~इन्द्रकुमार ‘विकल्प’~
भूगोलका अक्षांश र देशान्तरका
काल्पनिक रेदाङ्कन झैँ पनि,
शान्तिको कुनै सिमान्त रेखा भेटिएको छैन
जहाँ गएर टक्क कोरिदिउँ
र ……..परिभाषित गरिदिउँ
अनि, शान्तिको सुसेली हालूँ ।
आर्तनाद—कोलाहलले सन्त्रास पूर्ण
भूत, वर्तमान र भविष्यत्
अट्टोलिकाबाट चियाइरहेछ
मात्र युद्धको घोषणा
विरोध/प्रतिरोध
प्रयोग/प्रक्षेपणमा रुकलिरहेछ ।
छलकपटको यो दुनियाँमा
हवस्—हवस्—हजुर सँगै
तँछाड —मछाड छन्
बेच्दै हिंड्न “नैतिकता”
कतै कोही, नुनतेल—मट्टितेल
दालभात डुकुमा अल्झिरहेछन्
कोही पूर्ववत,
शीतल—पवन स्वच्छ सुन्दर
हिमशिखरहरु,
मगमगाउँदा ती सप्तरंगी फूलका बास्नाहरु
हरित प्रवाहित मनमोहक फाँटहरु
खोज्दै भौंतारिइरहेछन् ।
कतै कोही फेक्ट्रि—कार—मोटरकार
रोजगार—बेरोजगारको लडाई लडिरहेछन्
वातावरण प्रदूषण
एसिड वर्षाले आतंकित हुँदै
सास फेर्न धौ धौ मान्दै
“एड्सको” प्रकोपले शिथिल हुँदै
प्लाष्टिकको हरियालीमा झुमिरहेछन् ।
(धौलाश्री)
२०५०
– कुश्मा, पर्वत
(स्रोत : रचनाकारको ब्लगबाट सभार)