~हरिप्रसाद भण्डारी~
उसको खाली पेटमा दुईचार घुट्की रक्सी परेपछि माथि टाउकादेखि नै उसको शरीर झम्झमाउन सुरु ग¥यो । रक्सीको नसासँगै उसको मन पनि तरङ्गिदै गइरहेको थियो र ऊ भावुक हुँदै गइरहेकी थिई । उसको अगाडि रहेको गिलासबाहेक अर्को साथी कोही थिएन । गिलासलाई साथी मानी र मुसार्न लागी । सोचाइका तरङ्गहरू झन् झन् गहिरिदै जान थाले । उसले विगत, वर्तमान र आगतसम्मका कुराहरू सोच्दै गई । उसले आफ्नो जीवनमा फूल भन्दा पनि काँडा धेरै भएको पाई । असैह्य पीडाले उसको मन विह्वल बन्यो । अनि भर्खर मुखबाट भित्र पठाएका रक्सीका थोपाहरू नुनिला आँसु बनेर आँखाबाट बाहिर पोखिन थाले । आँखाका आँसु पुच्न भ्याउँदा नभ्याउँदै नाकबाट सिगान मिश्रित पानी बग्न थाल्यो । पहिले सिँ गरेर फाली अनि पछ्यौराले आँखा र नाक दुवै पुच्न थाली ।
एउटा भएको छोरो पनि घरमा थिएन, टोलका केटाहरूसँग क्रिकेट खेल्न बाहिर गएको थियो । पढाइभन्दा बढी खेल्न मन पराउने उसको बानीमा खासै सुधार आएको थिएन । छोरो पढेर ठूलो डाक्टर बनोस् भन्ने चाहना बाबुको थियो । त्यसका लागि ऊ आफ्नो सम्पूर्ण जीवन आहुति दिन तयार थियो अर्थात् ऊ छोराका लागि जिन्दगीभरि श्रम गर्न तयार थियो । सुरु सुरुमा त लोग्नेको चाहना उसलाई पनि जाति लागेको थियो तर पछि पछि च्याँख मार्दै गएकी थिई ।
‘हर्के लामाका बूढाबूढीले पढेलेखेका छैनन्, सधै ज्याला मजुरी गरेर खान्छन् र पनि कति सुखी छन् । दिनभरि काम गर्छन्, साँझ भेलीको रक्सी खाएर डकार्छन् र अनि साना÷ठूला छोराछोरीहरूको लाजसरम पनि नमानी दुई जीउ एउटै बनाएर सुत्छन् । सुखी नै त छन् ।’ उता कुन्नि कुन हो ठूला डाक्टरकी स्वास्नी आफ्नै डाइवरसँग लठारिएको कुरा पनि उसले सुनेकी थिई । त्यसैले छोरो डाक्टर बनोस् कि कन्डक्टर चासो राख्न छोडेकी थिई । नजर उठाएर हेरी— ऊ बसेको उसको आफ्नो घर सिनेमामा देखिने सुन्दर घर भन्दा कम थिएन । ऊ भान्साको टेबुलमा थिई । अलिपर बैठक कोठा थियो । दामी सोफा, सक्कली कार्पेट, भित्ताभरिको कलर टिभी, आक्रषक दराज, अन्य आबश्यकीय सामानले भरिभराउ । त्यसैगरी आधुनिक सामानले सजिसजाउ भएको भान्सा कोठा । ठाउँ ठाउँमा सुन्दर फूलका गमलाहरू । बाहिर बगैँचा, माथि तलामा बेडरुमहरू । वास्तवमा भन्ने हो भने उसको घर साह्रै सुन्दर थियो र अब सजाउन र बनाउन पर्ने कुनै ठाउँ बाँकी थिएन । तयारी अबस्थामा किनिएको यस घरको मुल गेटबाट भित्र पस्दा उसलाई स्वर्गको द्वारबाट भित्र पसेजत्तिकै अनुभूति भएको थियो । घरभित्र पसेको दिन उसले आफूलाई संसारकै सबैभन्दा भाग्यमानी नारी ठानेकी थिई । बाहिर डेराबाट ल्याएका सामान एकैचोटि भित्र लैजादा सामानमा रहेको फोहर मैलाले सुन्दर घरमा कुनै प्रकारको दाग नलागोस् भन्ने कुरामा ऊ निकै सजग बनेकी थिई । सोचाइका तरङ्गमा रोमलिदारोमलिदै उसको मुखबाट लामो सास बाहिर आयो । लामो सास बाहिर फालेर रित्त रहेको पेटमा अगाडि रहेको गिलास पुरै घोप्टाई । अलिकता सन्तोषको अनुभूति भयो । पुनः लामो सास फेरी । खाली पेटमा रक्सीको आक्रमण तीव्र हुन्छ भन्ने कुरा उसलाई थाहा थियो । तैपनि वास्ता गरिन । केही खाउँ कि भन्ने बारेमा पनि विचार गरी । खाने कुराले फ्रिज टन्न भरिएको थियो । खशी, कुखुरा र बदेलको मासु, माछा, सुकुटी, काजु, हरियो सलाद, नमकिन, फ्रुनदाना, फलफूल……। उसले धेरै कुरा सम्झी तर कसैमा पनि मन गएन ।
‘होस्’ उसले मनमनै भनी । गिलास खाली भइसकेको थियो । जुरुक्क उठी, भान्साको स्टोरमा गई र ठूलो सिसीबाट गिलासमा सारी र पुन पहिलेकै स्थानमा आएर बसी । नजिकै आम्खोरामा रहेको पानी गिलासमा हाल्दै मनमनै भनी— ‘साला पिउँदा पिउँदै मर्न पाए पनि हुन्थ्यो नि बरु ।’ यसचोटिको रक्सी दुई तीन घुट्को पिएपछि हरियो सलादप्रति उसको मन जाग्यो । उठी । नजिकै रहेको ढक्कीबाट एउटा काँक्रो झिकी र काटी । दुई पिस काँक्रो पनि खान भ्याएकी थिइन फोनको घण्टी बज्यो । घण्टी सुनेर अनुहार बिगारी । फोनको घण्टी बजेको मन परेको थिएन । उठाइन । धेरैबेर बजिरह्यो ।
‘कसको होला ?’ आफैले आफैलाई सोधी । लगातार घण्टी बजेको हुनाले मन परिवर्तन भयो । कडलेस नजिकै टेबुलमाथि नै थियो, जाँगर नलागी नलागी उठाई । लोग्नेको फोन रहेछ ।
‘हाय डार्लिङ्ग ।’ उताबाट आवाज आयो ।
‘सन्चै छौ ।’ यत्ति मात्रै भनी, थप केही पनि बोलिन । उसका आँखा फेरि रसाए । ऊ सुकसुकाउन थाली ।
‘तिमी रोएको ?’ लोग्नेले भन्यो ।
‘धत्तेरी लाटी म यस्तो माया गर्ने लोग्ने हुदाहुदै तिमी रुन पर्छ त ?’ उसले थप्यो ।
‘यस्तो पनि माया हुन्छ ? काखमा छोडेर गएको छोराले एस.एल.सी. को परीक्षा दिन थाल्यो । गुलाफको फूलजस्तो अनुहार……..।’ ऊ हुँ हुँ गर्दै रुन थाली ।
‘तिमीलाई पैसा भए पुग्छ । तिमी लोग्ने मान्छेलाई पो केही छैन, जतिवटी च्यापेर सुते पनि हुन्छ । खतवात लाग्दैन । ………पर्दैन अबदेखि फोन गर्न । काटेको घाउमा नुनचुक लगाउने काम मात्रै ।’
‘हेर हेर रिसाएकी । मैले तिमीलाई त्यसै फोन गरेको हुँ र ! हेर न आज राति सपनामा तिमी र म सँगै थियौँ क्या । कस्ती राम्री तिमी त, पुर्णेको जुन जस्ती । त्यसै भएर फोन गरेको नि । हेर न काममा जान हतार भइसक्यो, तर पनि तिमीसँग कुरा नगरी मनले मानेन र फोन गरेको हुँ ।’
‘तिमीले त आज मात्रै देखे छौ । मैले त हरेक रात तिमीलाई देख्छु ।’ यसो भन्न मन लागेको थियो तर भनिन । रोई मात्र । आफ्ना मनको पीडालाई आँसुसँगै बगाई । लोग्ने एकोहोरो बोलिरह्यो एकैछिन् । पछि स्वास्नी बोलिन भनेर हो कि काममा जान हतार भएर हो ‘म भरे फोन गर्छु’ भन्दै फोन राखिदियो । फोन राखेपछि पनि ऊ धेरैबेर रोई । आँसु र सिगान पुच्दापुच्दै पछ्यौरा लपक्कै भिज्यो । पहिले रमरम लागेको नसा पनि फोनले उतारीदियो । पछि सिसी नै नजिकै ल्याएर राखी । हिजोका दिनको याद आयो उसलाई । भर्खर विवाह गरेर सहर पसेको बेला, लोग्ने काममा जान्थ्यो । ऊ डेरामा बसेर घर धन्दा गर्थी । साँझ लोग्ने थाकेको शरीरसँगै सानो झोला बोकेर आउथ्यो । झोलामा थोरै चामल, थोरै तरकारी, आबश्यकतानुसार नुन, बेसार र मरमसला हुन्थ्यो । कहिलेकाही भट्टीमा पाइने सस्तो रक्सी पनि लिएर आउथ्यो । लोग्नेले रक्सी खाएको पटक्कै जाति मान्दिनथी उसले ।
