कविता : एसिड वर्षा र मेरो गाँउ

~प्रकास थाम्सुहाङ~

सुन्छु
एसिड वर्षाले भिजेपछि
मेरो प्यारो गाउँ
आजकल उजाड-उजाड भएको छ रे

विगतमा,
केही वर्षो वियोगपछि
जब म मेरो प्यारो गाउँ फर्किन्थें
ऊ हार्दिक अङ्गालो फैलाएर स्वागतमा प्रतीक्षारत हुन्थ्यो
तर सुन्छु आजकल ऊ
कान्तिहीन मुर्झाएको छ रे
एसिड वर्षाले भिजेपछि
मेरो प्यारो गाउँ
आजकल बिरानो-बिरानो भएको छ रे

बतासे डाँडामा मनमोहक फुल्ने
बुकी फूलको मधुरिमा पनि
आजकल एम्बुसमा परेर घाइते छ रे
मधुश्रीमा आफ्नो जवानीको गीत गाउने कोइली पनि
र्छराको डरले बसाइँ सर्यो रे
सुन्छु
एसिड वर्षाले भिजेपछि
मेरो प्यारो गाउँ
आजकल शून्य-शून्य भएको छ रे

सम्झिन्छु विगत र स्मृति कोट्याउँछु
साठीमुरे खेतको सिमसारमा, असारे झरीमा
सद्भाव र प्रेमको हिलो छ्यापाछ्याप गर्ने
बाउसे र रोपाहाहरू
रामनवमीहाटमा उन्मुक्ति भावले
धाननाच नाच्ने
सोल्टा र सोल्टिनीहरू
आहा झ् त्यो पालामको मुर्च्छना
कस्तो मधुर गीत थियो त्यो
तिनीहरूको शालिन स्पर्श
कस्तो सुन्दर प्रीत थियो त्यो
तर सुन्छु आजकल
समय त्रासदीमा
सबै-सबै विलुप्त भएको छ रे
एसिड वर्षाले भिजेपछि
मेरो प्यारो गाउँ
चिहानघारीझैँ भएको छ रे ।

– ईलाम

(स्रोत : नेपालीकविता डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.