कविता : मुटुनेरिको सिस्नेरी

~शिव गौतम~Dr Shiva Gautam

सिस्नेरी
मेरी जननी, मेरो जन्मभूमि
घाम झुल्कँदाखेरि
घाम अस्ताउँदाखेरि
म तिमीलाई नै सम्झिन्छु
उषा अनि गोधुलिलाई हेरी

कहिले हिलैहिलोको होली खेली
कहिले धुलैधुलोमा धुलिई
म तिम्रा पाखामा तिमी मेरा आँखामा
रमाइ रहन्थ्यौँ सन्सारलाई नै भूली
को सँग जिस्किन्छन् तिम्रा ती झरी
को सँग खेल्छन् अचेल ती खडेरी
सिस्नेरी
तिमी मेरी यसोधा थियौ
म तिम्रो चक्चके कृष्ण अटेरी

परदेशमा गएको छोराछोरीको वेदनाले
आमाको छाती चिरिन्छ भन्छन्
बेलाबेला मेरा आँखाबाट बग्ने भेलले
तिम्रो छातीमा पहिरो जान्छ कि जाँदैन
बेलाबेला म त्यसै उदासिन्छु
तिम्रा पाखालाई कुहिरोले ढाक्छ कि ढाक्दैन
सिस्नेरी
तिमीले मलाई बिस्र्यौ कि
सम्झेकैछौ मैले तिमीलाई सम्झे जस्तै गरी

उमेरमा म जतिसुकै बुढोभए पनि
सिस्नेरी
तिमी मेरो सम्झनामा सँधै तन्नेरी

तिम्रो र मेरो दूरी जतिसुकै बढेपनि
सिस्नेरी
तिमी सँधै मेरो मुटुनेरि ।

– अमेरिका

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.