~तोषल दाहाल‘अल्पभाषी’~
पुस्तकका पानापानामा
भविस्यको खोजि गरिरहेका मेरा नयनहरु
पहिलो जम्का भेटमै
एकोहोरिएर नियाल्छन्
अरु दुई नयनहरुलाई
जुन नयनहरुबाट पराबर्तित हुन्छ
मेरो आफ्नै प्रतिबिम्ब
हासो र मुस्कान अनि आत्मिय भाव
किन किन नयनहरु स्थिर भएर कुरा गर्छन्
शब्दबिहिन, भावबिहिन तर घण्टौसम्म
साधकले अगाडि रहेको दीपलाई
लगातार नियालिरहेपछि
ढकनिले ढाकिएका थकित थकित नयनहरुले पनि
त्यही दीप देखेझै
अब त यी नयनहरुपनि
पुस्तकका पानापानामा
तिनै नयनहरु देख्दछन्
बाले भनेको सम्झन्छु
“तेरो सुन्दर भविश्य
पुस्तकका पानापानामा छ
राम्ररी खोजेस् ।”
पक्का मेरो भविश्य तिनै नयनहरु हुन्
नत्र किन भेट्छु पुस्तकका पानापानामा
सम्झौता गर्छु ती नयनहरुसंग
एक अर्काको भविश्यको रुपमा
तर अचानक ती नयनहरु
मबाट खोसिन लाग्छन्
दुनियामा ती नयनहरु रोज्ने
अन्य धेरै नयनहरु पनि रहेछन्
बिकल्प एउटै भेटिन्छ
खोसिन लागेका नयनहरुलाई
आफ्नो पेवाँ पारी
दुनियाको नजरबाट लुकाउने
मेरो कर्तब्य पनि त त्यही हो
आखिर त्यसै गरियो
त्यसपछि त झन् मेरा दुई नयनहरुमा
अभावै अभावको बादल मडारिन थाल्यो
ती दुई नयनहरुमा पनि त
हजारौ ईच्छा र आकाक्षाको
बादल मडारिईरहेकै थियो
एक आपसमा जुधिरहेका नयनहरुमा
दुबै बादलको ठक्कर लाग्यो
परिणामश्वरुप
हाम्रा चारै नयनहरुमा
बिशाल झरी पर्यो
परेलिको बाद तोडेर
गालाहरु थथर्काउदै
ओठहरुमा कम्पन ल्याउदै
अश्रु भेल झर्यो, बर्खे भेल
त्यही भेलले गर्दा
पहिरो चल्यो बिशाल पहिरो
बिद्दा सागरतिर बगिरहेको जीवन
पहिरोको माटोले थुनियो
अनि बग्न थाल्यो धनसागरतिर
आखिर महाशागरमा पुग्नुपर्ने
मेरो जीवन एउटा सानो
पोखरीमा मिसियो
अनि बिलायो
जीवन एउटा पोखरीमा हरायो
नयनहरु त्यही पोखरीमा
पानीको थोपाहरुझै
टलपल टलपल टल्कदै
मेरो भविश्य खोजिरहेथे
नयनहरु…………….।
-दावाँ, भोजपुर