खण्ड-काव्य : दोरम्बा

~गोपाल विरही~

समर्पण : ती बघेनीका सन्तानहरूमा, जो दोरम्बामा मारिए ।
                                                                                     -गोपाल विरही

(अगष्ट १७ – २०६० साल साउन ३२ मा दोरम्बामा सानासानीको हत्यापछि बूढा बाको रोदन)

पञ्चचामर

(१)
म के गरूँ म के भनूँ अनर्थ भो अनर्थ भो
नरो नरो भनेर रून्छ देश नै अनाथ भो ।
उमेर भन्छ आर्यघाटमा नजा नजा नजा
शरीर सुत्छ मूक भै लगिन्छ आर्यघाटमा ।।
(२)
झरी झरेर सिम्सिमे सपूत खोज्छ देशको
बनेर भेल बग्छ लौ नदी सबै प्रदेशको ।
गरी विलाप कोइली टहल्दछे यताउता
बतास रून्छ शोकमा दगुर्छ खै कताकता ??
(३)
पहाड पोख्छ बेदना अडेर शान्त भावमा
रहेन जोश बाघमा छ कैद यो विलापमा ।
थिए सपूत अन्नमा हरेक गास बासमा
किताबमा सपूत ती थिए हरेक पाठमा ।।
(४)
झरेर काण्ड शोकले अपाङ्ग बन्छ वृक्ष नै
निशान चाह मोहको रहेन देशमा कतै ।
कहाँ गए सपूत खै बसेर देश हेर्दथे
अनाथ भेट्नमा उनै लिएर चाख घुम्दथे ।।
(५)
दिए अमूल्य देह नै थिए बडा उदार ती
बनेर याद धेरको अनन्तमा गए उडी ।
थिए हरेक जातमा र वर्णमा मुहारमा
भरेर शोक देशमा गए सपूत खै कहाँ ??
(६)
थिएन आश अन्त्यको थिएन हेर कल्पना
गरेछ जाल झेल कालले सपूतसँगमा ।
विलाप गान गर्दछन् हरेश भै हरेकले
पहाडले मधेशले हिमाल औ समस्तले ।।
(७)
हिलेर झारपात पोख्छ भावना सजीव भै
यताउता उडेर कीट खोज्छ राष्ट्र नायकै ।
अबेरसम्म छैन निँद अन्नपात ठप्प छ
अथाह दुःखको समुद्र भित्रभित्र बग्दछ ।।
(८)
लुकेर हिक्क हिक्क मात्र गर्दछन् यहाँ सबै
लिएर शोक गीत हातमा पुकार्दछन् सबै ।
सपूत ए सपूत जाग बोल हौ खडा छिटो
झुकेर भन्छ देशले बनेर लाशझैँ लुलो ।।

द्रूतविलम्बित

(९)
न त थियो उनको मनमा छल
असल मित्र थिए उनका जन ।
कमल झैँ अति सुन्दर वर्ण ती
शव भए सब धन्य उदार ती ।।
(१०)
भ्रमण गर्दछ को अब देशको
खबर लिन्छ र दिन्छ घुमेर को ?
किन जिऊँ म सपूत मरे यहाँ
अब गरूँ म त के नमरी यहाँ ??
(११)
शव भयो अब यो सब देश नै
सब गयो सुख शान्ति उडेर नै ।
सडक शून्य भयो अब घाट झैँ
छ घर शून्य विरक्त भए सबै ।।
(१२)
बन पहाड इनार सुखा भए
न त भयो पहरा टुहुरा भए ।
अब न फुल्दछ फूल गुलाफको
न अब हाँस्दछ रङ्ग गुराँसको ।।
(१३)
मलिन बन्दछ सूर्य विलापमा
शरण पर्दछ बादल चन्द्रमा ।
सब उडे पुतली बन कुञ्जका
अब वसन्त यहाँ किन आउला ??
(१४)
शिशिरको घर भो अब देश यो
अचल भो सबथोक विनाश भो ।
बन मयूर समेत उदास भो
न त छ नाँच न चाल मयूरको ।।
(१५)
अमन चैन थियो घरबारमा
कुशल रक्षक थे सब देशका ।
अब सपूत भए नभमा गए
सब सुखी जन लौ टुहुरा भए ।।
(१६)
दुखद अन्त्य भयो सतपात्रको
खतम भो अब आश भविष्यको ।
पर थियो दुखको सब कल्पना
सुख भयो अब केवल सम्झना ।।

तोटक

(१७)
घरमा बनमा मनमा जनमा
सबमा छ उही धनमा दिलमा ।
ममता जनको उनसँग थियो
करुणा मनमा उनभित्र थियो ।।
(१८)
विधि गर्दछ के किन दण्ड दियो
किन अन्त्य भयो यतिविघ्न छिटो ?
जब रून्छ विदेश अचेत भई
तब ढल्दछ देश विचेत भई ।।
(१९)
जसरी बनमा बनका बलिया
उसरी तिनमा जन थे बलिया ।
अति भद्र थिए अति वीर थिए
जगमा सब तत्व विलीन भए ।।
(२०)
सुनसान भयो सब खेर गयो
सब देह मरे अब देर भयो ।
बचरा बचरी अलपत्र भए
सब निर्मल कोमल आश मरे ।।
(२१)
जब ईश्वर ‘ईश्वर’सँग गए
‘परमेश्वर’ नै जब लोप भए ।
तब बुझ्दछ देश समस्त यही
‘परमेश्वर मानव कर्मभरि ।।’
(२२)
दुख सागरझैँ किन बग्दछ यो
दिन यो किन रातसमान भयो ?
जनका दिलमा कति आश थियो
जब अन्त्य भयो तब थाह भयो ।।
(२३)
सब दिक्क यहाँ सब घायल छन्
विचरा सब निर्धन निर्बल छन् ।
न त लाग्दछ भोक न भोजन छ
दिल भन्दछ पुग्छु उनैसित म ।।
(२४)
जब अन्त्य भयो सुनसान भयो
दिल अन्त गएन थपक्क भयो ।
वरदान थिए सबका घरमा
अभिशाप भयो किन यो उनमा ??

द्रूतविलम्बित

(२५)
हृदयमा कविता उनका थिए
किन गयौ कविता अरु धेर थे ?
बगलका पुतली सब बोल्दथे
सुदिनका सपना कति बुन्दथे ।।
(२६)
असल कार्य बडा उनका थिए
हृदय गीत उनैसित बज्दथे ।
सडकले उनको दिल बुझ्दथे
स्वजनले उनकै गुन गर्दथे ।।
(२७)
जब बहन्छ नदी बहुला बनी
तब कहन्छ कवि करुणा लिई ।
बगर रून्छ सबै कण उड्दछ
अब सहन्न नदी भल बन्दछ ।।
(२८)
मृतक झैँ लहरा सब झुक्दछन्
सबल नै पनि दुर्बल बन्दछन् ।
अब भयो सुखको अवशान नै
मुलुक नै अब बन्छ मसानझैँ ।।
(२९)
जब निहार्दछु शून्य कतै बसी
प्रकट हुन्न कतै दिलमा खुशी ।
सब अपाङ्ग अनाथ भए यहाँ
सब लुला लङ्गडा शब झैँ भए ।।
(३०)
न कविता सुखको मनभित्र छ
न त गितार यहाँ सुख बोल्दछ ।
सब यहाँ दुख दर्द ओकल्दछन्
सब कुरा मनभित्र छिरल्दछन् ।।
(३१)
जब बदल्छ वसन्त निराश भै
तब रहन्न वसन्त वसन्त झैँ ।
अलग हुन्छ वसन्त–विशेषता
नरम बन्छ यहाँ कछुवा कडा ।।
(३२)
मन भयो अमिलो सब विश्वकै
तन भयो अधुरो सब देशकै ।
नरक झैँ सब लाग्छ भयानक
घर धनी नभए घर के घर ??
(३३)
विरह पोख्दछ गुन्गुन माहुरी
करुण छन् घरका हर एक ती ।
न त उठेर हिँडौँ मन भन्दछ
चल उठौँ कसले अब भन्दछ ??

