~नवराज सुब्बा~
यो दुनियाँमा
दुःख दिने बाहेक
अरू थोक नै के छ र
भोक भन या गरीबी
बन्द भन या हडताल
सत्ता भन या प्रतिपक्ष
सबै सबै दुःखै दिने चीज
मात्र त हुन् नी मेरा निम्ति
मलाई खुशी बाँड्ने त
केवल एउटा हिमाल हो
म उठ्दा ऊ मुस्काउँछ
र हाँस्न सिकाउँछ मलाई
तर धुँवा धुलोले
डम्म ढाकेको छ आज ।
अचानक बन्द कर्र्यूा तोडेर
सुटुक्क तिमी आइपुग्यौ
यो बिर्खेको घरमा
तिम्रो आगमनमा म
एकैछिन भए पनि खुशी भएको छु
किनभने तिम्रो नाउँमा केटाकेटीले
पेटभरि खान पाउने भएका छन्
यही निहुँमा भुन्टेकी आमाको
मक्किएको धोती पनि फेरिने भयो ।
जगतमा छन् मेरा
तर सबै पराय मात्र
राम्रो मुखले आजसम्म
समृद्धिको छाक खाएको छैन
न विजयले धाप मारेको छ
हो हजुर
मैले नढाँटी भन्याँ
मेरो आफ्नो यहाँ कोही छैन केवल तिमी छौ
वर्षौ पिछे यो दुःखीको घर सम्झेर आउँछौ
केही दिन भए पनि संगै बस्छौ र जान्छौ ।
आफ्नै मुख पेट छोराछोरी
अनि यी छोराछोरीकी आमा पनि
गन्गन् गर्ने पात्र मात्र हुन् मेरा निम्ति
कोही छैनन् मलाई बुझ्ने
त्यसैले तिमीलाई आफ्नै ठानेर
सुटुक्क एउटा कुरा सोधुँ सोधुँ लाग्छ
दशैं !
तिमी पाहुना भएर मात्र आउँछौ
यो बिर्खेको घरमा सदा बस्न मिल्थ्यो कि ?
कति थेच्चिनु पीरको पिँडीमा
चुल्होमा दुइ छाक भएर बसिदिए हुन्थ्यो
बजाउँछु ढोल यी कर्मशील दुइ हातले
झारले छोपेका दिलमा
झपक्क सयपत्री फक्रिदिए हुन्थ्यो
झुल्किदिए हुन्थ्यो
भएर विजयको टीका
नअस्ताउने आकाशमा
अनि टल्किदिए हुन्थ्यो
सद्बुद्धि समृद्धि भई
नमेटिने गरि यो निधारमा ।
(स्रोत : नेपालीकविता डट कम)