कविता : म निसास्सिइरहेको छु

~सौरभ कार्की~

तिम्रो हातमा छ लाठी ।
कम्मरमा छ बन्दुक ।
खुट्टामा छ बुटजुत्ता ।

त्यही जुत्ताको तलुवामुनि
सदियौँदेखि कुल्चिएका छौ तिमीले – मेरो अस्तित्व ।

लाठी तिम्रै,
बन्दुक तिम्रै,
हतकडी तिम्रै,
न्यायलय तिम्रो,
सत्ता पनि तिम्रै,
म त केवल एक भोट न हुंँ ।
म त केवल एक सास न हुंँ ।

मलाई थाहा छ
मेरो सास जत्तिखेरै जान सक्छ ।
म कतै झडपहरूमा मारिन सक्छु ।
ग्याङ लिडर बताइन सक्छु ।
वा ड्रग डिलर ।
वा कुनै आतंककारी ।

म, जत्तिबेलै मारिन सक्छु ।

मेरो सास – तिम्रो लागि – मात्र एक गोली न हो ।
धन्न हावाको रंग हुँदैन र मात्रै,
नत्र त तिमीले मेरो सासको रंग पनि कालै देख्थ्यौ होला ।

हेर त :
कालै छ – सडकको रङ पनि ।
र अहिले त्यो सडकभरि छन् कालै खुट्टाहरू ।
उचालिरहेछन् आफ्ना कालै मुठ्ठीहरू ।
ईन्कलाव – जिन्दावाद ।

(स्रोत : नेपाल साप्ताहिक)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.