~दिर्घ सुमन~
खुशी ! म कहाँ आउ है
कति प्यारी तिमी ।
उनले भनिन् तिमी पढ म आउने छु
मैले पढे तिनी आइनन्
उनले वाचा गरिन् राम्रो जागिर खाउ म आउने छु
मैले जागिर खाए तर तिनी आइनन्
घर खोई तिम्रो ? म आउन लाई
सकि नसकि घर बनाए तैपनि आइनन् ।
मैले फेरि अनुरोध गरे
उपहार पठाए, अनुनय विनय गरे
राम्री खुशी ! तिमी जसरी पनि मेरो घरमा आउ है ।
उनले म तर्फ हेरिन् र भनिन्
छोराछोरी पढाउ ठूलो मान्छे बनाउ
म पक्कै आउने छु
छोराछोरी पढे बढे फेरि पनि तिनी आइनन् ।
पूजाअर्चना गरे प्रशाद चढाए
व्रत बसे आह्वान गरे
हे मेरी खुशी ! तिमी आउ है म तिम्रै प्रतीक्षामा रहने छु ।
आफ्नो जागिर राम्ररी सकाउ
छोराछोरी जागिरे बनाउ
विश्वास गर म आउने छु, खुशीले भनिन् ।
जागिर बाट निवृत्त भएँ
छोराछोरी जागिरे भए ठूला भए
तैपनि कस्ती अटेरी खुशी, आउँदै आइनन् ।
राजधानीमा जाउ विदेश जाउ
गाडी चढ बङ्गला बनाउ
कसम म आउने छु ।
सक्दो प्रयास गरे आफूलाई ठोके घोटे तर सकिन
थाहा भयो कि त्यो दिन निश्चित छ
डाक्टरले उसैको भरोषा भन्यो ।
खुशी न आएको भन्दा पनि प्रतीक्षा सकिनलागेकोमा म दुःखित भए
खुशीले मेरो विश्वास नगरेकोमा म दुःखित भए
त्यो निश्चित दिन आयो तर खुशी आइनन् ।
त्यो दिन पश्चात् म आफै खुशीलाई भेट्न गएँ
म जस्तै अनगिन्ती पागल प्रेमीहरु
खुशीलाई भेट्ने आशमा जाँदै थिए
तर टाढा टाढा सम्म खुशीको नाम निशान थिएन
निश्चित भयो खुशी धोकेबाज रहिछन्
मेरो प्रेम एकतर्फी सावित भयो
र मेरो प्रतीक्षा समाप्त भयो ।
मूर्दा शान्ति छायो, चकमन्न भयो
म भित्रको म उडेर जानेक्रममा कसैले झकझकायो र विस्तारै साउती गर्यो
“हे महाशय ! खुशी त त्यहीँ छिन जहाँबाट तपाँई आउनु भयो
खुशी तपाँई सँगै थिइन् तर चिन्न सक्नुभएन
बेला बेलामा आँउथिन् तर देख्नु भएन
खुशी भेट्ने मन चाहिन्छ
खुशी सँगाल्ने धैर्य चाहिन्छ
खुशी हुने बहाना चाहिन्छ
खुशी रहने कला चाहिन्छ ” ।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )