~ऋचा ढुङ्गेल~
कति गाह्रो नाता हो यो;कस्तो जटिल शब्द यो-लोग्ने,
अलग शरीर,अलग सोचको साथ रही;दु:ख सुख भोग्ने ।
शब्द शब्द केलाउने बानी मेरो,शब्दलाई पाथीमा बोक्ने उनको,
भूत लेख्दै अमर बनाउने मेरो प्रयास,लेखै नपढ्ने स्वभाव उनको ।।
धेरै नजिकिंदा यो पनि बिर्सिइदो रहेछ;मानिस दुई नै हो भनी,
बेला बेलामा स्वत: प्रकृतिले सम्झाउँछ शरिरको गोटा गनी ।
म भन्छु यो ठीक,तब स्वत: अर्को छनोट निकाल्छन् उनी,
कहाँ कहाँ अलि कम जानेकै छु मैले;यही सोचले चलाउँछन् जुनी ।।
माया गर्छन्,विचार गर्छन्,खुशी चाहन्छन् यो हो साँचो ,
तर त्यो सितै अपेक्षा ठूलो लिई धर्तीकै उनलाई खाँचो ।
पुरुष स्वभाव प्रशंसनीय, शक्तिवान,सजग अनि अ-टल,
तर विड्मवना बुझ्दैनौ; तिमीसित नारी गुणको छैन हल।
उल्टो सोचले ग्रसित ठान्छौ;दुई सोचको अलगपन बुझ्दैनौ,
म एक माटोले बनेको,तिमी अर्कैको;दुई शरीरले एकै सोच बोक्दैन।
म भन्दा जान्ने छौ कत्ति कुरामा; कतिमा म भन्दा राम्रा पनि,
तिम्रो जस्तै मेरो पनि सपना छन्;अनि त्यति नै हाम्रा पनि ।।
म बुझाउन खोज्छु; सोच्छौ म प्रयास गर्दैछु सिकाउने,
सोच्छौ ;म सबलाई भन्दै हिड्छु;तिमी मात्र गर्छौ लुकाउने।
नजिक आँउदा ठक्कर लाग्छ;टाढा जाँदा पनि एक्लोपनको घाऊ,
सही दुरिमा बस्नु नै उत्तम;आफ्नो घेरा भित्रै राखी पाउँ ।।
दोष ममा नभएको हैन;लेख्दैनौ र मात्र, नभए मेरोले त कथै बन्ला,
म आफूले आफू देख्दिन;सायद तिम्रो मनले मेरा खराबी भन्ला ।
मनले हैन,ज्ञानले। अब तिमीलाई अध्ययन गर्ने क्रम गर्छु शुरु ,
शिष्य म बन्छु, विषय वस्तु तिमी;अनि समय रहोस् गुरु ।
अवधि उमेर भरको;उपलब्धि होला ‘सायद’ सफलताको,
अब पढ्नै पर्यो; परिश्रम अनि युद्ध यो स्व: हकको ।
ठूला ठूला योगी अनि ऋषिले पनि हातै नहालेको यो विषय,
अध्ययन शुरु गर्नै पर्ने समयले थमायो आषय:
………………… मेरो लोग्ने-मेरो विषय ।।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)