~धीरेन्द्र प्रेमर्षि~
लोकतन्त्र आउनुपर्छ, भनाइ हैन गराइमा
यतिमात्र के भनेथेँ, आगो बल्यो तराईमा
सँगसँगै काँधमाथि सूर्य बोकी ल्याको हैन !
आज किन दर्छौ साथी हामीलाई पराइमा
पुर्खौंदेखि मिलीजुली पाल्दै आको मितेरीको
साइनो आज जान लाग्यो कतै बसाइसराइमा
सराबरी पसिनाले सिँचिएको यो माटोमा—
कैफियत गर्यौ क्यार’ तिम्ले बीउ छराइमा
शान्तिप्रिय हुँदासम्म लाटो–बुङ्गो भनी–भनी
लाग्यौ तिमी हाम्रो भाग खोसी भुँडी भराइमा
पाँचै कोटि हातमा दिउँ काम–दाम बराबरी
होइन भने यसैगरी लाग्छन् सबै लडाइमा ।
– धीरेन्द्र प्रेमर्षि
‘पल्लव’ मैथिली साहित्यिक र ‘समाज’ मैथिली सामाजिकको सम्पादन
काठमाडौँ, नेपाल