~राजेश्वर देवकोटा ~
मलामीहरूको मलिन दृष्टि शवमा परेको छ
जसले कुनै दयादृष्टिको अपेक्षा गरेको छैन ।
मलामीहरूको मलिन दृष्टि शवमा परेको छ
जसले कुनै दयादृष्टिको अपेक्षा गरेको छैन ।
उसका उपर मलामीहरू पुष्पवर्षा गर्छन्
उसका गुणाहरूको बखान गर्छन् ।
शव निश्चल निर्विकार एकाकार छ,
जसले कुनै पुष्पपत्र र प्रशंसा खोजेको छैन ।
त्यहाँ आफूलाई प्रस्तुत गर्छन् मलामीहरू
उनीहरू कति सहृदयी र गुणग्राही छन् !
यो शव पनि पहिले त्यही गर्दथ्यो
यो परम्परा उस्तै पछिसम्म चलिरहने छ ।
किन्तु अर्धजीवित मलामीहरूले अहिले नै भन्नु पर्ला –
त्यस्तै शव बनेपछि कस्तो सन्देश दिन चाहन्छन् ।
गणनामा आए नआए पनि हरेक शवको इतिहास छ,
उसले अघि र पछिको श्रीङखला जोडेको छ ।
मलामीहरू अनेक छन् सन्देश पनि पृथक् हुन सक्छन्
मशानघाटले सबैलाई अवसर दिएको छ
उनले आफ्नो सन्देश अङ्कति गरिराखुन्
मशानघाटले मलामीहरूलाई ऊर्जा दिएको छ –
मलिन मुख लिई यस घाटमा नआउनू भनेको छ ।
हरेक घाट त्याग तपस्याले ज्वलन्त वीरको मैदान हो,
स्वयं भित्रैभित्र जल्ने बैरागीको घर हैन ।
वीरहरूलाई मात्रै बैरागी हुने अधिकार छ
मलामीहरू शव बिर्साई रित्तै घर फर्किने गर्छन्
आर्य सत्य भनी जान्दा जान्दै स्वयं सत्यविमुख नबन
ऊर्जाका भारी बोकी घर फर्क
अर्धजीवित वा अर्धमृत भई मनुष्यलाई बाँच्ने अधिकार छैन ।
यस पवित्र भूमिलाई कसले मशानघाट बनायो ?
एकको जीवन सकिएको देखी अनेकले जीवन पाउने यो ठाउँ हो
यस घाटको यही सन्देश हो ।
यहाँ एकको मृत्यु अनेकको ऊर्जा हुन्छ,
एउटा भक्तिको मृत्यु अनन्तसम्म अगणितको जीवन हुन्छ
आफू होमिनेहरू जीवनको सन्देश दिन्छन् ।
भूमि मात्र शेष रहेर के हुन्छ ?
जहाँ इतिहासको श्रीङखला टुटेको छ ।
इतिहास बोकेको कुनै मर्दैन
त्यसको वारंबार पुनर्जीवन हुन्छ ।
आज लास बनेको त्यो मरेको छैन
त्यसले वीरलाई भूत बनी प्रेरणा देला,
भीरुलाई त्यही भूत बनी सताउला ।
यो वर्तमान भूत भविष्यत् दुवैको आश्रय हो
यो घाट त्यसै गरी शव र जीवनको हो
यो वेला मशान घाट र मलामीहरूको संयोग हो
निश्चल मशान घाटले चलत् जीवलाई भनेको छ –
तिमीसित एक दिन भेट भइहाल्ला
हामी दुवै मूक बनी लामो संवाद गरौंला
तिमी फेरि फेरि आउनको लागि आउ
यो मशान घाट मृत्युको थकाइ मार्ने केवल एउटा बिसौनी हो
यात्री, तिमी हिडिरहू धेरै हिड्नु छ
म तिमीलाई नि˘चल धरातल दिइराखौंला ।
(स्रोत : रचना द्वैमासिक)