~रक्ष राई~
साम्राज्ञी साहिबा !
हजुरको राइफलको नालवाट नदेखिने
मेरो एउटा अदेखा दुश्मन छ
उ हजुरको काँधमा राइफल राखेर
मेरो छातीमा गोली ठोक्छ
म चाहीं उसको दुश्मनसंग
पटक – पटक युद्व लड्छु
महारानी साहिबा !
हजुरको दूरवीनभित्र नभेटिने
मेरो एउटा अदभूत शत्रु छ ।
यही खुकुरीले जापानीको टाउको काटें
अंह, त्यो दुश्मन मरेन
यही राइफल र तोपले जर्मनी ढालें
अंह, त्यो शत्रु ढलेन
महारानी साहिबा !
मेरा पिताको रागतले धमिलिएको इरावती
अझै संगलिएको छैन
मेरा पुर्खाको लास अँगालो मारेर रोएको सितांग नदी
अझै रोकिएको छैन
युद्ववाट लोग्ने फर्किने प्रतीक्षामा शान्तिमाया लिम्बूको तपस्या
अझै सकिएको छैन
कहाँ गए सन्त बहादुर लिम्बु ?
कहाँ हराए मकर ध्वज राई ?
हजुरको भोको सिपाही ऊ
भोक–भोकै बकिंघम दरवारको गार्ड गर्दैछ कि !
भोकसंग लड्न भोक हड़ताल गर्दैछ ?
कि मानव अधिकारको अदालतमा मुद्दा हार्दैछ ?
हजुरको सूर्य नअस्ताउने देशमा
हरेक दिन एउटा घाम झुल्किन्छ
र त्यही घामले मेरो अनुहार छेलिन्छ
र त्यही नयाँ दिनले मसँग पुरानो झेल गर्छ
साहिबा !
धातु पनि आफन्तको न्यानोले पगलिन्छ – कहिलेकही ।
ढुङ्गो पनि दुखीहरुको आँशुले गिलो गिलो हुन्छ – कहिलेकहीं ।
अब तपाई साम्राज्ञी होइन,
सालिक मात्र हो – सालिक !
जसको आँख छ, तर देख्न सक्दैन
जसको कान छ, तर सुन्दैन
जसको मुख छ, तर बोल्दैन
जसको छाती छ, तर मुटु छैन
महारानी साहिबा !
हजुरको साम्राज्यको पर्खालले छेलिएको
मेरो पनि एउटा सानो देश छ,
त्यो देशको एउटा अनागरिक म यहाँ छु
हजूरकै नाखको अघि छु
हजुरकै स्वासले भेट्नेगरी छु
हजुरकै परेलाले छूनेगरी छु ।
ज्याद्रो नै रहेछु म पनि
युद्वको आगोले पनि जलिनं
विश्वासघातको गोलीले ढलिनं
अविश्वासको भारी बोक्दा – बोक्दा पनि गलिनं
महारानी साहिबा !
हजुरको आँखिझ्यालबाट नदेखिने
मेरो एउटा अज्ञात दुश्मन छ
आफ्नै रापले खरानी हुन
अथवा आफ्नो तापले भष्म हुन
उ अघिदेखि जोरी खोज्दै छ
म आगोमाथि उभिरहेको मान्छेसंग
म ज्वालामुखीमाथि अडिरहेको मान्छेसंग ।।
– बुइपा, खोटाङ
हाल : बेलायत, वेल्स