बाल कथा : गुन्ने र पुन्ने

~नेत्र तामाङ~

पुन्ने र गुन्ने निकै हिड्यो । ‘निकै थकिंसके, ‘अब हामी कता जाने हो ?’ पुन्नेले गुन्नेलाई सोध्यो । गुन्ने रोकियो र पुन्ने तिर फर्कियो । ‘हामी काठमाडौं जादैछौ, रमाईलो सहर, हाम्रो देशको राजधानी, काठमाडौंबारे धेरै कथा सुनेकै हो, तर यो अहिले धेरै परिवर्तन भइसक्यो रे, ठुला र अग्ला भवन बनेका छन् रे ।’

‘पहिले त्यहाँ अग्ला भवन थिएन र,’ पुन्नेले सोध्यो ।

‘उतिबेला भीमसेन थापाले बनाएको धरहरा निकै अग्लो थियो रे, अहिले ती भन्दा पनि अग्ला र पक्की भवन बनिसकेका छन् रे,’ गुन्नेले पुन्नेलाई बेली विस्तार लायो, ‘अहिले ती अग्ला भवनमा फिल्महल पनि बनेका छन् रे, अनि पान्डा हिरो भएको फिल्म पनि चल्दैछ रे, हामी त्यै भएर चाँडै पुग्नुपर्छ ।’

‘पान्डाको फिल्म, कस्तो अचम्म? कसले बनाएको होला त त्यस्तो फिल्म?’ पुन्नेले जान्न खोज्यो ।

‘जादुमयी छ रे फिल्म, सायद मानिसले नै बनाएको हुनुपर्छ,’ गुन्ने मुस्कुरायो, ‘त्यही भएर जाउ, हामी त्यहाँ आजको रातसम्म जसरी नि पुगौ ।’

‘किन नि ?

‘तिमीलाई थाहै छ, जंगलमा धेरै चितुवा आउँछन्, त्यसैले आजै पुग्नुपर्छ,’ गुन्ने यति भनेर हिड्न थाल्यो ।

‘हामी किन यति हतार गर्ने, हामीलाई खान पुग्ने बाँस यतै रहेछन्, यतै चढौ र टन्न खाएर मात्र जाउँ, नत्र हामी काठमाडौंमा भोकै हुनेछौ,’ पुन्ने बोल्यो ।

‘सहरमा पनि बाँस पाइन्छ होला, हामी किन सहरको बाँस नखाने ?’

‘त्यसो भए चाडै जाउँ, मलाई भोक लागिसक्यो,’ पुन्ने गुन्नेलाई छिटो पछ्याउन थाल्यो । पुन्ने र गुन्ने पान्डा ताप्लेजुङको पाथीभरादेखि हिड्दै आउदैछन् । बाटोमा उनीहरुलाई चितुवा, मनसाँप्रो र सिकारीको डर छ । काठमाडौं नजिकिएको कुरा बल्ल गुन्नेले सुनायो ।

आज भने सहर पुगिन्छ भन्ने लागेको छ पुन्नेलाई । बुवाले भनेको बाटोको चिन्हहरु बुझ्दै आएका छन् दुबै । केही घन्टापछि, गुन्ने रोकियो । ‘हेर त ती डाँडाहरु, पक्कै पनि हामी अब सहरको नजिक आइपुगिसकेका छौ ।’

यहीबेला उनीहरुले ठुलो आवाज सुन्यो । त्यो आवाज अझै ठुलो ठुलो जस्तो लाग्यो पुन्नेलाई । ‘के कराएको हा ?,’ पुन्नेले सोध्यो ।

आकाशबाट आएको ठुलो आवाज सुनेर गुन्ने पनि डरायो । तर पुन्नेको अगाडि आफु डराएको थाहा दिन भएन । ‘जे भए नि होस न, आकाशमा कराएको चीजले हामीलाई केही गर्दैन,’ गुन्नेले सहास दियो ।

उनीहरु डाँडामा पुगे । तल झिलीमिली थियो । ‘पक्कै त्यही होला काठमाडौं,’ गुन्ने मुस्कुरायो ।

‘यो त निकै अनौठो रहेछ गुन्ने, कति धेरै ताराहरु चम्किरहेका हेर त, कसरी बनेका होलान ती ? पुन्नेले सोध्यो ।

‘पक्कै पनि ती सहरका जूनकीरी हुनुपर्छ,’ गुन्नेले भन्यो, ‘सहरमा ठुलाठुला जूनकीरी हुन्छन् भन्ने सुनेको थिए ।’ उनीहरु सहरको छेवैमा पुगे । नजिकै बाँसको झाङ थियो । ‘आज यही बसौ भोलि सहर घुमौला,’ पुन्नेले गुन्नेलाई भन्यो ।