तोटक

(३४)
जन गीत थिए उनका सृजना
अनमोल भए अब ती गहना ।
मनमा सबका अब रोदन छन्
कहना उनका गहना–घर छन् ।।
(३५)
दरिला दरिला सब हातहरू
बलिया बलिया सब जाँघहरू ।
सब लास भए शब शान्त भए
बलवान समेत विरक्त भए ।।
(३६)
कखरा नपढी यस नाम पढेँ
अब छैन उही म हुरूक्क थिएँ ।
कतिका मन गर्दछ बात यही
सबका दिल गर्दछ याद उही ।।
(३७)
इतिहास भयो उनको कहना
सब खेर गए उनका सपना ।
अब हुन्छ र के जपले तपले
अब गर्छ र के धनवैभवले ??
(३८)
घरले पर जा बनले वर आ
किन भन्छ यसो उनकै घरमा ?
बनले वर आ किन भन्छ छिटै
यति निर्दयता बनको किन छ ??
(३९)
नगरी खबरै किन दूर भयौ
दुख यो यसरी किन धेर दियौ ?
तन मर्दछ खेल्न कतै बनमा
मन खोज्दछ रम्न उही दिनमा ।।
(४०)
हरिया बनमा दुःख दर्द सुनेँ
सब पात झरे सब काण्ड मरे ।
जल नै लिन छाडिदिए रुखले
सब भोजन छाडिदिए तिनले ।।

पञ्चचामर

(४१)
वियोगमा परे यहाँ हजार लाख सन्तति
अनन्तसम्म हुन्छ यो वियोगबाट खल्बली ।
छिमेकमा जताततै छ एकमात्र यै कुरा
उठेर लम्क रोशनी कता गयौ,गयौ कता ??
(४२)
फूलेर पुष्प सत्यको थियो मुहार चन्द्रझैँ
थिएन पापको घडा प्रकाशभित्र सूर्यकै ।
मिलेर पुण्य ‘सत्यलोक’मा पुगेर बास होस्
रहेर नाम लाख वर्षसम्म कर्मबोध होस् ।।
(४३)
महापवित्र कर्ममा डटी अडेर नै मरे
दिएर शोक देशमा लिएर यातना गए ।
झसङ्ग हुन्छ आङ यो सुनेर घोर यातना
चसक्क दुख्छ खै कहाँ बिझेछ के कताकता ??
(४४)
विलाप चल्छ गोठमा समेत भोक मर्दछ
र, दुःखले बथान झुण्डमा प्रहार गर्दछ ।
कपाल फाल्दछन् कुनै बूढाहरू स्वदेशका
पुकार गर्दछन् कुनै लिएर फूल हातमा ।।
(४५)
हरेक दुःखमा थिए उनी समाजसाथमा
थिए अनेक कष्टमा समेत साथ साथमा ।
रहेर साथ अन्य देश सत्य कर्म सिक्दथे
बुझेर मर्म एकले अनेकका बटुल्दथे ।।
(४६)
हरेक झार पातमा लछप्प शीत पर्दछन्
सबै विलापमा यहाँ नदी बनेर बग्दछन् ।
सबै सबै अपाङ्गमा समान भाव बग्दछ
बगेर भावना नदी महासमुद्र बन्दछ ।।
(४७)
शरीरसाथ बग्दछ अलग्ग हुन्न रक्त यो
अलग्ग हुन्न सम्झना अनन्तसम्म हुन्छ यो ।
बयान के गरूँ अझै सुनेर रून्न को यहाँ
अपार यो बयान हुन्छ पुग्छ के भनी यहाँ ??
(४८)
शरीर छैन नित्य यो मरेर जान्छ तै पनि
हतार गर्छ कालले लछार्छ लान्छ यस्तरी ।
भुलेर ती कथा सबै म खान सुत्न के सकूँ
बनेर जण्ड कालझैँ म हाँस्न फिर्न के सकूँ ??

लोकलय

(४९)
साना र सानी खै गए कता देख्दिनँ अचेल
सहिद भए भन्छन् नि सबै लाग्दैन पत्यार ।
हिजोझैँ लाग्छ सानाको मुहार आफैले देखेको
अस्तिझैँ लाग्छ सानीका कुरा कानैमा परेको ।।
(५०)
घर्घर पुग्थे ती हाम्रा साना दुखमा सुखमा
पुग्दथिन् सानी सबैका घर सानाकै साथमा ।
के भयो साना के भयो सानी दैवले के गर्यो
साना र सानी यसरी जाँदा भक्कानो फुटायो ।।
(५१)
आकाश रोयो चितालाई देखी सहर माझमा
धरती रोइन् सानालाई देखी अचल हालमा ।
मुखले बोल्न सक्तैन कोही आवाज निस्कन्न
हातले गर्न सक्तैन केही तागत निस्कन्न ।।
(५२)
नदी र नाला रोएर सबै बेहाल भैसके
खोलाका पानी चिसा न चिसा रोएर भैसके ।
वसन्त भयो शिशिरजस्तै कक्रक्क परेको
लागेन घाम फुलेन फूल सुकेर गैसक्यो ।।
(५३)
आर्यको घाट सानाको लास कसरी हेरूँ म
सानीको मृत शरीर आज के गरी हेरूँ म ?
साना र सानी जलेको हेरेँ क्यै गर्न सकिनँ
मरूँ कि बाँचूँ टाउकाले मेरो क्यै भन्न सकेन ।।
(५४)
शोकले आज रुखका पात हल्लन मान्दैनन्
दुखले होला मान्छेका आँखा जुध्न नै सक्दैनन् ।
झर्दछ आँसु सुनेर कुरा हुम्ला र जुम्लामा
पर्दछ पिर विदेशीलाई नेपाली माटोमा ।।
(५५)
फलका बोट अन्नका बाली पहेँलै भैगए
देशका साना बितेका सुनी मरेका झैँ भए ।
बजेन बाजा रोकियो बिहे मन्दिर शान्त भो
पाकेन भात झुप्रामा आज भोक नै हरायो ।।
(५६)
थिएन आश यस्तो नै होला भनेर कसैको
रहेन आश सानाको अब संसार पारको ।
सुन्दर नाम सुन्दर काम सानीको थियो नि
किन हो सानी गएको छाडी यस्तो के भयो नि ??
(५७)
खोलाका पानी बेगले बग्छन् छट्पटी लिएर
माथिका तारा पिल्पिल गर्छन् आँसुमा भिजेर ।
गहमा आँसु सबैको देख्छु क्वै छैन छुटेको
सबैका आमा बाबुको देख्छु भक्कानो फुटेको ।।
(५८)
भुइँचालो आयो पहिरो खस्यो धर्ती छ रोएको
पहाडबाट चट्टान खस्यो ढुङ्गा छ रोएको ।
रोएर बितोस् यो जुनी मेरो रह्यो नै के यहाँ
आँसुले ढाक्छ जीवन सारा नेपाली जातका ।।
(५९)
खौरेर केश लगाई सेता लुगा र कपडा
आशौच बारी बस्दैछ देश आँसुमै भिजेर ।
आशौच बार्ने समय पुग्यो टर्दैन बेदना
साना र सानी सम्झन्छु अझै फर्कन्न चेतना ।।
(६०)
बाटामा हिँड्दा घरैमा बस्दा सानालाई सम्झन्छु
एकान्त जाँदा एक्लैमा रूँदा सानीलाई सम्झन्छु ।
सम्झन्छु खाली चिताको आगो दन्दनी बलेको
ती मेरा प्यारा सानाको जीउ आगाले पोलेको ।।
(६१)
यै देशमा जन्मे यै देशमा हुर्के असल भएर
यै माटो खेले यसैमा हाँसे सज्जन बनेर ।
येनानदेखि बुटौल यात्रा ती हाम्रा सानाको
सम्झना कैल्यै मर्दैन मेरा प्यारा ती सानाको ।।
(६२)
देशमा घुम्थे विदेश जान्थे हाम्रा नै कामले
हौसला दिन्थे घर्घर पुगी ती हाम्रा सानाले ।
आकाश हाँस्थ्यो पहाड मुस्कान लिएर बस्दथ्यो
जमिन फुल्थ्यो गर्वले सधैँ मैदान रम्दथ्यो ।।
(६३)
फूलका बोट ढपक्क हुन्थे हरिया चौरमा
रङ्गी र चङ्गी फुल्दथे फूल हरेक बोटमा ।
फलको बोट सुन्तला दिन्थ्यो हृदय खोलेर
सिस्नुको बोट चसक्क घोँच्थ्यो ठट्टा नै गरेर ।।
(६४)
गाउँका घर हरेक सधैँ दैनिक कार्यमा
व्यस्त थे आफ्ना सानाका साथ हरेक मार्गमा ।
सानाले सुन्थे सबैका कुरा सबैले सानाका
साना र सानी जुटेका थिए देशको हितमा ।।
(६५)
सुन्दरी हाम्री सानीलाई हेरी मयूर नाच्दथे
बनका मृग हरिण सबै उफ्रेर खेल्दथे ।
चितुवा गैँडा बाघले पनि झुकेझैँ गरेर
सानीका सामु सलाम गर्थे रक्षक ठानेर ।।
(६६)
सहरी हावा गाउँले हावा सुस्तरी बहन्थे
नेपाली जात नेपाली वर्ण हाँसेर बाँच्दथे ।
बेलामा हावा चल्दथ्यो पानी बेलैमा पर्दथ्यो
वसन्त आउँथ्यो शिशिर आउँथ्यो सानन्द बित्दथ्यो ।।
(६७)
के भयो साना के भयो सानी यस्तो यो के भयो
कसरी भयो किन यो भयो दैवले के गर्यो ?
सत्रको तारिक अगष्ट मैना अलिच्छिन् रहेछ
रातको बेला परेछ हरे दैवले लगेछ ।।
(६८)
बसेका थिए मुटुमा साना मुटु नै चुँडियो
साना र सानी सम्झेर फेरि शरीर लुलियो ।
घरका छाना आकाशमाथि हेरेर रूँदैछन्
आँगनभरि लस्कर लागि कमिला हिँड्दैछन् ।।
(६९)
देशको झण्डा झुकेछ आज सानाको शोकले
सानाको बन्दुक रोएछ आजै एकान्त बोधले ।
बारूद पनि सानालाई खोज्छ बोलाउँछ सानीलाई
डाँफेले सोध्छ गुराँसलाई ‘के भयो सानीलाई ??’
(७०)
कविता लेख्न बसेको कवि लेख्दछ आँसुले
सारङ्गी रेट्न थालेको बेला रूँदैछ गाइने ।
मेरो र तेरो थिएनन् साना कसैका आँखामा
सबैका प्यारा साना र सानी नेपाली माझमा ।।
(७१)
एकान्त बस्ने गर्दछ मन आँसुका साथमा
साना र सानी गैहाले दुवै ‘ईश्वर’साथमा ।
सबैका दुख बुझेका साना के भयो आज यो
तिम्रा ती साथी रोएर मर्लान् भन न के भयो ??
(७२)
सानाको माया सानीको माया घाँटीमा अड्कन्छ
देशको होला के हाल अब चिन्ताले डुबाउँछ ।
स्वर्गमा राज्य गरेर बसून् ती हाम्रा सानाले
स्वर्गैकी रानी ती सानी बनून् अरू के भनूँ म ??
(७३)
सानाका बाबु सानीकी आमा रोएको देखेर
बूढापाकाले यसरी आँसु झारेको देखेर ।
बन्दूक अब समात युवा सानाको बन्दूक
बदला लिन पड्काऊ तिमी सानीकै बारूद ।।

