~टंक वनेम~
बाँच्नेहरुको लागि
इतिहासको निर्माण हुँदै गरेको बेला
ज्ञान,बिज्ञान र धन दौलत
भारतवर्षबाट अन्यत्र जान्थ्यो
धोका,षड्यन्त्र,फट्याई र कुटनीति
युरोपबाट एशिया आउँथ्यो
त्यही स्वर्ण र पावनभूमिलाई
पाश्चात्यहरुको गिद्धे दृष्टिले
बुकीसुनको पहाड देख्यो
खैरो पखेट्टामा सुनको जलप लगाउँदै
षड्यन्त्रको नङग्रा तिखारेर
साम्राज्यवादी पैतलाले
बङ्गालको खाडी टेक्यो ।
मेजर पिटर र ब्यारीलेटर हुँइकिए
सामराज्यवादको झन्डा फर्फराउदै
टिष्टा र काङ्गडाको छाती घोच्न
दुई हजार राइफलले मधुवनी थर्काउँदा
बख्तारसिंहको कर्के सङ्गीन
र
पत्थरकला बन्दुकको के जोड चल्थ्योर?
मध्य क्षेत्रको मोर्चा तोड्न
मेजर जनरल बन्नेट दानापुर आइ पुगे
ब्राड्सा प्यारिस सम्बलपुरको बाटो हुँदै
आठ हजार राइफल लिएर अघि बढे
पश्चिम मोर्चा तोड्न्
सुलिमानटीले गोरखपुरको सिमाना नाँघे
आत्याधुनिक हतियारको बलले
पत्थरकोट देखि बनगाइ संम्मको स्वाधीनता टोड्यो ।
महोदय!
यिनै क्रुर सैनिक बलको सहयताले
हाम्रो स्वाधीनता माटोमा मिलाइ छाड्यो
कुमाउ,गढवाल,जैथक,कोथेर,पस्ती
नाहान,सुवाढ,सिरमोर,बिलासपुर
रुपर,मलाउँ,देउथल,चम्बी गढ
र
देहरादुनको नालापानी
हाम्रो हातको मुठीबाट
जबरजस्ती खोसियो।
हाम्रो जिकिर छ
हामी त्यसै डायास्पोरिक भएका होइनौं
विशाल आमाको घाँटीमा
दिन दहाडै खुँडा रेटियो
पसिनाको श्रम लुटेर बहादुर बनाइयो
प्रवासी र नोस्टल्जिक भएर बाँच्न बाध्य पारियो
फिरङ्गी जादुले लठ्याएर स्वार्थको घडा भरियो
हामीलाई राम्ररी थाहा छ
इतिहासले पढाएको अमानवीय क्रुरताको पाठ
ज्यादतीले रङ्गिएको नमीठो अतित
परिवर्तनको नाममा छलकपटको अनुच्छेद
स्वर्ण–भष्म घसेर हिराको मोल
अनि थाहा छ
दासत्वको दलदलमा गाड्ने
इतिहासको फेहरिस्त कथा
हरियो घाँस देखाउँदै
बूढी गाई लडाउँने निति
धृर्त बाघको खैरो आँखा
हाम्रो छातीमा संगीन घोचिन्दा
फष्टाएको ब्यापार र त्यही ब्यापारले निर्माण भएका
गगनचुम्बी महलहरु।
महोदय!
के सत्यको सर्वाङ्ग छोप्न सकिन्छर?
बेलायती सभ्यताको सडक माथि
गोर्खाली लासको चाङ थुप्रिएको
ओभाएका छैनान्
कौडीको भाउमा बिकेका
पसिना र बिधुवाहरुको आँसु
अब –
त्यहि अध्यायको अन्त गर्न
म्याग्नाकार्टाको माटो बिगबेलको ढोका अगाडी
एलान गदैछौ हामी
“कटअफ डेट” न्याय संगत छैन
“डेज अफ ग्लोरी” हेरेर लज्जित होउ
ज्यानको उत्सर्ग,आहुति र इमान्दारीले साटेका
भिसी,एमसी तक्माहरु छातीमा झुन्ड्याउँदै
मानव अधिकारको गलामा खादा पहिर्याएर
तिम्रो ढोँगी र आडम्बरी अनुहार प्रदर्शन गरी रहेछौं
नियाँ–निसाफ माग्न–
युद्धको लाष्ट बाउन्डमा नाङगो खुकुरी चम्काए झैं
धावा बोली रहेछौं
आयो गोर्खाली ! आयो …….
बुर्जावाले दरबारको ढोका खोल
दुई शताब्दी अघि शुरु भएको दलन
संधैको लागि अन्त्य हुनु पर्छ ।
– ताप्लेजुङ् ।