~सिर्जना दुवाल~
सेता परेवा आकाशमा उडेको हेर्दा
सपनाबाट ब्युँझेकी
कृष्णेकी बूढी आमा
छोरा आउने प्रतीक्षामा
मृत्युसँग लड्दै बाँचिरहेकी छिन्
हिजो राति एकनाशले परेको पानीबाट
घर ध्वस्त भई
सडकमा अलपत्र परेका रामलाल
साना लालाबाला हेर्दै छ
विवश आँसु झार्दै छ
गाउँमा तन्नेरीहरू हराएका छन् रे !
कलिला हातहरू बन्दुक र बारुदका
गह्रुँगा भारी बोक्दै
देशसँग लड्न कम्मर कसेका छन्
बाटो ध्वस्त गरिदिएपछि
पहिरोको के मतलब ….
खोई अरू कति राममायाहरू
सेतो साडीमा
पतिको वियोगसँग जिउँदै गर्नेछन्
शान्तिको चाहना फलिरहेको यस देशमा
कुन्नि कहिले कसरी कोबाट
विद्रोह र अशान्तिको असिना झरिरहेछन् !
कोही त होला
सेता परेवाको प्वँाख काटिदिने
देशलाई अँध्यारोमा घचेटिदिने
बूढी आमैहरू भक्कानो फुट्ने गरी
देश हेर्दै रोइरहेका छन् ।
(स्रोत : नेपालीकविता डट कम)