कविता : जमीन

~आशिष उदास~

मेरो बाजेले गोरु जोत्नु भो
बाँझो खेत खन्नु भो
र भाग्य उमार्नु भो
तर मेरो बाजेले
जुन खेतमा भाग्य उमार्नु भो
त्यो खेत मेरो हो भन्नु पाएन

मेरो बाउले भस्मे फाँड्नु भो
बारी बिराउनु भो
खोल्छा गोड्नु भो
र भविष्य फलाउनु भो
तर मेरो बाउले
जुन जमिनमा भविष्य फलाउनु भो
त्यो जमिन मेरो हो भन्न पाएन ।

मेरी आमाले जुन बारीहरूमा पसिना चुहाउनु भो
र सपना फुलाउनु भो
त्यो बारी मेरो हो भन्न पाएन

सरकार अब
यो देशको सप्पै सप्पै जमिन
आफ्नो आफ्नो भागमा बाटिदिनोस्
पक्कै पनि मेरो भागमा एक चोक्टा त पर्छैपर्छ।
कमसेकम त्यो
एक चोक्टा जमिनलाई मेरो हो
भन्न त पाउँछु नि।।

(स्रोत : लाली गुराँस,नेपाली द्वैमासिक, दार्जिलिङ – अङ्क ३० : सेप्टेम्बर-अक्टोबर 2018)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.