कविता : मानव सभ्यताको बिन्दु र रेखा कविता

~टंक वनेम~Tanka Wanem

मानव सभ्यताको बिन्दुबाट छुट्टिएका
ऋगबेद….
बाइबल….
कुरान…..
मुन्धुम्……
टि्पिटक …..
……………
……………
……………
……………

त्यहीँ आस्थाको बिन्दुबाट
कोरिएका परलौकिक इश्वरका रेखाहरु
त्यहीँ आस्थाको लक्ष्मण रेखाले
छुट्टयाइएका छौं
मान्छे हुनुको होडवाजी
त्यहीँ रेखाले ब्याख्या गरिएका छौं तलमाथि
त्यहीँ रेखाले छुट्टयाएको हो उच्च निच्च ।
विनिमार्ण बर्गाकार रेखाभित्र अटाउनु पर्छ
ति मान्छेका रेखा चित्रहरुलाई अब
रेखा भन्दा वरतिर तिमी भिन्न छैनो
रेखा भन्दा परतिर कोही अद्भूत मान्छे हुन सक्दैन
रेखै रेखाले बनेको
माण्डव भित्र
आस्थाको बर्गाकार चित्र हो मान्छे
तिम्रो रेखा भन्दा मेरो रेखा लामो छैन
मेरो रेखा भन्दा तिम्रो रेखा छोटो छैन
जीवन र मृत्युको लम्बाइमा
समानन्तर छौं हामी ।
तिमी जन्मेर मर्ने
म मर्ने र तिमी जन्मने
हुने भए शायद
हाम्रो रेखाहरुमा भिन्नता हुने थियो
ज्यामितिय ढङ्गमा
हाम्रो कोणहरु पूरक हुन सक्दैन थियो
तर तिम्रो जन्म एक बिन्दु हो
जहाँबाट म पनि जन्मिन्छु
तिम्रो मृत्यु अर्को बिन्दु हो
त्यहाँ पुगेर म पनि मर्छु
तिम्रो र मेरो
जीवन र मृत्युमा बनेको सरल रेखा
उस्ता उस्तै हुन्छ भने
आरानमा बस्ने काली कोटेबालाई
रेखा कोरि दिएर
गीता नपढ बाजे !
तागेरा निङवाफुमाङको विश्वासमा
भ्रमका रेखाहरु उमार्दै
हे ! क्षेत क्षेती फेदाङमा
नफलाक् तिम्रो मुन्धुम्!
……………………….
……………..बाइबल
……………………….
……………..कुरान
……………………….
…………….टि्पिटिक
……………………….
……………
……………………….
तिम्रो जूनलाई घाम भनेको छैन मैले
मेरो घामलाई जून भन्न सक्देनौ
खोला नाला बन जङ्गल
चराचर जगत र
आकाश धर्ती नै एउटै भए पछि
कहीँ नभएको पञ्च तत्वबाट
मेरो रेखा बनेको होइन
तिमीले कोरेको रेखा पनि पक्कै
त्यसरी नै बनेको हुनु पर्छ ।
सबैलाई थाहाछ–
जन्मेर उसैगरि हाम्रो जीवन यात्रा शुरु हुन्छ
मृत्यु भएको दिन त्यसै गरि अन्त्य पनि
Nazca line जस्तै त छ हाम्रो जीवन
दुई बिन्दुलाई जहाँबाट ल्याएर
जसरी जोडे पनि
जीवन र मृत्युको सरल रेखा बन्छ ।
त्यहीँ यात्रामा छौं हामी
यो रेखा कविता
त्यसैको एउटा पात हुन सक्छ
यो मसी त्यहीँ रुखको
आँत भिजाउने शित हुन सक्छ
नभन साइँला !
तिम्रो जून मेरो जून हुन सक्दैन
मेरो घाम तिम्रो घाम हुन सक्दैन
बाँचे संम्म जून घाम हाम्रै हो
जून घामले घुम्ने गरेका बाटोहरु नै
हाम्रो जीवन यात्राको रेखाहरु हुन ।
रेखा………………….!

NOTE : Nazca line–400 to 650 AD तिर पेरुको मरुभूमिमा कोरिएको रहस्यमय रेखाहरु। जीवनकै रङ दिन उनीहरुले लामा लामा रेखाहरु कोरे। रहस्यमय आकृतिहरुको समयोजन गरेर जीवन यस्तै हुन्छ भन्ने सङकेतिक चिन्ह स्वरुप ति रेखाचित्रहरुको निर्माण गरेका थिए।

– ताप्लेजुङ् ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.