(सानासानीको हत्याको बदला लिन बूढा बाले गरेको आह्वान)

(७४)
सुन यो जनले तनले मनले
जनयुद्ध यहाँ सुरु भो कहिले ।
बुझिराख सधैँ जनता सबले
किन चल्छ अझै जनयुद्ध यहाँ ।।
(७५)
जनयुद्ध यहाँ सुरु भो जहिले
घुसखोर सबै अलमल्ल भए ।
यमराजहरू अलमस्त थिए
जनयुद्ध सुनी अवचेत भए ।।
(७६)
परिचालनमा जब अस्त्र थियो
जनयुद्ध उता बनमा सुरु भो ।
जनयुद्ध यहाँ भरमार चल्यो
न घमण्ड चढ्यो न उदास भयो ।।
(७७)
जनका दिलमा अवशिष्ट छ यो
धनका बलमा अविनश्वर यो ।
अबका दिनमा अविकल्प छ यो
छ यहाँ छ वहाँ अवलोकित यो ।।
(७८)
जनवाद थियो सबको कहना
तर युद्ध नभै जनवाद कहाँ ?
जनमानसको जनतन्त्र लिई
सुरु भो जनयुद्ध विशाल बनी ।।
(७९)
जब शोषकको फलिफाप भयो
जब शोषितको उपहास भयो ।
जसका मनमा श्रम मूल्य थियो
उसका मनमा जनयुद्ध पस्यो ।।
(८०)
जब राज्य खुदै ‘यमलोक’ भयो
अपशब्द सधैँ जब घोर भयो ।
नव–राक्षसले जब खून पियो
जनयुद्ध यहाँ अविकल्प थियो ।।
(८१)
तरवार भए रणवीरहरू
बम तोप बने अखबारहरू ।
अझ तीब्र बने जनगीतहरू
सब छक्क भए परजीवहरू ।।
(८२)
कमजोर छ दुश्मन साहसले
तर लैस छ दुश्मन साधनले ।
घनघोर विचार छ युद्धसित
तर चल्दछ बन्दुक रीतसित ।।
(८३)
अपराध झनै जब उष्ण भयो
अधिकार अझै अपभोग भयो ।
जब देश अराजक भो जनको
नवनायक यो जनयुद्ध भयो ।।
(८४)
विधवा जब देख्दछु आँगनमा
तब चल्छ तुफान यहाँ दिलमा ।
जब बोल्दछ आश गरी निमुखा
जनसैनिक हाजिर हुन्छ यहाँ ।।
(८५)
विधवा निमुखा जनसैनिकमा
गृहिणी महिला जनसैनिकमा ।
जनवाद पढौँ जनयुद्ध लडौँ
जनयुद्ध यहाँ नहटेर लडौँ ।।
(८६)
खुकुरी मनको गर धार दरो
तब बन्दछ यो तन ढाल बडो ।
दुखको अनुमान कतै नगर
बल यो दिलको अझ तेज गर ।।
(८७)
जब दुश्मन काल खडा छ अघि
बन वीर सदा नहटेर पछि ।
नपरेर कतै तिनका वशमा
छर युद्धकला जनसैनिकमा ।।
(८८)
अब रक्षक हौ विधवा जनको
गर काम सधैँ जनका मनको ।
पढ दर्शन मानव जीवनको
गर मानव सार्थक चिन्तन यो ।।
(८९)
शुभनाम छरौँ शुभकाम गरौँ
जनसागरकै जलपान गरौँ ।
गर खून यहाँ जनघातकको
छर रक्त यहाँ सब दुश्मनको ।।
(९०)
जनजीवन वर्ग विभाजित छ
यसकारण युद्ध लगालग छ ।
गतिशील छ विश्व–विकास सधैँ
यसकारण चल्दछ युद्ध अझै ।।
(९१)
सपना पनि बन्छ यहाँ विपना
विपना पनि बन्छ यहाँ सपना ।
न त नोकर लौ न त चाकर भै
सब एक समान मनुष्य भई ।।
(९२)
भरिया अब मर्छ लडेर यहाँ
लडिया अघि सर्दछ हेर यहाँ ।
लडका लडकी सब एक यहाँ
सब शोषितको मन मिल्छ यहाँ ।।
(९३)
प्रतिभा अति धेर अनेक यहाँ
जनदुश्मनका पनि भूत खडा ।
समुदाय भयो सबको अगुवा
बलवान भए निमुखा विधवा ।।
(९४)
जनवर्गहरू जति शोषित छौँ
चल साथ महाजनयुद्ध लडौँ ।
जनवाद भयो अबको सपना
जनवाद भयो सबको सपना ।।
(९५)
जनवाद छिटै अब हुन्छ यहाँ
जनका घरमा धनको समता ।
सबका मनमा सबको ममता
तर युद्ध नभै जनवाद कहाँ ??
(९६)
सबले नखरा अब बन्द गरौँ
जनवर्ग उठौँ जनयुद्ध लडौँ ।
कति चल्छ र यो जनघात यहाँ ?
कति बग्छ र पाप–समुद्र यहाँ ??
(९७)
तन हुन्न बडो मन हुन्न बडो
मनले तनको बल हुन्छ दरो ।
बलवान बनौँ कमजोर नहौँ
तनले नभए मनले त गरौँ ।।

(अन्तरसङ्घर्ष)

(९८)
तर दास नहौँ बरु लास बनौँ
छलछाम कतै मनले नगरौँ ।
जनवाद पढी जनयुद्ध बुझौँ
जनयुद्ध गरी जनवाद पुगौँ ।।
(९९)
जसका मनमा छलछाम थिए
उसका दिन रातसमान भए ।
जनदुश्मनले घर गर्छ यहाँ
जनयुद्ध अझै तर चल्छ यहाँ ??
(१००)
जब ढल्छ अदालत दुश्मनको
तब बन्छ नयाँ जन–कानुन यो ।
जब दुश्मन छिर्दछ ‘मित्र’ बनी
तब चल्दछ अन्तर–युद्ध पनि ।।
(१०१)
जब खुल्दछ दुश्मनको मुखडा
तब बन्दछ युद्ध झनै तगडा ।
अघि बढ्छ छलाङ गरी जब यो
क्रम भङ्ग गरी अघि बढ्दछ यो ।।
(१०२)
जब कायर बन्दछ ‘वीर’ पनि
दलका दल सैनिकसँग पनि ।
षडयन्त्र बुझौँ जनदुश्मनको
बलका वशले जनसैनिकको ।।
(१०३)
नव–राज्य बन्यो ‘अधिराज्य’ ढल्यो
जनका दिलमा नव–राज्य बस्यो ।
नव–राज्य बन्यो जब पश्चिममा
सब देश डुब्यो त्यस तस्बिरमा ।।
(१०४)
जनयुद्ध चल्यो अझ तीब्र बनी
सब एक भए जनता जननी ।
जनयुद्ध यहाँ अझ लाल भयो
जनलस्करले सडकै भरियो ।।
(१०५)
छलछामहरू अति नीच थिए
जनवीरहरू अविनाश थिए ।
अविचार थियो जब दुश्मनको
अपकर्ष भयो तब दुश्मनको ।।
(१०६)
जब भौतिकवाद हिमाल थियो
त्यसभित्र अझै जब द्वन्द्व भयो ।
खलपात्रसमेत उदाङ्ग भयो
जनयुद्ध अझै परिमार्जित भो ।।
(१०७)
जनघात विरूद्ध छ युद्ध यहाँ
अधिभूत विरूद्ध छ युद्ध यहाँ ।
बलिदानहरू इतिहास बने
जनसैनिक भै जब वीर उठे ।।
(१०८)
अधिकार लिने जनयुद्ध गरी
मत यो सबको अधिकांश सुनी ।
उठ जाग भने अपहेलितले
सब हिम्मतिला सब वीर थिए ।।
(१०९)
बुझ भारत नक्सलवाद पढी
जनयुद्ध बुझौँ जनयुद्ध गरी ।
अपचालकले जब विश्व जित्यो
जनयुद्ध यहाँ अनिवार्य थियो ।।
(११०)
जब दुश्मनकै ‘अभिनन्दन’ भो
जनयुद्ध यहाँ अविराम चल्यो ।
अपयोजक बन्दूक किन्छ जहाँ
जनयुद्ध चल्यो जनकै बनमा ।।
(१११)
जब बर्बर भो दिल ‘शासक’का
‘अभिलेख’ बने जब झूठ कुरा ।
जब ‘शासन’ यो अभिशाप भयो
जनयुद्ध यहाँ अनि बल्ल चल्यो ।।
(११२)
जनदुश्मन भो जब ‘शासक’ नै
‘अभिवादन’ भो जनदुश्मनकै ।
जनगीतहरू तब तेज भए
‘अभियोग’हरू सब झूठ थिए ।।
(११३)
जब ‘शासक’कै अविवेक थियो
जनयुद्ध यहाँ अविकल्प भयो ।
अविकल्प थियो जनयुद्ध यहाँ
जनवाद खडा हुनुपर्छ यहाँ ।।

(सहिदहरू)

(११४)
बलिदान भए जब मस्त यहाँ
सडकैभर खून थियो दिलको ।
तब क्रूद्ध बनेर उठिन् कमला
अनि बम्जनको शिर हुन्छ खडा ।।
(११५)
जब ढल्दछ एक सपूत यहाँ
जब छुट्दछ ऊ कमरेड यहाँ ।
हुनुपर्छ सपूत सुरेशहरू
रुनुपर्छ अचानक वीरहरू ।।
(११६)
जब मिल्छ कुनै दिन वीरगति
तब जीवन सार्थक हुन्छ अति ।
मन हुन्छ जवान अझै तब यो
जनयुद्ध कडा तब हुन्छ अहो ११
(११७)
बदला उनको लिन रोष भरौँ
चल युद्ध गरौँ जनयुद्ध लडौँ ।
अब शोक यहाँ दिलमा छ भरि
चल दुष्ट विनाश गरौँ नडरी ।।
(११८)
जब बालक बन्छ सपूत यहाँ
जन–छाल विशाल बहन्छ यहाँ ।
सुन बालकका जनगीतहरू
बुझ सुन्दर ती मनभावहरू ।।
(११९)
अब सुन्दर लाग्दछ जेल यहाँ
अब ढल्दछ जेल–दिवार यहाँ ।
अब फुट्दछ बारुद लाख यहाँ
अब हार्दछ दानव–वर्वरता ।।
(१२०)
अभियान अनेकन चल्छ यहाँ
छहरा लहरा पनि मित्र यहाँ ।
अब उठ्छ हजार मुहार नयाँ
अब बन्छ विशाल समाज नयाँ ।।
(१२१)
रणकौशलमा जब एक ढल्यो
अनुहार नयाँ अविलम्ब उठ्यो ।
बदमास सबै बकवास भए
सब दुश्मन कागज–बाघ भए ।।

(दायित्वबोध)

(१२२)
‘लिएर देश काँधमा सुनौँ पुकार देशको’
असक्तको पुकार यो पुकार देश–भक्तको ।
विनाश औ विकासको छ योजना दरिद्रको
छ एकचित्त युद्धमा छ एकता अचम्मको ।।
(१२३)
सधैँ–अझै सधैँ–अझै अजस्र बग्छ रक्त यो
सपूतको छ सम्झना छ याद एक–एकको ।
चिहान खन्छ युद्धले छली प्रहार दुष्टको
लिएर लाल–रक्त उठ्छ आदमी बिहानको ।
(१२४)
अशिष्ट दुष्टका कुरा यहाँ छलेर पेश भो
अशुद्ध भो अशान्त भो अवैध भो असाध्य भो ।
कुरै–कुरा असाध्य भो यहाँ भयो त्यहाँ भयो
नकामका कुरा भएर काम शून्यमा गयो ।।
(१२५)
असत्यता लुकाइयो लिएर खोल ‘वैध’को
डरेर सत्य–तथ्यमा ‘अवैध घोषणा’ भयो ।
जपेर मन्त्र ‘शिष्ट’कोे अशिष्ट नै प्रसिद्ध भो
खुलेर वर्ग–युद्ध भो कुरा बुझेर दुष्टको ।।
(१२६)
प्रचारमा गरे अनेक घोषणा असत्यको
हजार सत्य भै उठे लुकेन भेद सत्यको ।
रहस्य भो खुलस्त यो ‘अवैध’ नाम झूठ हो
अनन्त सत्य हो यही बुझेर वर्गयुद्ध भो ।।
(१२७)
मुहारबाट वैध शिष्ट शुद्ध सत्य चिन्छ को ?
र, ‘वैध’ भैगयो असत्य सत्य लौ असक्त भो ।
अवैध खोल देखियो ल हेर ‘वैध–सत्य’मा
धपक्क वर्गयुद्ध भो बुझेर चाल दुष्टका ।।
(१२८)
उदाङ्ग ‘शिष्टता’ भयो अशान्त यो स्वदेश भो
असत्य यो कु–सभ्य हो भनेर वर्गयुद्ध भो ।
असत्यको असक्तता बनेछ वर्गयुद्ध यो
असक्त भो ‘सशक्त’ लौ ‘सशक्त’ झूठ देखियो ।
(१२९)
अवैध लिन्छ ‘वैधता’ असत्य बन्छ ‘सत्य’ रे
विलम्ब हुन्न सत्यले बुझेर चाल चल्छ रे १
‘अवैध’ बन्छ सत्य लौ असत्य गर्छ राज रे
बुझेर एक–एकले डटेर लड्नुपर्छ रे ११

(श्वेतआतङ्क)

(१३०)
विषाक्त हुन्छ दुष्टको अनेक गुल्लिया कुरा
तयार हौँ प्रहारले विषोपचार गर्नमा ।
विचार गर्छ दुष्टले पढौँ–बढौँ विचारमा
अघोर हुन्छ तिर्सना विपक्षका ललाटमा ।।
(१३१)
जसै–जसै समीप अन्त्य हुन्छ दुष्ट राज्यको
‘अदालती’ कुरासमेत हुन्छ खेलबाडको ।
न हुन्छ जीत सत्यको न हुन्छ देश देशझैँ
कपास गास बासमा र भेषमा स्वदेश खै ??
(१३२)
विदेशकै छ चाकरी गरेन काम ‘राज्य’ले
मरे करोड ‘राज्य’मा गरेन शोक ‘राज्य’ले ।
बुझेन ज्ञानका कुरा बुझेन दुष्ट ‘राज्य’ले
सुनेन बुद्धका कुरा पलायमान ‘राज्य’ले ।।
(१३३)
जसै अनाथ गास बास भन्छ रून्छ फिर्दछ
उसै ‘स्वदेश’ रक्त–पोखरी बनेर जम्दछ ।
न मान्छ लाज ‘राज्य’ले न हुन्छ शान्त देश यो
हुँदैन यस्तरी यहाँ बुझेर वर्गयुद्ध भो ।।
(१३४)
लगेर भीर ‘राज्य’ले धकेल्छ कुट्छ मार्दछ
दिएर दण्ड यातना सबै सतित्व लुट्दछ ।
प्रकाण्ड दिन्छ यातना गरेर युद्ध ‘राज्य’ले
बुझेर ‘राज्य’का कुरा सहन्न वर्गयुद्धले ।।
(१३५)
भयो समस्त राखझैँ जले घरै किसानका
मरे हजार लाख औ करोड वर्ग–युद्धमा ।
सधैँ छ रातकै घडी बिहान हुन्न यस्तरी
भनेर वर्ग–युद्ध भो सबेर–देर यस्तरी ।।
(१३६)
कुरा गरेर हुन्न लड्नु पर्छ वर्ग–युद्ध नै
गरेर आश हुन्न उठ्नु पर्छ यत्रतत्र नै ।
गुहार मिल्छ खै कहाँ सहेर नै सधैँ–सधैँ
डटी लडौँ छिटै सुतेर हुन्न कुम्भकर्णझैँ ।।
(१३७)
निधो गरेर माथले उचाल शस्त्र हातमा
चलौँ सबै तुफान भै विकासमा नयाँ–नयाँ ।
समाज बन्छ वर्ग–द्वन्द्वले समाजवादको
विनाश नै विकास हो भनेर वर्ग युद्ध भो ।।
(१३८)
जसै–जसै अजीर्ण भो खराब काम देशमा
प्रशासनै अबोध भो विकासको सवालमा ।
प्रहार गर्छ देशभक्तले खुला अडानमै
भनेर वर्ग युद्ध भो खराब हार्छ दिक्क भै ।।
(१३९)
पिएर खून दुष्ट–पुत्र देशको अतृप्त भो
स्वदेशको विकासको कुरा सबै अतीत भो ।
विनाशमात्र देखियो विकास खै कहाँ गयो
प्रभा विरूद्ध अन्धकार रोक्न वर्ग युद्ध भो ।।
(१४०)
सहेर बस्न सक्छ को सधैँ अदूरदर्शिता
सुनेर बस्छ को सधैँ अधर्म पापको कथा ?
कुकर्म मर्छ देशमै छ यत्रतत्र देशमा
खडा स्वदेश भो नयाँ अधर्मको विपक्षमा ।।
(१४१)
खराब पात्रको अधीनमै छ वर्तमान यो
लडौँ न एकबद्ध भै भविष्य हुन्छ सत्यको ।
अधैर्यता लिएर हुन्न लड्नुपर्छ धीर भै
सहेर दण्ड दुःख यातना र जेल–नेल नै ।।
(१४२)
सुनेर देशको कथा व्यथा बुझी हरेकको
पढेर राजकाज सामदाम दण्डभेद यो ।
तयार गर्छ योजना समस्तको दिमागले
विचारको छ उच्चता प्रहार गर्छ शस्त्रले ।।
(१४३)
अनाज छैन देशमा छ देशकै असक्तता
किसानका जहान नै असक्त छन् जतातता ।
कुकाम चल्छ ‘राज्य’मा सबै सुकाम बन्द भो
सुनाम हुन्न यस्तरी भनेर वर्ग युद्ध भो ।।
(१४४)
न दिन्छ रोजगार ‘राज्य’ले न गास बास छ
न गर्छ ‘राज्य’ले प्रयास ‘राज्य’ नै अफाप छ ।
मिली खराब तत्वले चढेर ‘राज्य–यन्त्र’मा
गरे विनाश देशकै भयो अनर्थ लौ यहाँ ।।
(१४५)
अनिष्ट हुन्छ यस्तरी सतर्क बन्नुपर्दछ
उदार हुन्न दुष्टको विचार बुझ्नुपर्दछ ।
लडौँ सबै मिलेर लाग लाममा परेडको
सुनौँ किसानका कुरा बुझौँ कुरा हरेकको ।।

(कला, साहित्य)

(१४६)
सधैँ अमूल्य हुन्छ काम वीरको सपूतको
अमूल्य हुन्छ योगदान लेक फाँट खेतको ।
न जान्छ खेर रक्त यो न हार्छ वर्गयुद्धले
न लुक्छ कायरै बनी न झुक्छ दुष्ट सामने ।।
(१४७)
कहाँ छ रक्त–अल्पता शरीरभित्र वीरको ?
सपूतकै छ भावना हरेक एक वीरको ।
स्वदेशमा विदेशमा अमेरिका र रूसमा
चलेछ युद्ध हेर आज देश एक–एकमा ।।
(१४८)
सुकेर जान्न खून यो प्रकाशमा सपूतको
मरेर जान्न युद्ध वीर साहसी सपूतको ।
‘म दुष्ट निम्ति काल हुँ’ भनेर बोल्छ युद्धले
‘म अन्धकारका विरूद्ध हुँ प्रकाश’ भन्छ रे १
(१४९)
असत्यका विरूद्ध सत्य बन्छ वर्गयुद्ध यो
अधर्मका विरूद्ध धर्म बन्छ वर्गयुद्ध यो ।
विनासका विरूद्धमा विकासको छ मार्ग यो
लडेर फाल ‘राज्य’ यो विकासका विरूद्धको ।।
(१५०)
छ नाच गान सत्यको शिवम् र सुन्दरम् यहीँ
कला कथा निबन्धमा छ वर्गयुद्ध बेसरी ।
छ वर्गकै विशेषता कला र नाच गानमा
किताबका कुरा सबै रहेछ युद्धकै कथा ।।
(१५१)
विचारको तर्क साथमा जवाफ शस्त्रको
छ साथ लाख–लाखको झुकेर हुन्न युद्ध यो ।
पतङ्ग रक्त–रङ्गको झुकेन यो कहीँ कतै
उडेर देश–देशमा प्रसिद्ध भो जताततै ।।
(१५२)
भएन बस्न यस्तरी सुतेर मात्र दिन्दिनै
चिनेर वर्ग दुष्ट यो उठेर लड्नु पर्छ है ।
दरिद्र–वर्ग बोल्छ वर्गयुद्धको महानता
हरेक भन्दछन् छ है विशालता विचित्रता ।।
(१५३)
दरिद्र–वर्गका किसान युद्ध माग गर्दछन्
मिलेर देशभक्तसँग वर्गयुद्ध लड्छन् ।
अठोट हेर आज यो सशक्त भो असक्तको
छ साथमा समस्त वर्गयुद्ध देशभक्तको ।।
(१५४)
झुकेन वक्ष वीरको अपार सम्झना भयो
मुहार लाल भो कतै शरीर हेर रङ्गियो ।
डटेर नित्य कर्ममा बुझेर मर्म देशको
समस्त अन्धकारसँग घोर सामना भयो ।।
(१५५)
नयाँ–नयाँ विनाशमा नयाँ–नयाँ विकास छ
नयाँ–नयाँ प्रहारमा नयाँ विचार बन्दछ ।
लगेर जेल थुन्न सक्छ के यहाँ लठैतले ?
महासमुद्र बन्दछन् यहाँ मनुष्य–खूनले ।।
(१५६)
गरेर अन्त्य देहको कहाँ सपूत मर्छ र
ढलेर वीरको शरीर के विचार ढल्छ र ?
अदम्य भै किसान जाग हेर ऊ भयो खडा
अपाङ्ग मर्छ युद्धमा अझै लिएर एकता ।।
(१५७)
चिरेर रात यो समग्र ‘राज्य’कै विरूद्धमा
डुबेर लाल–रक्तमा गरेर भव्य गर्जना ।
मरेछ पुत्र जेलमै चुरा फुटेछ हातको
रहेछ जालझेल नै दिवारभित्र दुष्टको ।।
(१५८)
बढेन हात पापमा गरेन चाकरी कतै
झुकेन माथ यो कतै गरेन कार्य दास भै ।
सकिन्छ बुभ्mन मर्म यो परेर दुःख दर्दमा
बुझिन्छ अर्थ दुःखको पुगेर वर्गयुद्धमा ।।
(१५९)
चलेछ युद्ध वर्गकै जितेर आत्म–युद्धमा
जितेर आत्म–युद्धमा पुगेछ वर्ग–युद्धमा ।
लडेर वर्गयुद्धमा लिएर काँध देशमा
गरौँ हरेक फाँटको भलो समाजवादमा ।।
(१६०)
सकेर युद्ध देशमा पुगौँ समस्त विश्वमा
गरौँ समाजवादको प्रचार देश–देशमा ।
बसौँ किसानसँगमा लिएर भाव एउटै
पुगौँ असक्त माझमा बनेर फूलझैँ सधैँ ।।
(१६१)
सहेर गास बास औ सबै अभाव युद्धमा
मिलेर जाग को यहाँ रहन्छ दुःख कष्टमा ?
गरेर काम खेतमा सुती चिसा जमीनमा
सिकौँ पुगेर काममा बनौँ कठोर युद्धमा ।।

योजना र कारवाही

(१६२)
बनेछ योजना नयाँ सरेछ यो विकासमा
रहेछ योजना नयाँ प्रकारका विचारका ।
गरेर काम यो नयाँ सिकौँ नयाँ–नयाँ कुरा
बुझेर योजना नयाँ बढौँ नयाँ विकासमा ।।
(१६३)
रहेछ दुष्टकै समेत योजना सबै नयाँ
प्रहार यो मुताविकै गरौँ नवीन योजना ।
सशस्त्र युद्ध यो झनै सशक्त बन्छ लक्ष्यमा
बढौँ न अस्त्र शस्त्रको विचारको प्रवाहमा ।।
(१६४)
अजिङ्गरै बनेर डस्छ युद्धले असत्यमा
डसेर गर्छ नाश वर्गयुद्धले अकालमा ।
अनाथको छ योजना असत्यका विरूद्धका
लिएर साथ योजना अपाङ्ग हिँड्छ युद्धमा ।।
(१६५)
जसै परेड खेल्न थाल्छ देशभित्र दुष्टले
जसै यहाँ लुकेर तोप किन्न थाल्छ दुष्टले ।
लुटेर खान्छ देशका अपाङ्गको सबै कुरा
अपाङ्ग उठ्छ एक भै लिएर योजना नयाँ ।।
(१६६)
हिडौँ डटेर शानले छ वर्गयुद्ध साथमा
लडौँ दिएर हौसला लिएर लक्ष्य हातमा ।
बनेर मित्र युद्धमा समस्त देशभक्तको
सबै कुरा लिएर सँग दुष्टका विरूद्धको ।।
(१६७)
चिनेर दुष्ट मुख्य गौण हुन्छ गौण साथमा
लिएर साथ गौणको गरौँ कुरा विकासका ।
प्रधान हो कुरा यहाँ दरिद्रको पुकार नै
छ अग्रभाग वर्गयुद्धमा सधैँ अनाथकै ।।
(१६८)
लडेर वर्गयुद्ध यो विशाल हौँ भविष्यमा
भिडेर एक–एक दुष्टसँग वर्ग–जङ्गमा ।
कहाँ रहेन योजना सबै प्रभावयुक्त खै
कहाँ ढलेन विश्वमै असत्य चूर–चूर भै ??
(१६९)
रहेछ जो असक्तको विरूद्धमा यहाँ कतै
रहेछ साथमा कतै, कतै बनेछ दुष्टझैँ ।
कुरा गरेर हुन्न धेर, काम नै प्रधान हो
गरेर सिद्ध योजना गरौँ विकास युद्धको ।।
(१७०)
गरौँ घृणा जसै–जसै भयो कुरा नकामको
प्रचण्ड–युद्धभित्र काम नै सबै प्रमाण हो ।
छलेर मित्र भै कुनै पसेछ दुष्ट नै भने
चलाख भै मिलेर फाल्नुपर्छ है सचेतले ।।
(१७१)
सुनेर गीत मस्तको लिएर लाल–बाँसुरी
हिडौँ खटेर काममा चलौँ डटेर बेसरी ।
भएर सूर्यझैँ कडा बनेर वीर मित्रझैँ
सुनेर रामको कथा बनौँ सशक्त आज नै ।।
(१७२)
कुतत्वका विरूद्धमा भिडन्त चल्छ युद्धमा
गरिन्छ बात ‘राज्य’सँग शिष्ट भै भिडन्तमा ।
लडेर वारपारमा गरिन्छ एक फैसला
गरिन्छ युद्धका कुरा विपक्षसँग युद्धमा ।।
(१७३)
कठोरता विपक्षको गलेर जान्छ अन्तमा
जितेर हुन्छ फैसला हरेक वर्गयुद्धमा ।
चलेर खेल झूठको प्रचार गर्छ दुष्टले
गरेर नाश अन्यको भयो भिडन्त भन्छ रे ११
(१७४)
भिडन्तका जपेर मन्त्र गर्छ नाश अन्यको
किसानको पिउँछ रक्त पाप यो जघन्य हो ।
स्वदेशभित्र हेर माग वर्गयुद्धको भयो
विनाश वर्गदुष्टको विकास युद्धको भयो ।।
(१७५)
नयाँ छ शब्दकोश यो छ शब्द–शब्द खूनको
युद्ध नै सबै कुरा छ माग यो असक्तको ।
युवा सबै उठे यहाँ भए तयार रातमा
भयो तयार योजना भयो प्रहार रातमा ।।
(१७६)
उठे सबै जहान नै दिएर हौसला दरो
भए विदा युवा सबै लिएर योजना बडो ।
भयो प्रहार रातमा उडेछ होस दुष्टको
प्रहार एकमा थियो प्रसन्नता हजारको ।।
(१७७)
डुबेर लाल–रक्तमा किसान युद्ध गर्दछ
बुझेर दुष्टका कुरा लडेर मुक्त बन्दछ ।
छरेर नाम विश्वमा भए सपूत लाख ती
हिडौँ युवा किसान हो लडौँ सपूतझैँ बनी ।।

(दोरम्बाका सपूत परिवार)

(१७८)
छलेर गर्न सक्छ दुष्टले प्रहार युद्धमा
लुकेर हान्न सक्छ ‘राज्य’ले अनेक युद्धमा ।
गरेर घात योजना न आमने न सामने
गरेन घोषणा सदैव युद्धकै पिशाचले ।।
(१७९)
जहानसँग भन्दछन् सपूतका बुबा बुढो
‘सपूतको बुबा भएँ मरेर पुत्र के भयो ?’
लिएर काँधमा हलो किसान खेत पस्दछन्
कुरा गरेर युद्धकै किसान खेत खन्दछन् ।।
(१८०)
मरी–मरी गरेर काम गास बास चल्दछ
सहन्न दुष्टको विचार भित्र–भित्र जल्दछ ।
लिएर अन्नपात वर्गयुद्धभित्र छिर्दछ
लडेर युद्धमा किसान सौर्य उच्च रच्दछ ।।
(१८१)
मरेर हुन्न अन्त्य यो शरीरमात्र ढल्दछ
ढलेर युद्धमा शरीर लाख अर्थ बन्दछ ।
मुहार छैन शोकमा छ रोषमात्र हुर्हुरी
प्रकाशवान सूर्यझैँ बनेर बल्छ दन्दनी ।।
(१८२)
बनेर होसियार लड्नुपर्छ अङ्ग–अङ्गमा
सिकार बन्नुपर्छ है परे त दुष्ट माझमा ।
बनेर जल्जला समान उठ्नुपर्छ काममा
मिलेर अन्त्यसम्म जुट्नुपर्छ वर्गयुद्धमा ।।
(१८३)
परेडझैँ गरेर नाच नाँच्छ हेर माहुरी
सपूतको लिएर रक्त बग्छ हेर गण्डकी ।
लडेछ युद्ध सत्यको डटेर माहुरी पनि
बुझेछ मर्म लालको गुलाब फूलले पनि ।।
(१८४)
रहन्छ पात–काण्डभित्र सम्झना सपूतको
सपूतकै बहन्छ रक्त बोटमा हरेकको ।
छ पाइला सपूतको जमीनमा अनन्त यो
जमीनले सुगन्ध छर्छ हुन्छ छाप रक्तको ।।
(१८५)
अनेकभित्र एकता छ फूल रङ्ग–रङ्गको
रहेछ युद्ध–वाटिका अनेक रङ्ग–ढङ्गको ।
टिकेन युद्ध सामने प्रहार दुष्ट–वर्गको
थिएन दुष्ट–वर्गसँग भावना सपूतको ।।

(प्रकृति)

(१८६)
लिएर साल–पातमा अचार दाल भात नै
बसेर बोट मुन्तिरै जमेर चल्छ भोज नै ।
बनै डुलेर चल्छ खेल भिन्न–भिन्न ढङ्गका
जवाफ चल्छ एक–एक युद्धका सवालका ।।
(१८७)
सचेत बन्छ मीर्ग यो दिएर ज्ञान होसको
सिकारसँग लड्छ बाघ दिन्छ खून जोशको ।
घना छ युद्ध–केन्द्र यो छ देशकै जमीनमा
जताततै छ युद्ध हेर बाघमा बनेलमा ।।
(१८८)
छ ऋद्धसिद्ध ओजपूर्ण वेगवान युद्ध यो
छ पूर्ण काम योजना नयाँ कुरा बटुल्छ यो ।
तसर्थ वर्गयुद्धमा दिनेछ साथ लाखले
हुरी बनेर युद्धको गरौँ न देखभाल रे ११
(१८९)
विशाल योगदान हुन्छ युद्धमा पहाडको
विचित्र खेल चल्छ युद्धभित्र नै हिमालको ।
नदीसमेत गर्छ योगदान हेर युद्धमा
जनावरै सबै मिलेर हिँड्छ वर्गयुद्धमा ।।
(१९०)
भएर लोप वंशको चरा छ रूष्ट ‘राज्य’मा
अनेक छन् चरासमेत ‘राज्य’कै विरूद्धमा ।
भएर लोप वंशको छ बाघ रूष्ट ‘राज्य’मा
गरेन ‘राज्य’ले भलो रहेछ चेत मीर्गमा ।।
(१९१)
नदी भयो गुलाम देश नै गयो विदेशमा
गुलाम बन्न ‘राज्य’ले दियो नदी विदेशमा ।
हराभरा बनैसमेत रूष्ट ‘राज्य’सँग छ
नदी र बाघ मीर्गको समेत साथ युद्ध छ ।।
(१९२)
स्वतन्त्रता भएन भन्छ बन्छ लुप्त सपै नै
सुरक्षितै रहेन ‘राज्य’ भन्छ गिद्धले कतै ।
बसेर दुःखदर्दमा सुगा छ दिक्क देशको
समस्त जीव रूष्ट छन् सहेर दण्ड ‘राज्य’को ।।
(१९३)
समग्र झारपातको बनेलको मयूरको
मनुष्यमात्रको कहाँ रहेछ वर्गयुद्ध यो ?
उठेर जङ्गलैसमेत हिँड्छ युद्धमार्गमा
छ युद्ध यो समस्तमा मनुष्यमात्रमा कहाँ ??

(एउटा बयान)

(१९४)
लडेँ अनन्तसम्म युद्ध भन्छ एक वीरले
गरेँ मुकाबिला डटेर दुष्टसँग सामने ।
लिएर सौर्य उच्च खालको म फर्किएँ यता
महानता जवानको लडेर नै भयो पता ।।
(१९५)
लडेछु जोश–होसले बनेछ यो कथै–कथा
चलेछ युद्धकै कथा यताउता जतातता ।
गए सपूत मित्र ती लडेर एक साथमा
बने सपूत युद्धमा गएर सँग–सँगमा ।।
(१९६)
बयान गर्न युद्धको म भन्छु एक सम्झना
प्रहार दुष्ट–पक्षको रहेछ घात–योजना ।
गरेन घोषणा विपक्षले भएन साहसै
थिएन अस्त्र साथमा थिएन योजना कुनै ।।
(१९७)
अचानकै भयो प्रहार दुष्टबाट केन्द्रमा
ढले सपूत एक वीर साहसी जमीनमा ।
कसेर हात–पाखुरा भरेर काँध रोषले
चलेछ होड दुष्टसँग भब्य जोडतोडले ।।
(१९८)
‘भिडन्त’ नै बनेछ एक हातको प्रहार यो
चलेछ वारपार लौ रहेछ घोर युद्ध यो ।
थिएन योजना कुनै थिएन अस्त्र तैपनि
थियो अभाव शस्त्रको चलेछ युद्ध तैपनि ।।
(१९९)
थिएन दुष्ट–वर्गसँग भावना सपूतको
थिएन दुष्ट–वर्गसँग लाल–रक्त वीरको ।
ढलेर एक वीर मित्र छट्पटी गरे पनि
भने उनै सपूतले ‘नरोक युद्ध यो’ भनी ।।
(२००)
लिएर माथमा कुरा दलेर रक्त एकको
भएछ युद्धमा प्रहार वीरको हजारको ।
थिएन लोभ–लालसा कहीँ कतै सपूतको
थिएन एकबद्धता विचारमा विपक्षको ।।
(२०१)
सकेत जित्न घात–युद्ध दुष्टको समूहले
विचार लुट्न सक्छ के लुटेर खून तोपले ?
लडेर यस्तरीसमेत हार हुन्छ दुष्टकै
मरेर युद्धमा समेत जीत भो सपूतकै ।।

(बन, जङ्गल, पहाड, नदी)

