~राजेन्द्र तारकिणी~
तिमी काँक्रोझैँ भर्खरकी छौ ।
हरियो टीनएजको उकालो चढेर
तिमी प्रवेशरत छौ–
गुराँसको पछ्यौरी ओढ्ने लेकतिर
त्यहाँ असाध्यै उथलपुथल हुरी चल्छ यौवनको ।
तिमी त भञ्ज्याङमा छौ, सुस्ताइरहेछौ
सङ्क्रमणमा छ तिम्रो हरियो जामा
छिट्छिटो बद्लिँदो छ त्यो
र, बन्दो छ रातो…
तिम्रो यो भञ्ज्याङ् बसाइ कति समय हो ?
प्रश्न गरिदेला हुइँहुइँ आएको उत्ताउलो हावाले
सायद लजाउँदै जवाफ फर्काऔली–
एउटी युवती नारी बन्न लाग्ने समयजत्तिकै
एकदम रोमान्चित,
एकदम आकस्मिक,
असाध्यै विस्मित !
तिमी काँक्रोझैँ छौ चिसो
हिउँचुलीको एउटै मुस्कानले,
हावाको एउटै साउतीले
तिमी त पानीपानी हुन्छौ ।
काँक्रोको पहेलो फूलझैँ
तिम्रो यो चन्चलता कति चाँडोचाँडो फुल्दै छ, झर्दै छ
तिमीले चाल पाइनौ सायद
फेरिँदै गरेको पहेलो केशरको सुगन्ध पनि ।
तिमी काँक्रोझैँ छौ,
भर्खरकी,
चिसो,
भञ्ज्याङमा,
म तिमीलाई एउटा जड्याँहाले भन्दा बेसी तवरले माया गर्छु !
सिधारेखा डट कम मा प्रकाशित
– न्वादेउ- ६, बैतडी
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )