~एच सि एन्डरसन~
अनुवादकः शान्तदास
एउटी असाध्य जाती बूढी थिई । उसका छोराछोरी कोही थिएनन् र यही कुरामा ऊ सँधै पिरिइरहन्थी । तर एक दिन एउटी जादुगर्नी उसका अघिल्तिर टुप्लुक्क देखा परी र उसले कोदोजत्रो एक गेडा अन्न उसको हातमा राखिदिएर भनी, “लौ, जतन गरी रोप्नु, चिताएको कुरा पाउलिस् ।” उसले त्यस गेडालाई सानो भाँडामा जतनसाथ रोपी । केही समयपछि त्यस भाडाँमा बोट उम्रियो र त्यसमा रङ्गीविरङ्गी फूल फुल्न थाले । ती फूलहरू कमलका फूलजस्तै देखिन्थे । अचम्मको कुरो के थियो भने एउटा फूलभित्र त बूढीऔंलाभन्दा पनि सानी एउटी बच्ची थिई । अनि बूढीले त्यसको नाउँ फूलकुमारी राखी ।
एक दिन राती ओखरका बोक्राका कोक्रामा फूलकुमारी निदाइरहेको बेला एउटी बूढी भ्यागुती फुत्त उफ्रेर झ्यालबाट भित्र पसी र उसले कराउँदै भनी, “कस्ती राम्री बाबै ! यसलाई त म मेरो छोरोसँग विहा गराउँछु ।” देख्तैमा डरलाग्दी त्यस बूढी भ्यागुतीले सानी फूलकुमारीलाई बोकेर बगैंचातिर लगी ।
भोलिपल्ट बिहान फूलकुमारी बिउँझी । हिजो राती ओखरका कोक्रामा सुतिरहेकी आफू अहिले कमलका पातमा कसरी पुगियो उसलाई अचम्म लाग्यो र ऊ डराएर रुन थाली । एक छिनपछि छोरालाई खोज्न हिँडेकी बूढी भ्यागुती फर्की र उसले भनी, “देख्यौ नानी, यो मेरो छोरो, अबदेखी यो तिम्रो लोग्ने, है ।” त्यसपछि छोरो भ्यागुतो “ट्वारट्वार, ट्वारट्वार” कराउन थाल्यो । बूढी भ्यागुताका कुरा सुनेर पोखरीका माछाहरूको हृदयमा करुणा जाग्यो । माऊ भ्यागुतो र छोरो यस्सो अन्त लागेको बेला माछाहरूले फूलकुमारी रहेको पातको डाँठ टोकेर चुँडाले अनि तानेर परतिर लगे ।
त्यसपछि त फूलकुमारी पानीमा उत्रिँदैउत्रिँदै निक्कै पर पुगी । फेरि छिरबिरे पुतलीले पनि फूलकुमारी बसेको पात तान्दै अझ पर पुर्याइदियो । यसरी फूलकुमारी बूढी भ्यागुतीका हातबाट उम्किई । तर अचानक त्यस पात माथि एउटा गोब्रेकिरा उड्दै आइपुग्यो । उसलाई फूलकुमारी असाध्य राम्री लाग्यो र उसले फूलकुमारीलाई तर्साउँदै टपक्क टिपेर रुखमाथि लग्यो । तर गोब्रेकिराका अरु साथीहरूले फूलकुमारीलाई असाध्य नराम्री भनेपछि त्यस गोब्रेकिराले फूलकुमारीलाई रुखबाट तल ल्याएर जंगलमा छाडिदियो । फूलकुमारी जंगलमा एक्लै भई । उसले कैयौँ दिन फूलका बीउहरू मात्र खाएर बिताई । तर चराचुरुङ्गीहरूका मीठा चिरबिर गीत सुनेर उसले गर्मीका दिनहरू सुखपूर्वक बिताई । त्यसपछि शरद पनि वित्यो र हिउँद सुरु भयो । मिठा गीत गाउने चराचुरुङ्गीहरू न्याना देशहरूतिर बसाइ सरे । फूलकुमारी फेरि एक्लै भई, निर्दयी हिउँद साह्रै डरलाग्दो, त्यसमाथि झन हिउँ पनि पर्न थाल्यो ।
