कविता : सानो – सुख

~इश्वरवल्लभ~

ती आकासका बादलका टुक्राहरूले
त्यसै बिलाएको, र त्यसै आकार बनेको हेरिरहनु
सानो सुख हो,
मेहनतले निर्माण भएका पसिनाका थोपाहरु चेहरामा देख्नु
सानो सुख हो,
सानो सुखको ठूलो सानो जे भने पनि हुने सानो इतिहास हो
बिम्बमा अल्झिरहेर कतै
त्यही बिम्ब बनाउनु, बिगार्नु कतै थियो –
सपनामा खोजिरहेर कतै नपाउनु र पाउनु पनि थियो
बेस्यहार परेका झैं अनौठा प्रश्नहरु
उभिएका पनि हुन् – सिंगो आकृति भएर
एक्लोपनको इतिहास पनि त्यस्तै छ
इतिहास पढ्नु – त्यसैले सानो सुख हो –
कतै आफै अभिभावक आफ्नै शत्रु भनेको सुनिन्छ भने
म त्यहाँ रेशमी स्वप्नहरू झैं सामेल छु
डबलीमा देखाइएका नाटकहरुमा म खोज्दछु , मेरो आफ्नो पात्रता
कहाँ के अभिनय भइरहेछ
कतिवटा आँखाहरुले उसलाई छोइरहेछ
डबलीको नाट्य मन्चमा – एउटा आँधी भएर उनले छोए भने पनि
म त्यहाँ उभिन्छु त्यसैले –
उभिनु सानो सुख हो –
कतै बहुलाहा त भएनन् यी झार झंखार र हरियालीहरु
यी अनौठा परिवेशहरु
कतै उन्मत्त भएनन् यी पालुवा र डाँठ अनि ईँटहरु
मैले सुख खोज्दा खोज्दै श्रमको पसिनामा
आकाश र आकाशका भुवाहरुमा
इतिहास त्यही हो मैले खोज्ने गरेको ,
के भयो र म त्यस घरमा पनि छु
जसले मलाई विस्तारै सुम्सुम्याउन खोज्छ
म त्यसैले आँधी बहुलाउँछु |
पतवार नपाएको ढुंगाजस्तो बग्छु
किनार फेरि किनार र किनारमा ठोकिन्छु
किनारलाई कुनै प्रभाव हुँदैन – तैपनि ठोकिन्छु
किनारले केहि बोध गर्दैन – तैपनि ठोकिन्छु
जीउभरि आघात पाउन्जेल ठोकिरहनुको एउटा इतिहास छ भने
म त्यो इतिहास हुँ
र शायद इतिहास हुनु पनि सानो सुख हो |

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.