‘थाकेर लखतरान परेको हुनाले ल्याएको हुँ, नरिसान सानु’ भनेर फकाउथ्यो । लोग्नेले त्यसो भन्दा उसको कलेजो भित्र गडेर रहेको माया उजागर भएर आउथ्यो । थाकेको कुरा सुन्दा उसको मन चह¥याउँथ्यो । लोग्नेको दुःख देखेर मन भावुक हुन्थ्यो अनि आफैले गिलास ल्याएर हालिदिन्थी । पछि पछि त लोग्नेको अनुरोध र बलमा अलिअलि उसले पनि खान थालेकी थिई । खोलेले पेट भर्न परे पनि त्यो बेलाको आनन्द अर्कै थियो । लामा रात पनि छिन्भरिमै कटेजस्तै लाग्थ्यो । रात बितेर बिहान नभए पनि हुँदो हो भनेजस्तै लाग्थ्यो । तर अहिले तिनै रात महिनाजस्तै लामा लाग्छन् । रक्सीको नसामा एकैछिन् झ्याप्प निद्रा लागे पनि आधा रातमा निद्रा खुल्छ । अनि दाँया र वाँया हर फर्कदा फर्कदै दिक्क । पटक्कै निद्रा लाग्दैन । ट्वाइलेट जाने क्रममा झ्यालबाट बाहिर हेरी, सूर्यका पहेला किरण क्षितिजमा पुगिसकेका थिए । सोची— ‘अब रात पर्छ, लोग्नेले अघि नै सपना देखिसक्यो मैले सपना देख्ने पालो अब आउदैछ ।’ उसले हिजो ज्यापूको पुरानो घरको छिडीको कोठामा लोग्नेसँग बसेको जिन्दगी र आज तीन तले महलमा एक्लै बस्नु परेको जिन्दगीसँग तुलना गर्छे ।
‘कुन जीवन राम्रो हो ? ऊ कि यो ?’ ऊ पुनः पहिलेकै ठाउँमा आएर बसी र सोचमा डुब्न लागी— ‘किन यस्तो भएको होला ? यसमा कसको दोष छ ? मेरो ? उसको ? वा अरू कसैको ?’ यो बेलामा उसका अगाडि चुनाव, चुनावका बेलामा नेताहरूले गरेका भाषण, नेता, साँसद, मन्त्री यस्तै यस्तै मान्छेका अनुहार र घटना अगाडि आए । उनले गरेका कुराहरू याद आए ।
उसले धेरैबेर विचार गरी र मनमनै भनी— ‘यी सबै गफ हुन् । सबैका कुरा गफ । कसैले केही गर्दैनन् । देश विकास, शान्तिसुरक्षा, रोजगारी………। यी सबै गफ । हामीजस्ता जनता झुक्याउने, चुनाव जित्ने र मोज गर्ने प्रपञ्च ।’ उसले लामो सास फेरी ।
‘आगो लागेर सबै खरानी हुनुपर्छ, भुइचालो आएर सबै निमिट्यान्नै पार्नुपर्छ । यी सबै पुराना परम्परा, सोचाइ र व्यवहारमा सुधार नआएसम्म केही हुनेवाला छैन ।’ ऊ भावुक बनेर यस्तै कुरा सोच्दै थिई भुँई बजार्दै छोरो भित्र पस्यो । छोराको आगमन देखेपछि उसले आँसु पुछी । ऊ रोएको छोराले जाति मान्दैन, त्यसैले छोराका अगाडि ऊ सकभर रुदिन । आज पनि त्यस्तै गर्न खोजेकी थिई तर भ्याइन छोराले देख्यो । किन रोएको भनेर छोराले सोध्नु पूर्व नै उसैले भनी— ‘तेरा बाउले फोन गरेका थिए ।’ बाउको फोन आएको बेलामा आमा रुन्छिन् भन्ने कुरा छोरालाई थाहा थियो । त्यसैले पनि फोनको कुरा गरेकी थिई । छोराले कुनै जवाफ दिएन ।
हातमा समातेर ल्याएको क्रिकेटको ब्याट कुनामा फाल्यो र भन्यो— ‘आमा भोक लाग्यो ।’
आमाले मनमनै भनी— ‘बाउको फोन भन्दा उसको भोक ठूलो छ । सबै भोककै पछाडि दगुर्दै छन्— छोरो……, लोग्ने…..र …र …म पनि ।’
लामो सास फेर्दै उसले भनी— ‘यो भोक नभएको भए ! लोग्नेले मलाई छोडेर जाने थिएन । अनि घरी घरी भोक नलाग्ने भए म पो सम्झी सम्झी किन रुन्थेँ र ! पापी भोक ! पहिले बिछोड गराउँछ अनि जिन्दगीभरि सताउँछ ।’ त्यसपछि उसले गिलासमा भएको सबै रक्सी रित्ताई । उसलाई थाहा छ रक्सीले झन् भोक जगाउँछ । तैपनि उसले रक्सीलाई माया गर्छे । लोग्नेलाई भन्दा पनि बढी माया । + + + ।
–२०६६/०२/१३, काठमाडौं ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)