एक दिन जाडाले लुगलुग कामिरेकी फूलकुमारीका अघिल्तिर यौटी बूढी मुसी आई र दया देखाउँदै उसले भनी, “नानी, तिमी त कठ्याङ्ग्रिइछौ, बिचरी, मकहाँ आउनु ल, हिउँदभरि मेरो घरमा बस्नु है ।” त्यसपछि त्यस मुसीले फूलकुमारीलाई खान दिई र आफूसँगै राखी । फूलकुमारीले पनि त्यही बसेर हिउँद बिताई । एक दिन बूढी मुसीले भनी, “नानी, चाँडै नै यहाँ यौटा छुचुन्द्रो आउँदै छ । तिमीले उसलाई एउटा राम्रो कथा सुनाउनु है ।” नभन्दै केही दिनपछि नै छुचुन्द्रो त्यहाँ आइपुग्यो । भलाकुसारीपछि छुचुन्द्राले फूलकुमारीलाई सूरुङ्गको बाटो गरी त्यहाँबाट उसको घर हेर्न जान निम्तो गर्यो । एक दिन सँगै डुलिरहँदा तिनीहरूको एउटा गौंथली चरी थला परेकी देखे । छुचुन्द्राको हृदयमा दया थिएन । तर फूलकुमारी भने अति दुःखी भई । त्यसैले फूलकुमारीले पनि छिनछिनमा गएर गौथलीको हेरचाहा गरी । केही दिनपछि गौंथली चरी बिसेक भई र फुर्तिलो भएर उड्न थाली तर त्यस बेला फूलकुमारी भने निराश भएकी थिई किन भने उसको विहा छुचुन्द्रोसँग छिट्टै हुँदै छ । त्यस छुचुन्द्रालाई न्यानो घाम, हँसिला फूलहरू, नीलो खुला आकाश र मीठा गीत गाउने गौथली चरी मन पर्दैन्थ्यो । बूढी मुसी पनि फूलकुमारीको बिहाको तयारी गर्न लागिरहेकी थिई । आखिरमा फूलकुमारीले भनी, ” मुसी काकी, म त बिहा गर्दिनँ, म यसमा राजी छैन ।” तर बूढी मुसीले भने हप्काई, “बाठी नबन, हेर नानी, यस्तो कुरा गरेको मलाई मन पर्दैन । त्यो तिम्रो लागि लायकको छ फेरि उसको भन्छाकोठा र गुफा कस्तो राम्रो छ ।” फूलकुमारीले केही भन्न सकिन ।
आखिरमा बिहाको दिन पनि आउनै लाग्यो । एक दिन अँध्यारो मुख लाएर ऊ सुटुक्क बारीमा गई र रुन्चे स्वरमा विस्तारै कराई, “ए न्यानो सूर्य, ए हँसिला फूलहरू, ए नीलो खुला आकाश, अब म तिमीरुलाई हेर्न पाउँदिनँ, मेरो केही चलेन ।”
तर त्यही बेला उसकी सँगिनी गौंथली त्यहाँ आइपुगी र उसले सोधी, “प्यारी फूलकुमारी , म सँग न्यानो देशमा जान चाहन्छ्यौ भने आऊ मेरो बुइ चढ म लगिदिउँला ।” फूलकुमारी अति खुसी भई र उत्निखेरै गौंथलीका पखेटा समातेर त्यसमाथि बसी अनि गौंथलीले आफ्नी संगिनी फूलकुमारीलाई लिएर असङ्ख्य खेतहरू, नदीहरू र जंगलहरूमाथि उड्दै र तिनलाई नाघ्दै न्यानो मुलुकतिर लगी।
अन्त्यमा न्यानो मुलुकको खुला आकाशमा तिनीहरू पुगे । त्यहाँ सूर्य खूब तेजिलो थियो । फूलकुमारीले तल नीलो तलाएका बीचमा हरियो जंगल अनि त्यस जंगलका बीचमा एउटा दरबार देखी । अनि त्यही जंगलमा गौंथलीहरूको गुँड पनि देखी । फूलकुमारीकी सँगिनी गौंथलीले उसलाई दरबारको बगैंचामा फुलिरहेको सबभन्दा राम्रो सेतो फूलमाथि ओरालिदिई । अचम्मको कुरो त्यस फूलका बीचैमा फूलहरूका राजा थियो र उसले फूलकुमारीसँग फूलहरूकी रानी बन्न अनुरोध गर्यो । फूलकुमारी खुसीसाथ राजी भई । त्यस बेला बगैंचाका सबै फूलहरू खुसीले नाचे र गौंथलीले सबभन्दा मीठा गीत गाई ।
(साभार : “कथाकोसेली ६ : हान्स एन्डरसनका कथाहरु” बाट)