(२०२)
जब दुष्ट भयो खलनायकझैँ
कमरेड बने तब नायकझैँ ।
जनसैनिक दैनिक जीवनमा
श्रम गर्छ बसेर किसानकहाँ ।।
(२०३)
हतियार छ काँधमहा उसको
जनका घर हो पहरा उसको ।
जल–खण्ड भयो उसकै झरना
घर भो उसको अब भब्य गुफा ।।
(२०४)
बनजङ्गलमा छ अनेक कुरा
न छ शुल्क कुनै बनजङ्गलमा ।
रुख–पात बन्यो बनको टपरी
उपयोग भए बनका लकडी ।।
(२०५)
जनसैनिकको बनजङ्गलमा
छ कपास र गास र बास यहाँ ।
अब काण्ड र पातसमेत मिली
बनमै छ खडा झुपडा–झुपडी ।।
(२०६)
तगडा छ सुगन्ध यहाँ बनमा
बनमै सब साधन बारुदका ।
सब बाघ र मीर्ग यहीँ बनमा
अवरूद्ध छ दुश्मन–मार्ग यहाँ ।।
(२०७)
जनसैनिक–मुख्य–कमाण्डरझैँ
अघि बढ्दछ बाँदर हेर सधैँ ।
जनसैनिकको अब लस्करझैँ
कमिला पनि हिँड्दछ सैनिक भै ।।
(२०८)
सब सैनिकका अनुशासनमा
घर गर्छ जनावरले बनमा ।
जब फूल्दछ फूल यहाँ बनमा
तब चल्दछ युद्ध यहाँ बनमा ।।
(२०९)
जनगीत र मादल बज्छ यहाँ
हर बारुद–बन्दूक बन्छ यहाँ ।
बनसँग सिकौँ अब ज्ञानहरू
अनुशासित हौँ जन–वर्गहरू ।।
(२१०)
जब पस्दछ दुश्मन जङ्गलमा
तब उठ्दछ बाघ सधँै बनमा ।
जनदुश्मन दुश्मन हो सबको
घरको जनको बनको सबको ।।
(२११)
जनदुश्मन बन्छ सिकार यहाँ
सब दुष्ट विचार कुहिन्छ यहाँ ।
जनघातक लुट्छ अझै बनमा
तर लूट सधैँभर टिक्छ कहाँ ??
(२१२)
मन हुन्छ कडा अब जङ्गलको
जन–मङ्गल नै बन–मङ्गल हो ।
जनको बनको सब जीवनको
सबको अब दुश्मन ‘राज्य’ भयो ।।
(२१३)
बनभित्र बतास भयो बमझैँ
अब बाघ भए जनसैनिकझैँ ।
अझ तीब्र बनेर झरे झरना
अपवित्र भए ‘कर’ दुश्मनका ।।
(२१४)
सब एक भए जल–खण्डहरू
सब झुप्प भए बन–कीटहरू ।
कमिला घरका बनमै मिसिए
मछली जलका सब एक भए ।।
(२१५)
सब शोषित लौ बनभित्र छिरे
बनभित्र छिरी सबसँग मिले ।
जनयुद्ध विशुद्ध रहेछ कहाँ
अब मानवमात्र कहाँ छ यहाँ ??
(२१६)
अझ खास कुरा बनभित्र भए
कति दुश्मन नै अब मित्र भए ।
सब ‘दुश्मन’ हुन्न खराब सुनौँ
तर दुश्मनको छलमा नपरौँ ।।
(२१७)
गर दुश्मन हो बनभित्र कुरा
तर शिष्ट बनी गर बात यहाँ ।
जब दुश्मन मित्र रहेछ भने
उपयोग गरौँ मन मिल्छ भने ।।

(सचेतता)

(२१८)
जनदुश्मन बन्दछ मित्र कतै
अति सज्जन बन्दछ दुष्ट कतै ।
निरपेक्ष कहाँ छ र युद्ध पनि ?
जनयुद्ध लडौँ सब तत्व बुझी ।
(२१९)
मनले सब गर्छ विकास यहाँ
सब बाह्य कुरा अब गौण यहाँ ।
पछि हट्छ असत्य–कु–वर्ग सुनौँ
अघि बढ्छ सधैँ इतिहास बुझौँ ।।
(२२०)
अब उठ्दछ भौतिकवाद यहाँ
सब ढल्छ असत्य–‘पुराण’ यहाँ ।
जब हिँड्दछ युद्ध जवान बनी
तब गल्दछ जेल र नेल पनि ।।
(२२१)
अब बन्दछ बारुद यो कविता
अब फुट्छ यहाँ बमझैँ कविता ।
अब बन्छ नयाँ–जनको कविता
अब ढल्दछ शोषणको कविता ।।
(२२२)
इतिहास ढले जन–घातकका
अब बन्छ कथा जन–सेवकका ।
जन–काव्य–निबन्ध अनेक भए
जन–सैनिक–लेखक–लाख भए ।।
(२२३)
अब शोषण बुभ्mदछ बालकले
अब खेल्दछ बन्दूक बालकले ।
अब बन्छ सशक्त वसन्त पनि
अब उड्छ बतास तुफान बनी ।।
(२२४)
अब हट्दछ लिङ्ग–विभेद सबै
अब ढल्दछ जात–विभेद सबै ।
सब हुन्छ विनास ‘महाजन’को
अब बन्छ किताब यहाँ जनको ।।

(गणतान्त्रिक–समाजवादी–नयाँ–नेपाल)

(२२५)
अब चल्दछ बाल–विकास यहाँ
अब बन्दछ बाल–विभाग यहाँ ।
सुरु हुन्छ समाज नयाँ–पनको
अब राज्य भयो पहरा धनको ।।
(२२६)
अब खेत भयो जनता सबको
अब मालिक नै जन–वर्ग भयो ।
क्षमता–भरको गर काम तिमी
श्रमको फलको गर माग तिमी ।।
(२२७)
अब भोक र शोक रहेन कतै
अब रोग अनेकन छैन कतै ।
सब नाश भएछ विनाशहरू
सुरु भो सुन बल्ल विकासहरू ।।
(२२८)
हर फाँट विछट्ट–झटाझट भो
जनवाद विकास–फटाफट भो ।
सब ‘मन्दिर–मस्जिद’ झूठ थियो
अब उन्नति–काल नयाँ सुरु भो ।।
(२२९)
सबको–जनको अब राज्य भयो
सबको दिल आज मनोहर भो ।
कति सुन्दर लाग्दछ जीवन यो
छ असाध्य मनोरम देश अहो ११
(२३०)
सपना अब बन्छ यहाँ विपना
तर युद्ध कडा अझ हुन्छ यहाँ ।
जब गर्छ ‘छिमेक’ यहाँ लफडा
तब एक भई गर युद्ध कडा ।।
(२३१)
जब हुन्छ यहाँ जनवाद खडा
जनयुद्ध त पुग्दछ भारतमा ।
जब बन्दछ युद्ध विशाल यहाँ
तब बन्दछ विश्व सबै तगडा ।।
(२३२)
जब हुन्छ विचार समान यहाँ
तब बन्दछ साम्य–समाज नयाँ ।
जनयुद्ध विशाल–विकल्प भयो
श्रमचोर असत्य–अमान्य भयो ।।
(२३३)
अब बन्दछ राज्य–दरो–मनको
अब बन्दछ देश यहाँ जनको ।
तर युद्ध नभै छ कहाँ सुख यो ?
गर युद्ध डटेर विलम्ब भयो ।।
(२३४)
बनका सब पत्थर एक भए
टुकडा–टुकडी त पहाड भए ।
अब बन्छ पहाड विशाल झनै
टुकडा–टुकडी सब जुट्छ अझै ।।
(२३५)
छ पहाड–खडा–जनसैनिकझैँ
कपडा छ सबै हरियो–बनझैँ ।
तल बग्छ नदी–हिमखण्ड सधैँ
जनदुश्मनको अवरोधक भै ।।
(२३६)
जब दुश्मन हिँड्छ पहाड चढी
तल खस्तछ पत्थर काल बनी ।
जब अड्दछ पत्थर मित्र बनी
जनसैनिक हिँड्छ पहाड चढी ।।
(२३७)
अवशिष्ट छ शुद्ध–उमङ्ग यहाँ
छ विशेष–धरातल–धेर यहाँ ।
जब गर्दछ दुश्मनले अखडा
तब फुट्छ पहाड बनी टुकडा ।।
(२३८)
जब हुन्छ लडालड वा हमला
जब लड्दछ दुश्मन आपसमा ।
तब हेर्छ पहाड खुबै रसले
तब गर्छ वकालत पर्वतले ।।
(२३९)
जब गर्दछ चक्कर दुश्मनले
जब घेर्छ पहाड कुनै ‘बल’ले ।
नतमस्तक हुन्न पहाड पनि
अब बन्छ सशस्त्र पहाड पनि ।।
(२४०)
जनयुद्ध पहाड भयो जनको
सुन चिन्ह पहाड सचेतकको ।
सब सुन्छ पहाड कुरा जनको
धन बन्छ पहाड सबै जनको ।।
(२४१)
अब दुश्मन खोज्न पहाड चढौँ
अब सत्य बुझौँ जनसैनिक हौँ ।
जसको मन हुन्छ सु–सत्यतिर
उसको तन हुन्छ पहाडतिर ।।

समाप्त

Monday, May 28, 2012

This entry was posted in खण्ड-काव्य and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.