‘सहरमा साँझको बेला घुम्दा निकै रमाईलो हुन्छ रे, आज हामी केही खाएर घुम्न निस्कौ न,’ गुन्नेले प्रस्ताव राख्यो । पुन्नेले पनि सहमति जनायो । दुबै टन्न अघाएपछि एकैछिन बाँसको झाङमा एकैछिन् गुट्मुटिए । त्यहीबेला उनीहरुको आँखामा बिजुली चम्के झै झलस्स चम्कियो । पुन्ने झाडीतिर लड्न पुगे । गुन्ने पनि बेस्सरी डरायो ।

अध्यारोमा केही देखिएन । गुन्ने विस्तारै तल ओल्र्यो । नजिकैको झाडीमा उसले मान्छे देख्यो । त्यो मान्छेले पुन्नेलाई उठाउदै रहेछ । ‘अब प¥यो फसाद्, पुन्नेलाई मानिसले पक्रेछ,’ गुन्नेले भाग्ने विचार ग¥यो । ‘लौ तपाईको साथी,’ यही बेला ती मानिसले पुन्नेलाई गुन्ने नजिकै राखिदियो, ‘डराउनुपर्दैन, म वातावरण पत्रकार सञ्जालको सदस्य हुँ, तपाईहरु जस्तै दुर्लभ जन्तुको फोटो खिच्ने मेरो सोख, र संरक्षण गर्नु मेरो कर्तव्य ।’ आफुले फोटो खिच्दा आएको प्रकाशले असर पारेकोमा ती पत्रकारले क्षमा माग्यो ।

ती मानिसले दुबैलाई सहर घुमाइदिने भए । ‘लोप हुन लागेका जीवजन्तुको संरक्षणको आवाज उठाउदै म विभिन्न पत्रिकामा समाचार लेख्छु,’ बाटोमा निस्कदै ती मानिसले भने, ‘आज म पान्डा हिरो भएकै फिल्म हेर्न निस्केको थिए, संयोग नै भयो, तपाईहरु पनि हेर्नुहुन्छ हैन त?’

‘किन नहेर्नु,’ गुन्नेको मुखबाट फुत्ता आवाज निस्क्यो । गुन्ने र पुन्नेलाई देवता खोज्दा ढुंगा मिलेजस्तै भयो । उनीहरु बस चढे । दुबै वरिपरि हेर्दै रमायो । केही बेरमै उसले बाबाले भने जस्तै अग्लो धरहरा देख्यो । ‘उता हेर त पुन्ने, धरहरा त्यै त होला नि,’ पुन्नेलाई उठाउदै गुन्नेले भन्यो, ‘सेतो रङको, सुरिलो बाँस जस्तै । बाबाले नि यस्तै त छ भन्नुभएको थियो नि हैन?’ ती पत्रकारले पनि धरहरा नै हो भनिदिए । उनीहरु बसबाट ओर्ले । गुन्ने र पुन्ने रमाउदै ती पत्रकारको हात समातेर अघि लागे । केहीबेरमै उनीहरु सिभिलमल पुगे । लिफ्ट चढे ।

फिल्म हेर्न टिकट लिए । फिल्म हेर्न चश्मा पनि चाहिने रहेछ । फिल्म हेर्नेको लाइन धेरै लामो थियो । ती मानिससँग दुबै जना पछाडिको सिट्मा बस्यो । र, चश्मा लगायो । केहीबेरमा फिल्म शुरु भयो, फिल्मको नाम थियो, ‘काङ फु पान्डा ।’ यो थ्रीडी फिल्म रहेछ ।

फिल्ममा पान्डाले चलाखीपुर्वक डरलाग्दा जनवारलाई पनि हराइदिएकोमा उनीहरु दंग परे । कहिलेकही पान्डा बेस्सरी दौडदाँ आफै कुदे झै लाग्थ्यो । फिल्म भित्र आफै खेले झै लाग्थ्यो । अग्लो ठाउँबाट खस्दा भने झिनिन्न रिंगाटा लाग्यो । यस्तो बेला पुन्ने चश्मा फुकाल्थो । चश्मा फुकाल्दा भने त्यति अचम्म हुदैनथ्यो । पान्डाको किक् देखेर पुन्ने र गुन्ने दंग परे । रमाईला भएकोले फिल्म पनि छिट्टै सके झै लाग्यो । गाउँ फर्केर काङ फु सिक्ने योजना बुन्दै हलबाट बहिर निस्के ।

साँझ ती पत्रकारसँगै सुत्न गए । भोलिपल्ट मिर्मिरेमै उनीहरु घर जाने तयारीमा थिए । पत्रकारको ढोकैमा एउटा पत्रिका खस्यो । पत्रिकामा पहिलो पृष्ठमै चश्मा लगाई फिल्म हेरिरहेको उनीहरुको ठुलो फोटो थियो । पत्रकारले पत्रिका उनीहरुलाई नै दियो र फेरि भेट्ने वाचा गर्दै गुन्ने र पुन्ने घर फर्के ।

-२०६९ भदौ २ मा नागरिकको जुनकीरीमा प्रकाशित

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in बाल कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.