~प्रेम राई परिक्षित~
जीवनको
रङ्ग बदल्न खोज्छु
जीवनले फेरि पनि
आफैलाई रङ्ग्याईदिन्छ
आफ्नै रङ्गहरुले
पोतिदिन्छ लतपत
बेढङ्गका रङहरुले
मन नपरे पनि स्विकारिरहन्छु
जीवनका रङ्गहरु
मन नपरेको कपडाको
रङ्ग अनि बुट्टाहरु
स्वीकार्नु अनि अनुभूत गर्नु
पनि त जीवनको सुन्दरता रहेछ!
हिडाउन खोज्छु
जीवनलाई आफ्नै गोरेटोहरुमा
तर जीवन आफ्नै बाटोमा
एकोहोरो हिडिरहन्छ
र मलाई घिसारी रहन्छ
पछ्याउनुको बिकल्प छैन मलाई
घिस्रनुको बिकल्प छैन मलाई
बिकल्पहिन जिन्दगी
म घिस्रीरहन्छु एकोहोरो
एक ठाउँमा बस्नु भन्दा
सकिनसकी घिस्रदै दूरीहरु छिचोल्नु
पनि त जीवनको जिवन्तता रहेछ!
खुल्ला आकाश
अनि फराकिलो बाटो
एक्लोपनले सताई रहन्छ
साँगुरा गल्लीहरुमा
डरले डेरा जमाई रहन्छ
सङ्घर्षमा होमिन्छु
तर फेरि पनि जिन्दगी
म माथी षडयन्त्र बुनिरहन्छ
फसाईरहन्छ मलाई
आफ्नो माकुरी जालहरुमा
यो अन्तर सङ्घर्ष
पनि त आयाम रहेछ जीवनको!
म समर्पणको भाषा बुझ्छु
तर आत्मसमर्पण बुझ्दिन
लडाई चलिरहेछ
अन्तिम लडाई अस्तित्वको
कि म आफ्नै रङ्गहरुमा
जीवनको रङ्गहरु मिसाउन सकूँ
आफ्नै बाटाहरुमा
जीवनलाई डोरिन बाध्य पारूँ
जीवनको उचाईलाई
बुझाईका गहिराईहरुले नाप्न सकूँ
अनि जीवनको सुन्दरता
आफ्नै हातहरुले अनुभूत गर्न सिकूँ
आफ्नै मनले स्पर्श गर्न सिकूँ!!
(स्रोत : परिवर्तन खबर डट कम)