा होइन । मैले भन्दै आएको छु– सेक्स भएन भने कथा हुँदैन । तपाईं सीता, कुन्ती, द्रौपदी सबैको चरित्र हेर्नुस् । धार्मिकमात्र होइन, समाजमा प्रत्येक पात्रमा सेक्स घुमिरहेको पाउँछु म । यौन नभइकन कुनै पनि धर्म पूर्ण छैन । कुनै पनि जीव र जीवात्मा पूर्ण छैन । यौनबिना अस्तित्व छैन ।  ‘इफ दियर इज नो सेक्स, दियर इज नो स्टोरी’ भन्ने मेरो आदर्श वाक्य नै हो ।

आज नारी पुरुषबिना बाँच्न सक्छौं भन्छन्, तर महिलाहरू नै  मेकअप गरेर किन बस्छन् ? हिरा–जुहारत किन लगाउँछन् ? यो सबै सेक्स अपिलका लागि त हो । एकातिर सेक्स अपिल गर्ने, अर्कातिर पुरुषले थिच्यो भन्ने ? मैले यही कुरा बोल्दा आलोचना हुन्छ भने भइरहोस् ।

यतिबेला नारीवाद उत्कर्षमा छ । तपाईं भने ‘फेमिजिनम’माथि यसो भन्दै हुनुहुन्छ….

फेमिनिजम फेल खाइसक्यो । सिमोनले लेखुञ्जेल फेमिनिजम थियो, तर उनी पनि जाँ पाल सात्रसँग छुटिएपछि त्यसखालको विचार नै बन्द भयो । यसैले नारी–पुरुषको सम्बन्धलाई फेमिनिजमले धान्दैन । यसको जग बलियो छैन ।

मैले फेमिनिजम मर्‍यो भन्दैमा त्यही पत्याउनुपर्छ भन्ने छैन । तर, यसमा गहन अनुसन्धान गरिनुपर्छ । ख्याल गर्नुपर्ने कुरा के छ भने महिलामाथिका अन्याय र हिंसा फेमिनिजमसँग जोडिन्न । त्यो त अपराध हुन्छ । फेमिनिजम त अस्तित्व, यौन, निजत्व र अहमसँग जोडिन्छ ।

आलोचनाविहीन अवस्थाले नै हाम्रो समाज तल परेको हो त ?

अवश्य हो । आलोचनाबिना त प्रगतिपथ रोकिन्छ । तर, यो नेपाली आलोचनात्म चेत चाहिएको छैन । जी–हजुरी गरेर पद, प्रतिष्ठा कमाउने बानी परिसकेको छ सबैलाई । समाजलाई साहित्य पनि चाहिएको छैन । साहित्यलाई देखाउने दाँत बनाएका छन् ।

आजको मान्छेको जीवनलाई हेर्दा सबैखाले सिद्धान्त फेल खाएको अवस्था पो हो कि ?

सिद्धान्त त समयक्रममा फेल खान्छ । स्वच्छन्दतावादको उदाहरण हेर्दा पनि बेलायती कविता र फ्रेन्च कविता फरक रहेछ । फ्रेन्च स्वच्छन्द कवितामा सेक्स अपिल छ, तर बेलायती कवितामा छैन । यसैले एकै सिद्धान्तले सबै कुरा हेर्दा ठीक हुँदैन । समय, सन्दर्भअनुसार सिद्धान्तहरूले ठीक सम्बोधन गर्न सक्दैनन् । ती परिवर्तन हुन्छन् । यसैले त नयाँ खोज, अनुसन्धान गरिरहनुपर्छ । सिद्धान्तको जगमा सृजना हुने मौलिकताले मात्र हामीलाई केही दिन्छ ।

तपाईं सिद्धान्त र ज्ञानको पारखी हुनुहुन्छ । वर्तमान नेपाली समाज र राजनीतिलाई चाहिँ कसरी हेर्नुहुन्छ ?

म यो समाजको ताल देखेर विद्रोही बनें । ममा किन विद्रोह आयो ? यही समाज र यहाँका पात्रले गर्दा । मैले झापाकाण्डका साथीहरूलाई पनि चिनेको छु । झापामा मेरो जग्गा र मामाघर थियो । म हरेक वर्ष त्यहाँ जान्थें । यस अर्थमा म राजनीतिबाट त्यति टाढा छैन । मैले चिनेका, संगत गरेका, पढाएका मानिस नै आजको राजनीतिमा छन् । तर, उनीहरूको मार्ग ठीक छैन । विचार र व्यवहारमा तालमेल छैन । अध्ययन छैन, नयाँ कुरा सिक्ने जाँगर छैन । निष्ठा र उदारता त झन् छैन ।

अन्त्यमा, पुष्कर लोहनीको बहुचर्चित कविता कौडी –

घोप्टो कौडीको कोमलता र सुन्दरतालाई देखेर

हरेक युवती इर्ष्याले निधार खुम्याउँछन्

डाहाले छट्पटिन्छन्

साँच्चि नै आफ्नो प्रतिद्वन्द्वी ठानेर

हरेक युवती लाजले सर्माउँछन्

ठाडो कौडी देखेर

अनि आफैं नै नांगो उभ्भेजस्तो लाग्छ

यहाँ मोर्चा भैसकेको  छ

त्यसैले हरेक युवती घृणाले हेर्छन्

कौडीलाई

आफ्नै सौता ठानेर ।

प्रस्तुति : निभीकजंग रायमाझी

(स्रोत : अनलाईनखबर डट कम)

This entry was posted in साहित्यिक भलाकुसारी and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.